अन्तर्राष्ट्रिय बजारमा उत्कृष्ट हुँदै नेपाली चियाले पायाे गोल्डेन अवार्ड

हिमाल प्रेस १८ फागुन २०७९ १५:३६
4
SHARES
अन्तर्राष्ट्रिय बजारमा उत्कृष्ट हुँदै नेपाली चियाले पायाे गोल्डेन अवार्ड प्रतिनिधिमूलक तस्बिर स्रोत : राष्ट्रिय चिया तथा कफी विकास बोर्ड

काठमाडौँ- अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर उत्कृष्ट भएर स्वर्ण, रजत र कास्य अवार्ड विजेता बनेको छ। चीनको ‘चीन चिया मार्केटिङ संघ’ले आयोजना गरेको दोस्रो विश्व कालो चिया गुणस्तर परीक्षण मूल्यांकन प्रतिस्पर्धामा नेपाली १० उत्पादक संस्थाले अवार्ड विजेता भएको बिहीबार राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जानकारी दिएको हो।

विश्वका प्रमुख चिया उत्पादक राष्ट्रहरू चीन, भारत, केन्या, श्रीलंकालगायत देशसँग नेपाली चियाको प्रतिस्पर्धा गराइएको थियो। उक्त प्रतिस्पर्धामा नेपाली चिया सबैभन्दा उत्कृष्ट हुँदै अवार्ड पाएको हो। अवार्ड परिणामस्वरूप आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको निर्यात व्यापार बढाउन सहज हुने विश्वास लिइएको छ।

तीनजुरे चिया कृषक सहकारी संस्थाद्वारा उत्पादित पर्ल गोल्डेन चियाले गोल्डेन अवार्ड पाएको छ भने फार्मर चिया प्रशोधन उद्योगले उत्पादन गरेको एफ्टी हिमालयन गोल्डेन, साग्रिला गोल्डेन, जीटीई–गोल्डेन चिया, सिल्भर विंग्स, गोल्डेन टिप्स चियाले गोल्डेन मेडल अवार्ड पाएका थिए।

बोर्डले नेपालमा उत्पादित १६ वटा चियाको नमूना परीक्षणमा पठाएकोमा १० प्रकारका चियाले विश्व गुणस्तरमा उच्च रहेको प्रमाणित भएको बताएको छ। बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले नेपाली चियाको चिनियाँ बजार राम्रो रहेको बताए। बोर्डले नेपालमा उत्पादित चियाको बजार व्यवस्थापनका लागि पहल गरिरहेको उनले बताए।

चीनमा नेपाली चियाको अनलाइन विज्ञापन सुरु भइसकेको उनको भनाइ थियो। अवार्ड विजेतासँगै नेपाली चिया अन्तर्राष्ट्रिय बजारमा अब्बल दर्जाको रहेको प्रमाणित भएको भट्टराईले बताए। नेपाली चिया आर्थिक उन्नतिका लागि महत्त्वपूर्ण आधार रहेको उनको भनाइ थियो।

उनका अनुसार गतवर्षको तुलनामा नेपाली चियाको निर्यात ३६ प्रतिशतले बढेको छ। नेपाली चियाको निर्यात वृद्धिले नेपाली चियाको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको प्रमाणित हुने उनको भनाइ थियो।

त्यस्तै पर्ल गोल्डेन चियाका सञ्चालक रितुकान्त खनालले नेपाली चियामा रासायनिक मल तथा विषादी प्रयोग नहुने भएकाले नेपाली चिया पूर्णरूपमा अर्गानिक रहेको बताए। अर्गानिक चिया उत्पादन गरकै कारण गोल्डेन अवार्ड पाएको उनको भनाइ थियो।

आफूहरूले किसानको आय वृद्धिमा गर्दै मुलुकमा विदेशी मुद्रा आर्जनका लागि महत्त्वपूर्ण भुमिका खेलेको उनले बताए। नेपाली चिया उत्पादनलाई सरकारले उद्योगको रूपमा विकास गर्ने नीति नियमन बनाउन आवश्यक रहेको उनले औंल्याए।

आर्थिक वर्ष २०७७/७८ को तथ्यांक अनुसार नेपालमा १६ हजार ९१७ हेक्टर क्षेत्रफल जमिनमा चियाखेती हुँदै आएको छ। सो क्षेत्रफलमा २३ हजा। ७४५ मेट्रिकटन चिया उत्पादन भइरहेको छ। नेपालमा १७ हजार चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक आबद्ध रहेको बोर्डले जानकारी दिएको छ।

प्रकाशित: १८ फागुन २०७९ १५:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 7 =