बुटवल बहुमुखीमा ३७ प्रतिशत मात्रै मत खस्यो, विद्यार्थीमा देखिएन उत्साह

पुराना दलप्रतिको वितृष्णा र माउ पार्टीले विद्यार्थीले संगठनलाई कम महत्त्व दिएको विद्यार्थीहरूको बुझाइ

विनोद परियार ५ चैत २०७९ २०:४३
38
SHARES
बुटवल बहुमुखीमा ३७ प्रतिशत मात्रै मत खस्यो, विद्यार्थीमा देखिएन उत्साह

लुम्बिनी– नेपालकै पुरानो क्याम्पस मध्येको एक हो, बुटवल बहुमुखी क्याम्पस। विद्यार्थी संख्या र शैक्षिक चहलपहलका हिसाबले पनि यो क्याम्पस चर्चित छ। तर, आइतबार भएको स्ववियु निर्वाचनमा भने विद्यार्थीहरूमा उत्साह देखिएन।

७ हजार १ सय १० मतदाता रहेको क्याम्पसमा २ हजार ६८१ अर्थात् ३७.७० प्रतिशत मात्रै मत खसेको छ। पहिले निर्वाचन आउनुभन्दा १ महिना अगाडिदेखि नै क्याम्पसमा चहलपहल हुन्थ्यो। तर, अहिले विद्यार्थीमा त्यस्तो उत्साह देखिएन।

१४ वर्षदेखि निर्वाचन नहुनु र दलहरूलेसमेत विद्यार्थी संगठनलाई चलायमान बनाउन नसक्दा उत्साह कम देखिएको बुटवल बहुमुखी क्याम्पस स्ववियुका पूर्वसभापती बाबुराम पन्थीको भनाइ छ।

०६२/६३ सालको निर्वाचनपछि दल र विद्यार्थी संगठनलेसमेत ध्यान दिन नसक्दा उत्साह कम भएको उनले बताए। पन्थी ०६२ सालमा नेकपा एमाले निकट अनेरास्ववियुबाट बुटवल बहुमुखी क्याम्पसको स्ववियुमा सभापतीमा निर्वाचित भएका थिए।

वैधानिक रूपमा पन्थीले १८ वर्षसम्म पनि माइन्युट हस्तान्तरण गर्न पाएका छैनन्। ०६५ सालमा निर्वाचन भए पनि परिणाम घोषणा नै हुन पाएन।

यसरी लामो समयपछि भएको निर्वाचनमा उत्साह कम हुनुमा केही राजनीतिक समस्या भएको स्वीकार गर्छन् नेपाल विद्यार्थी संघबाट ०६० सालमा बुटवल बहुमुखी क्याम्पसको स्ववियु सभापतिका उम्मेदवार प्रजापाल गिरी। २८ वर्षे उमेर हदको शर्त र स्ववियुको निर्वाचनको अनिश्चितताका कारण पनि निर्वाचनको मोहोल नतातेको भएको उनको तर्क छ।

आइतबार सम्पन्न स्ववियुको मतदानमा सहभागी विद्यार्थी संख्याले राजनीतिक दलहरूलाई ठूलो झापड हानेको विश्लेषण छ, बुटवल बहुमुखी क्याम्पसका सहप्राध्यापक नुरजंग केसीको।

उनले मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले पनि परम्परागत दलहरूप्रती देखिएको वितृष्ण स्ववियुमा पनि देखा परेको बताए।

‘७ हजारभन्दा धेरै विद्यार्थी भएको बुटवल बहुमुखीमा २६ सय मात्रै मत खसेको छ, यो आश्चर्यलाग्दो मत खसेको हो,’उनले भने। बुटवल बहुमुखी क्याम्पसमा ६ वटा विद्यार्थी संठनले भाग लिएका छन्। मुख्य संगठनहरू यहाँ अलग-अलग चुनावी मैदानमा छन्। अध्यक्षमा ६ जना उम्मेदार छन्।

एमाले निकट अनेरास्ववियुलाई अखिल छैठौंले साथ दिएको छ। यसअघि ०६५ सालमा मतगणना हुने बेला र ०७३ सालमा निर्वाचनको सबै प्रक्रिया टुंगिए पनि उम्मेदवारी दर्ता गर्ने बेला विवादका कारण निर्वाचन स्थगित भएको थियो।

यसअघिका सबै स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्विवियुले जितेको थियो। यसपटक भने विद्यार्थीहरूको त्यस्तो उत्साह देखिएन। ०६५ चैत ६ गतेपछि एकै पटक ८ वर्षमा ०७३ चैत १५ गते स्ववियु निर्वाचन भएको थियो।

रूपन्देहीका ६ वटा क्याम्पसमा भएन निर्वाचन

बुटवल बहुमुखीसहित रूपन्देहीका सैनामैनाको सहिद नारायण पोखरेल रामापुर क्याम्पस, कञ्चनको हरैया बहुमुखी क्याम्पस, देवदहको देवदह आदर्श, शुद्धोधनको यज्ञोदय दुधनाथ र सियारीको छपिया जनता कलेजमा मतदान सम्पन्न भएको छ।

चुनाव हुने तय भएर बुटवलको सिद्धार्थ गौतमबुद्ध क्याम्पस, लुम्बिनी वाणिज्य क्याम्पस, तिलोत्तमाको राममणी क्याम्पस, गिर्वाण संस्कृत क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, ओमसतियाको पक्लिहवा कृषि क्याम्पसमा विद्यार्थी संगठनहरूले ताला लगाएका कारण मतदान हुन सकेन।

विद्यार्थी संगठनहरू स्ववियु चुनाव गर्ने प्रतिबद्धतामा राजी भए पनि विभिन्न कलेजमा भएको विवाद समाधान गर्न सकेका छैनन्। लुम्बिनी वाणिज्य क्याम्पसमा नेविसंघले ताला लगाएको छ भने राममणि क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको लडाइँले विवाद बढेको छ। भैरहवा क्याम्पसमा ८ गते निर्वाचन मिति तोकिएको छ।

यसैबीच रूपन्देहीको सियारीमा रहेको लिलाधर घिमिरे छपिया जनता कलेजमा आइतबारै सम्पन्न भएको मतगणनाअनुसार नेपाल बिद्यार्थी संघको प्यानल नै विजय भएको छ। स्ववियु चुनावको मतपरिणामअनुसार सभापतिमा अभिषेककुमार यादव विजय भएका हुन्। यादवले ११३ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमाले निकट अखिलकी पुष्पा यादवले ५१ मत मात्रै पाइन्।

यस्तै सचिवमा मुकेशनाउँ ,कोषाध्यक्षमा बिजयालक्ष्मी रानाभाट तथा सदस्यहरूमा निराजन मुराउ, सरिता मल्लाह, दिपेन्दद्र थारु र आशिष जैसवाल विजयी भएका छन्। २ सय ३१ जना विद्यार्थी मतदाता भए पनि १६६ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =