स्ववियु निर्वाचन : त्रिविका ४१ आंगिक क्याम्पसको नतिजा सार्वजनिक

१२ वटा क्याम्पसमा निर्वाचन हुन बाँकी

हिमाल प्रेस ८ चैत २०७९ २०:१९
8
SHARES
स्ववियु निर्वाचन : त्रिविका ४१ आंगिक क्याम्पसको नतिजा सार्वजनिक

काठमाडौँ– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचनमा त्रिभुवन विश्वविद्यालयका ४१ आंगिक क्याम्पसको नतिजा सार्वजनिक भएको छ।

नतिजा सार्वजनिक हुने क्रम जारी रहेको र समानुपातिक तर्फको नतिजा आउन भने १ साता लाग्ने त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जानकारी दिएको छ।

उपाध्यक्ष, सह सचिव र समानुपातिक सदस्य निर्वाचित भएपछि मात्र स्ववियुले पूर्णता पाउँछ।निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार १२ वटा क्याम्पसमा निर्वाचनको मिति तोक्न बाँकी छ।

त्यहाँ निर्वाचन गर्ने विषय छलफलकै क्रममा छन्। महेन्द्र बहुमुखी क्याम्पस बाँके, महेन्द्र बहुमुखी क्याम्पस दाङ, पक्लिहवा कृषि क्याम्पस रुपन्देही र भैरहवा क्याम्पस रुपन्देही गरी ४ वटा क्याम्पसमा बुधबार मतदान भएको छ।

निर्वाचनको मिति तय भएका ५ वटा आंगिक क्याम्पसमध्ये आयुर्वेद क्याम्पस कीर्तिपुर, धौलागिरि बहुमुखी क्याम्पस बागलुङ १७ गते, चितवन इन्जिनियरिङ क्याम्पसमा १८ गते, वनविज्ञान संस्थान पोखरा, चैत १२ गते कृषि क्याम्पस चितवन खैरेनी रहेका छन्।

देशभर त्रिविका अधिकांश आंगिक क्याम्पसमा अनेरास्ववियु, नेविसंघ र क्रान्तिकारीका उम्मेदवार सभापति, सचिव, र कोषाध्यक्षलगायत सदस्य पदमा मिश्रित रूपमा निर्वाचित भएका छन्।

६२ आंगिकमध्ये उपत्यकाभित्रका १५ र उपत्यका बाहिरका २६ गरी ४१ क्याम्पसमा मतदान सम्पन्न भएको थियो। त्रिविका उपत्यकमा २२ र विभिन्न जिल्लामा ४० आंगिक क्याम्पस रहेका छन्। अनेरास्ववियु अध्यक्ष समिक बडालले उपत्यकाका क्याम्पसमा अन्य विद्यार्थी संगठनले तालाबन्दी गरेका कारण निर्वाचन हुन नसकेको बताए।

निर्वाचन भएका केही क्याम्पसमा मतगणना सकिएको छ भने केहीमा विवादले स्थगित भएको मतगणनाको परिणाम आउने क्रम जारी छ। समानुपातिकतर्फबाट उपाध्यक्ष, सहसचिवसहित ५० प्रतिशत सदस्य निर्वाचित गर्न एक साताको समय दिएकाले सामुदायिक क्याम्पसले स्ववियु निर्वाचनको नतिजा केन्द्रमा नपठाएको निर्देशक अधिकारीले बताए।

अनेरास्ववियुले आंगिकतर्फ काठमाडौँ बाहिरका ९ र भित्रका ६ क्याम्पसमा स्ववियु सभापतिमा विजयी भएको छ। अनेरास्ववियुबाट महाराजगन्ज नर्सिङ कलेजको सभापतिमा नोविना बस्नेत, ललितकला क्याम्पसको सभापतिमा सुजन श्रेष्ठ, जनप्रशासन क्याम्पसको सभापतिमा अग्र शाही निर्वाचित भएका छन्।

महेन्द्ररत्न ताहाचलमा ईश्वरकुमार थापा, पुल्चोक इन्जिनियरिङमा विराज अर्याल निर्वाचित भएका छन्। यस्तै उपत्यका बाहिर विराटनगर नर्सिङ क्याम्पसमा प्रशंसा पौडेल, महेन्द्ररत्न बहुमुखी इलाममा दर्शन राई, डिग्री क्याम्पस विराटनगरमा निर्मल गजुरेल, गौरादह कृषि क्याम्पस झापामा विक्रम तिवारी, लमजुङ क्याम्पसमा वीरेन्द्र जीसी, बुटवल बहुमुखी क्याम्पसमा दुर्गाबहादुर एमसी, नर्सिङ वीरगन्जमा मनीषा चौधरी, धनकुटा क्याम्पसमा सन्तोष बुढाथोकी र भोजपुर बहुमुखी क्याम्पसमा निशान राई स्ववियु सभापतिमा निर्वाचित भएका छन्।

यस्तै नेविसंघले उपत्यकाभित्र ७ र बाहिर पनि ७ आंगिक क्याम्पसको सभापतिमा विजयी हासिल गरेको छ। भक्तपुर बहुमुखी क्याम्पसमा पुकार पराजुली, पब्लिक युथ क्याम्पसमा नवीन पाण्डे, सरस्वती क्याम्पसमा मुस्काराज गौतम, शंकरदेवमा सुशान्त सिंह बस्नेत बिजयी भएका छन्।

यस्तै पद्यकन्याको अध्यक्षमा ज्योति पनेरु, थापाथली इन्जिनियरिङमा पुष्करविक्रम शाही, केन्द्रीय क्याम्पस कीर्तिपुरमा श्यामराज ओझा निर्वाचित भएका छन्। काठमाडौंबाहिर रामस्वरूप रामसागर क्याम्पसमा मनीषकुमार यादव, वन विज्ञान हेटौंडामा दीपेन्द्र कँडेल, डडेलधुरा क्याम्पसमा दुर्गाप्रसाद भट्ट, जुम्ला शिक्षामा महेश हमाल, त्रिभुवन क्याम्पस पाल्पामा कृष्ण अर्याल विजयी भए। पूर्वाञ्चल क्याम्पस धरानको अध्यक्षमा नवीन श्रेष्ठ र तेह्रधुम क्याम्पस अध्यक्षमा नेविसंघका ताराप्रसाद दाहाल निर्वाचित भएका छन्।

अखिल क्रान्तिकारीबाट नेपाल ल क्याम्पसमा विष्णु ढुंगेल र सानोठिमी क्याम्पसमा रेशमलाल श्रेष्ठ निर्वाचित भएका छन्। नर्सिङ क्याम्पस नेपालगन्जमा क्रान्तिकारीकी दीपिका सोनी विजयी भएकी छिन्। गोरखा क्याम्पसमा विष्णु पाण्डे निर्विरोध चयन भएका थिए।

सबैभन्दा धेरै विद्यार्थी रहेको पोखराको पृथ्वीनारायण र वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन अनिश्चित बनेको छ। अमृत साइन्स क्याम्स र नेपाल कमर्स क्याम्पसमा उम्मेदवारी दर्तापछि निर्वाचन स्थगित भएको थियो।

रत्न राज्यलक्ष्मी क्याम्पसमा अन्तिम नामवलीमा विवादका कारण निर्वाचन कार्यालयमा लगाएको ताला खुलेको छैन। पाटन क्याम्पसमा पनि निर्वाचन अनिश्चित बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =