बिम्स्टेकका वरिष्ठ अधिकारीहरूको बैठक सम्पन्न

हिमाल प्रेस २४ फागुन २०७९ २१:५०
2
SHARE
बिम्स्टेकका वरिष्ठ अधिकारीहरूको बैठक सम्पन्न

काठमाडौँ- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)का वरिष्ठ अधिकारीहरूको २३औँ बैठक सम्पन्न भएको छ। भर्चुअल रूपमा थाइल्याण्डको बैंककमा सम्पन्न बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गरेका थिए।

गतवर्ष श्रीलंकाको कोलम्बोमा सम्पन्न बिम्स्टेकको पाँचौं शिखर सम्मेलनले सदस्य राष्ट्रको नेतृत्वमा सात वटा क्षेत्रमा सहकार्यका क्षेत्रको पुनःगठन गरेको थियो। जनसम्पर्क क्षेत्र र संस्कृति, पर्यटन र जनताबाट जनताको सम्पर्क उपक्षेत्रको जिम्मेवारी नेपालले पाएको छ। बैठकमा परराष्ट्र सचिव पौड्यालले नेपालको नेतृत्वमा यस क्षेत्रमा भएको प्रगतिबारे जानकारी गराए।

नेपालले संस्कृति र पर्यटन उपक्षेत्रका लागि तयार पारेको कार्ययोजनामाथि प्रकाश पार्दै बिम्स्टेक पर्यटन कोष र पर्यटन सूचना केन्द्रलाई चाँडो सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको परराष्ट्र सचिव पौड्यालले बताए।

गरिबी निवारणलाई जनसम्पर्क क्षेत्रअन्तर्गत उपक्षेत्रका रूपमा समावेश गर्न नेपालको सहमतिसमेत रहेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकमा बिम्स्टेकअन्तर्गत सहयोगका विभिन्न क्षेत्रमा भएको प्रगति प्रतिवेदनमाथि पनि छलफल गरिएको थियो।

बैठकले बिहीबार (९ मार्चमा) हुने १९औँ बिम्स्टेक मन्त्रीस्तरीय बैठकको एजेण्डा र प्रस्तावित संयुक्त वक्तव्यको पाठलाई पनि अन्तिम रूप दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। रासस

प्रकाशित: २४ फागुन २०७९ २१:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − four =