त्रिवि स्ववियु निर्वाचन : करिब ६० प्रतिशत मत खस्याे, नतिजा धमाधम आउँदै

हिमाल प्रेस ५ चैत २०७९ २०:५६
20
SHARES
त्रिवि स्ववियु निर्वाचन : करिब ६० प्रतिशत मत खस्याे, नतिजा धमाधम आउँदै

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विभिन्न क्याम्पसहरूमा आइतबार सम्पन्न स्ववियु निर्वाचनको नतिजा धमाधम आउन थालेको छ। छिटफुटबाहेक अधिकांश क्याम्पसमा सम्पन्न भएको त्रिविको स्ववियु निर्वाचनको नतिजा धमाधम आउन थालेको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जानकारी दिएको छ।

समितिका अनुसार काठमाडौँ उपत्यकामा त्रिवि केन्द्रीय क्याम्पससहित १४ वटा क्याम्पसहरूमा निर्वाचन सम्पन्न भएको छ। यद्यपि मतदान भने अपेक्षाकृत नभएको समितिले जानकारी दिएको छ।

समितिका अनुसार उपत्यकामा मतदान भएका सानोठिमी क्याम्पसमा १३ सय २ मतदाता रहेकोमा ७ सय ९५ जनाले मतदान गरेका छन्। भक्तपुर क्याम्पसमा ४ हजार १ मतदातामध्ये २ हजार २२ विद्यार्थीले मात्रै मतदान गरेका छन्।

पूल्चोक क्याम्पसमा २ हजार ६ सय ९९ मतदातामध्ये २ हजार ३ सय ४१ विद्यार्थीले मतदान गरेका छन्। त्यस्तै थापाथली इञ्जिनियरिङ क्याम्पसमा १ हजार ७ सय ३८ विद्यार्थीमध्ये १ हजार ५ सय ५० विद्यार्थीले मतदान गरेका छन्। पद्‍मकन्या क्याम्पसमा ५ हजार ६ सय ६९ मतदातामध्ये १ हजार ८ सय १७ विद्यार्थीले मतदान गरेका समितिले बताएको छ।

महाराजगञ्जस्थित चिकित्सा शिक्षा अध्ययन संस्थानमा १ हजार ३ सय १० मतदातामध्ये १ हजार १ सय ८२ विद्यार्थीले मतदान गरेका छन्। महाराजगञ्ज नर्सिङ क्याम्पसमा ३ सय ६९ मतदाता रहेकोमा ३ सय ५१ विद्यार्थीले मतदान गरेका छन्।

सरस्वती क्याम्पसमा २ हजार ४ सय ५३ मतदातामध्ये १ हजार ३ सय ३४ विद्यार्थीले मतदान गरेका छन्। पब्लिक युथ क्याम्पसमा ४ हजार १ सय ३९ मतदातामध्ये १ हजार ७ सय ५६ विद्यार्थीले मतादान गरेका छन्। महेन्द्ररत्न क्याम्पस ताहचलमा २ हजार ४३ मतदातामध्ये ८ सय ७८ विद्यार्थीले मतदान गरेका छन्।

त्रिविको केन्द्रीय क्याम्पस कीर्तिपुरमा ३ हजार ४ सय २२ विद्यार्थीमध्ये २ हजार ७६ विद्यार्थीले मतदान गरेका थिए। नेपाल ल क्याम्पसमा २ हजार २ सय ६९ मतदातामध्ये १ हजार २ सय ६६ विद्यार्थीले मतदान गरेका थिए। जनप्रशासन क्याम्पसमा १ हजार २ सय २५ मतदातामध्ये ८ सय ३६ विद्यार्थीले मतदान गरेका थिए। शंकरदेव क्याम्पसमा ८ हजार ४ सय ८५ मतदाता रहेकोमा ३ हजार १ सय ७७ विद्यार्थीले मतदान गरेका छन्।

निर्वाचनको प्रारम्भिक नतिजाअनुसार देशभरका क्याम्पसहरूमा करिब ६० प्रतिशत विद्यार्थी मतदानमा सहभागी रहेकाे समितिले जानकारी दिएको छ। समितिका अनुसार उपत्यकाका पूल्चोक इञ्जिनियरिङ क्याम्पस, थापाथली क्याम्पस र कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा विद्युतीय मतदान गरिएको थियो।

उपत्यकाभित्र आइतबार निर्वाचन हुन नसकेका आंगिक क्याम्पसहरू आर्युवेद क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, अमृत साइन्स क्याम्पस, नेपाल कमर्स क्याम्पस मीनभवन, विश्वभाषा क्याम्पस र रत्नराज्यलक्ष्मी क्याम्पस रहेका छन्।

त्यस्तै उपत्यकाभित्र पूल्चोक इञ्जिनियरिङ क्याम्पस, थापाथली इञ्जिनियरिङ क्याम्पस, त्रिवि केन्द्रीय क्याम्पसलगायतका क्याम्पसमा स्ववियु सभापति पदको निर्वाचित नतिजा सार्वजनिक भइसकेको छ। उपत्यकाबाहिर पनि अधिकांश क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ। समितिले सफलतापूर्वक सम्पन्न निर्वाचनको नतिजा धमाधम सार्वजनिक भइरहेको जानकारी गराएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + nineteen =