सिटीविरुद्ध लिभरपुल : शिथिल बनेको प्रतिद्वन्द्विता

हिमाल प्रेस १८ चैत २०७९ ११:३६
84
SHARES
सिटीविरुद्ध लिभरपुल : शिथिल बनेको प्रतिद्वन्द्विता

काठमाडौँ- एक वर्षअघि के भनिँदै थियो भने, म्यानचेस्टर सिटी र लिभरपुल कट्टर प्रतिद्वन्द्वी बनेका छन्। हुनसक्छ, यी दुईबीचको प्रतिद्वन्द्विता इंग्लिस प्रिमियर लिग इतिहासकै सबैभन्दा दह्रो हो। तर अब यी तर्क शिथिल बनेका छन्।

यसको मुख्य कारण लिभरपुलको वर्तमान लय हो। शनिबार साँझ इत्तिहाद पुग्ने लिभरपुलसामु चुनौती छ, हुर्कन खोजेको प्रतिद्वन्द्वितालाई मलजल गर्ने। अझ भन्दा त्यसलाई जगाउने।

त्यसो गर्न लिभरपुल र योगर्न क्लप चुके, यो प्रतिद्वन्द्विता थप कमजोर बन्नेछ। ‘इंग्लिस एल क्लासिको’ को छायामा पर्नेछ। एलेक्स फर्गुसन र आर्सन वेंगरले स्थापना गरेको त्यो प्रतिद्वन्द्वितालाई क्लप र पेप ग्वार्डिओलाले प्रतिस्थापन गर्ने अपेक्षा थियो।

तर अब यो अपेक्षा खतरामा पर्दै गएको छ। बरु यो त केही समय चलेको युनाइटेड र ब्लाकबर्न अनि युनाइटेड र न्युकासल युनाइटेडबीचको लघु प्रतिस्पर्धामै सीमित हुने बाटोमा अघि बढेको छ। सन् १९९० को मध्यमा प्रिमियर लिग उपाधि दौडमा युनाइटेडलाई ब्लाकबर्न र न्युकासलले केही वर्ष टक्कर दिएका थिए।

हुन त लिभरपुलले फरक तर्क गर्नसक्छ। लिभरपुलले भन्नसक्छ, टिमको आकार अलि ठूलो भएको भए, मुख्य खेलाडी घाइते नभएको भए, हामी पनि अहिले उपाधि होडमै हुने थियौँ। सिटीलाई नजिकबाट टक्कर दिइरहेको हुने थियौँ। अर्को सिजन लिभरपुलले उपाधि होडमा पुनरागमन गर्नेछ, तर्क यो पनि हुनसक्छ।

भविष्यमा के होला, त्यता नजाऔँ। तर वर्तमानमा तथ्य यही हो, लिभरपुल कमजोर छ। शनिबारको खेलअघि लिभरपुल र सिटी फरकफरक परिस्थितिमा छन्। जितले लिभरपुलको शीर्ष चार सम्भावना जाग्नेछ। उता सिटीको लक्ष्य शीर्ष स्थान हो। सिटीको मस्तिष्कमा च्याम्पियन्स लिग क्वार्टरफाइनल पनि छ। लिभरपुल भने युरोपेली क्लब फुटबलको शीर्ष प्रतियोगिताबाट बाहिरिसकेको छ।

लामो समयदेखि प्रिमियर लिग हेरिरहेकालाई पक्कै थाहा छ, उपाधि प्रतिद्वन्द्विता कति चाँडै अन्त्य हुन सक्छन् भनेर। सन् १९९३ देखि १९९५ सम्म ब्लाकबर्न र युनाइटेडबीचको प्रत्येक खेलले उपाधि होडमा फरक पार्थे। फेब्रुअरी, १९९६ सम्म पुग्दा ब्लाकबर्नलाई फर्गुसनले बलिया विपक्षीका रुपमा लिन छाडिसकेका थिए।

सन् १९७० को दशकमा डर्बी काउन्टी र लिड्स युनाइटेड प्रखर प्रतिद्वन्द्वी थिए। यी दुई क्लबका समर्थक, प्रशिक्षक र खेलाडी आपसमा भिडिरहन्थे। लिड्सलाई ४४ दिन प्रशिक्षण दिएका डर्बीका ब्रायन क्लो पूर्वक्लब फर्कदा डोन रेभीसँग घम्साघम्सीमा परेका थिए। त्यसबखतको दृश्य इंग्लिस फुटबलका पाका समर्थले भुलेका छैनन्। चार दशकपछि यी दुई क्लबबीचको प्रतिद्वन्द्विताले फेरि एकपटक उचाइमा पुग्यो।

तर यसपटक दुवै क्लब पहिलो होइन, दोस्रो श्रेणीमा थिए। अनि डर्बीका प्रशिक्षक थिए, फ्रान्क लाम्पार्ड। जसले गराउने प्रशिक्षणको जासुसी गर्न डर्बीका प्रशिक्षक मार्सेलो बिएल्साले जासुससम्म खटाए।

सन् १९७८ देखि १९८१ बीचको अवधिमा प्रतिद्वन्द्वी बन्ने पालो आयो, नटिङहम फरेस्ट र लिभरपुलको। यी दुईबीचको खेलले इंग्लिस फुटबलमा मात्र होइन, युरोपियन क्लब फुटबलमा पनि अर्थ राख्थ्यो। क्लो नेतृत्वको फरेस्टले सन् १९८१ पछि भने लिभरपुललाई टक्कर दिन सकेन। सन् १९८१ देखि १९८४ सम्म लिभरपुल लगातार इंग्लिस च्याम्पियन बन्दा फरेस्ट भने पछाडि धकेलियो।

सन् १९९० को दशक सुरु हुँदैगर्दा युनाइटेड बलियो बन्यो। सन् २००० को मध्यमा लिभरपुल र चेल्सी च्याम्पियन्स लिगमा पनि प्रतिद्वन्द्वीका रुपमा देखा पर्न थाले। राफाएल बेनिटेज र जोसे मौउरिन्होबीचको टकराब हेर्न लायकको थियो।

कतिपय प्रतिद्वन्द्विता फरक प्रकारका हुन्छन्। जसको लेनादेना दुई टिमको वर्तमान लय र स्तरसँग हुँदैन। उदाहरणका लागि, गएको महिना भएको लिभरपुल र युनाइटेडबीचको भिडन्त। नर्थ लन्डनका क्लबहरू भिड्दा होस् वा मर्सीसाइड डर्बी हुँदा होस्, अंक तालिकाले खेलको रोमाञ्चकतालाई तलमाथि पार्न सक्दैन।

तर लिभरपुल र सिटीबीचको प्रतिद्वन्द्विता त्यस्तो होइन। सन् २०१८ अघि यी दुई टिम आमनेसामने हुँदा इंग्लिस फुटबल खासै तात्तदैन थियो। तर अचानक यी क्लब एकअर्काका लागि वैरी बन्न थाले। सिटी बलियो लयमा नहुँदो हो त, लिभरपुलसँग आजको दिनमा थप दुई प्रिमियर लिग उपाधि हुने थिए। अनि सिटी पनि पाँच वर्षअघि नै च्याम्पियन्स लिग च्याम्पियन बनिसक्ने थियो।

पाँच वर्षयता लिभरपुल र सिटीबीचको खेल प्रिमियर लिगकै सर्वाधिक रोमाञ्चक भिडन्तमा रुपान्तरित भएको सत्य हो। तर आइतबारको खेल तटस्थ वा अन्य क्लबका समर्थकका लगि पहिलेको जस्तो महत्त्वपूर्ण नहुन सक्छ। यद्यपि दुई क्लबबीचको शत्रुता एनफिल्ड र इत्तिहादको घेराभित्र भने कायम रहनेछ।

कयौँ मामलामा देखिएको शत्रुतालाई कम गर्न, सम्बन्ध सुधार गर्न लिभरपुल र सिटीले प्रयास नगरेका होइनन्। तर अझै पनि सम्बन्ध सामान्य बनिसकेको छैन। क्लपले सिटीको खर्चलाई लिएर गर्ने आलोचना होस् वा एनफिल्ड आउँदा सिटीको बसमाथि भएको आक्रमणको प्रयास होस्, यी कुनै पनि कुरा अहिल्यै बिर्सने बेला भएको छैन।

फगत फुटबलको कोणबाट हेर्ने हो भने, शनिबारको यो भिडन्त क्लप र ग्वार्डिओला लिभरपुल र सिटीमा प्रशिक्षक बनेपछिको सबैभन्दा ‘लो प्रोफाइल’ भिडन्त हुनेछ। किनभने यो खेल भइरहँदा दुई क्लबको नजर दुईतिर हुनेछ। लिभरपुलको दाउ शीर्ष चारको नजिक पुग्ने हुनेछ भने सिटी शीर्षस्थानमा फर्कन केन्द्रित हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =