घट्यो नेपालमा उत्पादित चिया

हिमाल प्रेस १८ पुष २०८० ७:२४
10
SHARES
घट्यो नेपालमा उत्पादित चिया

काठमाडौँ- नेपालमा उत्पादित चियाको निर्यातमा गिरावट आएको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा एक अर्ब ८७ करोड १७ लाख ७२ हजार रुपैयाँ बराबरको ७१ लाख ८१ हजार १४० किलो चिया निर्यात भएको छ।

गत वर्षको सोही अवधिमा दुई अर्ब २३ करोड २१ लाख ५२ हजार रुपैयाँ बराबरको एक करोड ६५ हजार ५३० किलो चिया निर्यात भएको थियो। चालु आवमा गत आवको तुलनामा ३६ करोड तीन लाख ८० हजार रुपैयाँको चिया निर्यातमा कमी आएको छ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रवक्ता डा दीपक खनालले स्पेसल किसिमको चियामा लागत अनुसार मूल्य नपाउँदा उत्पादकले चिया बिक्री नगरी मौज्दात राख्दा निर्यातमा कमी आएको जानकारी दिए।

स्पेसल चिया, ग्रिन टी र गोल्डेन टीको निर्यात कम हुँदा समग्र निर्यातमा सामान्य कमी आएको उनको भनाइ छ। भारतले नेपाली चिया सस्तो मूल्यमा खरिद गरेर लैजाने र विश्व बजारमा महँगो मूल्यमा बिक्री गरिरहेको उनको भनाइ छ।

ग्रिन टी, ह्वाइट, गोल्डेन टी र सिल्भर जस्ता चिया स्पेसलमा पर्ने र यिनीहरूको मूल्य अरू साधारण चियाको भन्दा बढी पर्ने गरेको छ। व्यवसायीका अनुसार भारतले नेपाली चिया प्रतिकिलो ५६० रुपैयाँमा खरिद गर्ने गरेको छ। विश्व बजारमा भने भारतले करिब तीन हजार रुपैयाँ प्रतिकिलोमा बिक्री गर्ने गर्छ।

नेपालमा सीटीसी र अर्थोडक्स चिया उत्पादन हुने गरेको छ। बोर्डका अनुसार ३० जिल्लामा २० हजार २३७ हेक्टर क्षेत्रफलमा चियाको खेती हुँदै आएको छ। सबै प्रकारको गरी वार्षिक दुई करोड ६३ लाख ७९ हजार ४९३ किलो चिया उत्पादन हुन्छ।

यसमध्ये एक करोड ८९ हजार दुई हजार आठ सय किलो सीटीसी चिया उत्पादन हुन्छ भने अर्थोडक्स ६५ लाख ८७ हजार ८७१ किलो र ग्रिन टी सात लाख ३२ हजार ८११ किलो उत्पादन हुन्छ।

बोर्डका अनुसार कुल चियाको उत्पादनमध्ये पनि झन्डै ५५ प्रतिशतभन्दा बढी सीटीसी चिया मात्रै उत्पादन हुँदै आएको छ। इलाम, पाँचथर, धनकुटा, कास्की, लमजुङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, खोटाङ, चितवन, सिन्धुली, पर्वत, काभ्रे, गोर्खा, दोलखा, ललितपुर, रामेछाप, प्युठान, अर्घाखाँचीलगायतका जिल्लामा चिया खेती हुने गरेको छ।

मुलुकमा उत्पादन भएको चिया अस्ट्रेलिया, क्यानडा, चीन, डेनमार्क, फ्रान्स, जर्मनी, भारत, जापान, इटाली, नेदरल्यान्ड, अमेरिका, पोल्यान्ड, स्विडेन, थाइल्यान्ड, ताइवानलगायतका देशमा निर्यात हुने गरेको छ।

सिटिसी चियाको ट्रेडमार्क तयार गरिँदै

यसैबीच बोर्डले सिटिसी चियाको ट्रेडमार्कको डिजाइनका लागि सूचना सार्वजनिक गरेको छ।

नेपालमा उत्पादित गुणस्तरीय सीटीसी चियामा प्रयोगका लागि उपयुक्त ट्रेडमार्कको डिजाइन आवश्यक परेकाले बोर्डले सूचना सार्वजनिक गरेको हो। बोर्डले सीटीसी चियाको ट्रेडमार्क डिजाइन गर्न सार्वजनिक सूचनासमेत जारी गरेको छ।

अर्थोडक्सको चियाको ट्रेडमार्क प्रदान गर्दै आए पनि सीटीसी चियामा हालसम्म ट्रेडमार्कको व्यवस्था गरेको थिएन। सीटीसी चियाको घरेलु र बाह्य बजार सुनिश्चित गर्न ट्रेडमार्कको अवधारणा कार्यान्वयनमा ल्याउन लागिएको बोर्डका प्रवक्ता दीपक खनालले जानकारी दिए।

‘नेपाल टी प्रिमियम सीटीसी’ भन्ने नारासहित ट्रेडमार्क लोगो तयार गर्नुपर्ने बोर्डले सर्त राखेको छ। यो लोगो डिजाइन गर्ने एक डिजाइनले तीन वटासम्म डिजाइन तयार गर्न सक्ने व्यवस्था गरिएको छ।

डिजाइनरले तयार पारेको लोगोमध्ये उत्कृष्ट लोगोलाई ५० हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउने बोर्डले जनाएको छ। सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र लोगो तयार पारी बोर्डको कार्यालयमा बुझाउन सूचना जारी गरेको छ। गोरखापत्र दैनिकबाट

प्रकाशित: १८ पुष २०८० ७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 7 =