पुरुष उपराष्ट्रपति बन्न संविधानले छेकेको छैन : संविधानविद्

हिमाल प्रेस २६ फागुन २०७९ १४:४६
118
SHARES
पुरुष उपराष्ट्रपति बन्न संविधानले छेकेको छैन : संविधानविद्

काठमाडौँ-  उपराष्ट्रपति पदमा खसआर्य समुदायका पुरुषले उम्मेदवारी दर्ता गर्न पाइने या नपाइने भन्ने विषयमा बहस सुरु भएको छ। राष्ट्रपति पदमा खासआर्य समुदायका पुरुष (रामचन्द्र पौडेल) निर्वाचित भएकाले उपराष्ट्रपतिमा फरक लिंग वा फरक समुदायबाट उम्मेदवार हुनुपर्ने पक्षमा निर्वाचन आयोगका अधिकारीहरू छन्। कतिपयले यो प्रावधानलाई महिला नै उपराष्ट्र हुनुपर्ने अर्थमा बुझेका छन्।

संविधानका व्याख्याताहरू भने महिला नै हुनुपर्ने भने संविधानका स्पष्ट नतोकिएको बताउँछन्। निर्वाचन आयोगका अधिकारीहरू उपराष्ट्रपति पदमा पुरुष र खसआर्य समुदायका व्यक्तिले उम्मेदवारी नै दिन नपाउने बताउँछन्।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधानमा ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरकफरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्नेछ’ भन्ने प्रावधान रहेकाले अब खसआर्य पुरुष उम्मेदवार बन्न नपाउने बताए। उनले हिमाल प्रेससँग भने, ‘उपराष्ट्रपति पदमा महिला र अन्यले मात्रै उम्मेदवारी दिन पाउँछन्। खसआर्य समुदायका पनि उम्मेदवार हुन पाउँदैनन्।’

आयोगले राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिंग (पुरुष) वा समुदाय (खस आर्य) भन्दा फरक लिंग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेशी, थारू वा मुस्लिम) को व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्नुपर्ने जनाएको छ।

संविधानविद् भीमार्जुन आचार्यचाहिँ संविधानमा महिला नै अनिवार्य उम्मेदवार हुनुपर्ने व्यवस्था नरहेको बताउँछन्। उनले संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरकफरक लिंग वा समुदायको हुनुपर्ने व्यवस्था भए पनि एउटा पद अनिवार्य रूपमा महिला हुनुपर्ने विषय किटान नगरिएको बताए। आचार्यले भने, ‘महिला भए त राम्रो भइहाल्यो। संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिंग वा समुदायको हुने भन्ने उल्लेख छ। संविधानमा भएको ‘वा’ भन्ने शब्दले राष्ट्रपति पुरुष निर्वाचित भए उपराष्ट्रपति महिला नै हुनुपर्ने जनाउँदैन।’

वर्तमान राष्ट्रपतिमा महिला र उपराष्ट्रपतिमा पुरुष छन्।

के छ संविधानमा?

उपराष्ट्रपतिको उम्मेदवारीको विषयमा नेपालको संविधान धारा ७० मा उल्लेख गरिएको छ। जसमा भनिएको छ, ‘राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिंग वा समुदायको हुने: यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग वा समुदायको प्रतिधित्व हुने गरी गर्नुपर्नेछ।’

निर्वाचन आयोगको निर्देशन : महिला वा फरक समुदायको उम्मेदवारको मात्र मनोनयन दर्ता गर्नू

 

प्रकाशित: २६ फागुन २०७९ १४:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =