स्ववियु निर्वाचन

त्रिचन्द्रमा विद्यार्थी कुटिए, आरआर क्याम्पस प्रमुख निवासमा ढुंगामुढा

हिमाल प्रेस ४ चैत २०७९ २०:१८
30
SHARES
त्रिचन्द्रमा विद्यार्थी कुटिए, आरआर क्याम्पस प्रमुख निवासमा ढुंगामुढा

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव नजिकिएसँगै विद्यार्थी नेताहरूले अराजकता देखाउन थालेका छन्। चुनाव अनिश्चित बनेका काठमाडौँका दुई ठूला क्याम्पस त्रिचन्द्र बहुमुखी क्याम्पस र रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसका विद्यार्थी नेताहरूले अराजकता देखाउन थालेका हुन्। यी क्याम्पसका विद्यार्थीहरूबीच आपसमा कुटाकूट हुनुका साथै निर्वाचन समिति सदस्यहरूमाथि आक्रमण प्रयास भइरहेका छन्।

त्रिचन्द्र क्याम्पसमा विद्यार्थी नेताहरूबीच आपसमा कुटाकूट हुँदा केही विद्यार्थी घाइते भएका छन्। त्रिचन्द्र कलेजमा विवेक बानियाँ, सुन्दर बडाल, यसमान बिष्ट, अर्जुन पौडेल, केशरजंग बम, महेश खनाल, विनोद देउवा, रोहित चौधरीलगायत घाइते भएका छन्।

यस्तै सुरेन्द्र विश्वकर्मा, सुवास खड्का, गोविन्द कोइराला, सृष्टि सुवेदी, आश्विन अधिकारीलगायत विद्यार्थी पनि घाइते भएकाले कुटपिटमा संलग्नलाई कारबाही गर्न नेविसंघले माग गरेको छ। नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले शनिबार विज्ञप्ति जारी गर्दै स्ववियु निर्वाचनलाई बिथोल्ने गरी कुटपिटमा उत्रिनेलाई कारबाही गर्न माग गरेका छन्।

यस्तै प्रदर्शनीमार्गस्थित आरआर कलेजका विद्यार्थीले क्याम्पस प्रमुख तथा निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यमाथि आक्रमणको प्रयास गरेका छन्। क्याम्पस प्रमुख जीवनधर ज्ञवाली र समिति सदस्य विनोद मञ्जनको निवासमा ढुंगामुढा प्रहार गरेका छन्। त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले शनिबार विज्ञप्ति जारी गर्दै क्याम्पस प्रमुख र निर्वाचत अधिकृतको निवासमा ढुंगामुढा गर्ने व्यक्तिलाई कारबाही गर्न माग गरेका छन्।

आरआर क्याम्पसमा विदार्थी भर्ना फर्जी गरिएको भन्दै समाजवादी निकट अनेरास्ववियु र कांग्रेस निकट नेविसंघले फर्जी भर्ना रोक्नुपर्ने माग गर्दै आएका छन्। सो विषयमा त्रिवि निर्वाचन समितिले छानबिन गर्न समिति गठन गरेर छानबिन प्रतिवेन पनि प्राप्त भइसकेको अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

क्याम्पसमा चुनावको वातावरण बनाउन पहल भइरहेका बेला निर्वाचन अधिकृत र क्याम्पस प्रमुखमाथिको आक्रमण प्रयासले दुखित बनाएको प्रध्यापक संघ आरआरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। आरआर कलेजमा फर्जी भर्ना गरेको भन्दै तालाबन्दी गरिएको छ। शनिबार साँझसम्म पनि ताला नखुल्दा चुनाव अनिश्चित जस्तै बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 14 =