आर्थिक एजेन्डालाई प्राथमितामा राख्न सरकारसँग आग्रह

हिमाल प्रेस २१ फागुन २०७९ १८:३६
4
SHARES
आर्थिक एजेन्डालाई प्राथमितामा राख्न सरकारसँग आग्रह

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजीक्षेत्र र आर्थिक एजेन्डा प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन्।

नवलपुरको गैंडाकोटमा आयोजित ‘गण्डकी औद्योगिक व्यापार महोत्सव २०७९’ को उद्घाटन समारोहमा आइतबार उनले सरकारले आर्थिक एजेन्डा प्राथमिकतामा राख्न आथ्रह गरेका हुन्। ‘हरेक सरकारले निजीक्षेत्रसँग सहकार्य गर्ने र निजीक्षेत्रको विकास गर्ने भनेर भन्ने गरेको सुनिन्छ,’ उनले भने, ‘तर व्यवहारमा हामीले दलहरूले निजीक्षेत्रलाई प्राथमिकतामा राखेको महसुस गर्न सकेका छैनौं।’

मुलुकका औद्योगिक विकास र आर्थिक मुद्दा लिएर सरकारका विभिन्न निकायमा पुग्दा यो निजीक्षेत्रको मात्र एजेन्डा हो भन्ने गरेको उनको भनाइ थियो।

निजीक्षेत्रले आयात रोकेर अर्थतन्त्रमा देखिएको समस्या समाधान हुन्न भनेको कुरा औल्याउँदै यसले राजश्व घटाउने मात्र काम गरेको उनले बताए। ‘हामीले आयात प्रतिबन्धले अहिलेको समस्या समाधान हुन्न भनेर भनेका थियौं,’ उनले भने, ‘त्यसको बदलामा बोर्डरमा हुने अनौपचारिक कारोबारलाई रोकौं भनेर सल्लाह पनि दिएका थियौँ। सरकारले यो कुरालाई आयातमा प्रतिबन्ध लगाउने काम गर्यो । त्यसैकारण अहिले राजस्वमा ठूलो असर परेको छ।’

नयाँ नीति तथा नियमहरू बनाउँदा निजीक्षेत्र तथा सरोकारवालाहरूसँग व्यापक छलफल गर्न उनले सरकार तथा नियामक निकायलाई सुझाव पनि दिए। केही व्यक्तिले बैंकबाट लिएको कर्जाको ब्याज तथा कर्जा तिर्न पर्दैन भन्ने गरेकोप्रति उनले यसबाट अर्थतन्त्रमा ठूलो समस्या निम्तिन सक्ने औंल्याए।

प्रकाशित: २१ फागुन २०७९ १८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + twenty =