विदेशी सेनामा नेपाली : श्रम स्वीकृति नलिई भर्ती हुन पाइने यी तीन देश

रमेश भारती २९ पुष २०८० १९:४०
116
SHARES
विदेशी सेनामा नेपाली : श्रम स्वीकृति नलिई भर्ती हुन पाइने यी तीन देश Image Source : Mick Latter/pexels

काठमाडौँ- राम्रो तलबसुविधा पाउने प्रलोभनमा रुसी सेनामा भर्ती भएका १२ नेपालीको मृत्यु भएको छ। युक्रेनसँग युद्धरत रुसी सेनामा भर्ती भएका ती नेपाली अवैध रूपमा त्यहाँ पुगेर भर्ती भएका थिए। रुसमा बसेका नेपालीका अनुसार तेस्रो देशको बाटो हुँदै अवैध रूपमा पुगेका नेपालीको संख्या धेरै छ।

मस्कोस्थित रुसी दूतावास र परराष्ट्र मन्त्रालयले १२ नेपालीको मृत्यु भए पनि अन्य विवरण केही दिएका छैनन्। साथै ती नेपालीको शव पनि प्राप्त हुन सकेको छैन। रुस-युक्रेन युद्धमा नेपाली युवा मारिन थालेपछि अन्य देशमा पनि अवैध रूपमा युवा पुगेको विषयमा खोजीनिती भइरहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन्।

सरकारी निकायसँग कुन देशमा कति युवा अवैध रूपमा पुगेका छन् भन्ने विवरण छैन। नेपालबाट एउटा देशको श्रमस्वीकृति लिएर दलालको प्रलोभनमा परी अर्को देशमा पुग्ने गरेकाले यकिन विवरण प्राप्त गर्न कठिनाइ भइरहेको वैदेशिक रोजगार विभागका अधिकारीहरू बताउँछन्। कुन देशको सेना र प्रहरीमा नेपालीले भर्ती हुँदा वैध हुन्छ र कुन देशमा अवैध हुन्छ भन्ने जानकारी नहुँदा पनि नेपाली युवा फस्ने गरेको विभागका महानिर्देशक डन्डुराज घिमिरेको भनाइ छ।

नेपाली युवा भारत, बेलायतको सेना र सिंगापुरको प्रहरीमा भर्ती हुँदै आएका छन्। यी देशको सेनामा भर्ती हुन श्रम स्वीकृत चाहिँदैन भने नेपालमै आएर छनोट गरेर लैजाने गरेका छन्। यी देशको सुरक्षाकर्मी बन्ने चाहने युवाको संख्या बढ्दै गएको छनोटमा हुने प्रतिस्पर्धाले पनि देखाउँछ।

सन् १८१५ देखि नेपाली युवा विदेशी सेनामा भर्ती हुन थालेको इतिहास छ। यो क्रम सन् १८१६ मा नेपाल र तत्कालीन इन्ट इन्डिया सरकारबीच सुगौली सन्धि भएपछि पनि कायमै रह्यो। इतिहासकारहरूका अनुसार तत्कालीन प्रधानमन्त्री श्री ३ वीरशमशेर सत्तामा आएपछि पालामा सन् १८८६ तिर मात्र औपचारिक रूपमा गोर्खा भर्तीका लागि सरकारी तहबाट अनुमति दिन थालिएको हो।

भारत बेलायतको उपनिवेशबाट मुक्त भएपछि पनि बेलायतले नेपालीलाई आफ्नो सेनामा भर्ती गराउन छाडेन। भारतले पनि त्यही बेलादेखि गोर्खाली सेना भनेर नेपाली युवालाई भर्ती गराउन थालेको हो।

भारतमा बेलायतले शासन गर्दा ‘गोरखा रेजिमेन्ट’नामक छुट्टै पल्टन थियो। उक्त पल्टनमा नेपाली मात्र हुन्थे। अहिले ‘गोरखा रेजिमेन्ट’कायमै रहे पनि त्यहाँ भारतीय र नेपाली दुवै देशका युवा भर्ती भएका छन्। बेलायती रक्षा मन्त्रालयअन्तर्गतको गोर्खा ब्रिगेड एसोसिएसनमार्फत नेपाली युवा बेलायती सेनामा भर्ती हुन्छन्। बेलायतले पाँच वर्षयता नेपाली युवतीलाई पनि सेनामा भर्ती गराउन थालेको छ।

बेलायती सेनामा भर्तीका लागि असोजदेखि माघसम्म पोखरा र धरान गरी दुई ठाउँबाट नेपाली युवा छनोट हुँदै आएका छन्। बेलायतले नेपालबाट बर्सेनि भर्ती खुलाएर एक सय ५० जना सेना लिँदै आएको छ।

कोरोना महामारीका कारण दुई वर्ष बेलायती सेनामा भर्ती खुलेन। बेलायत सेनामा हाल चार हजार नेपाली युवायुवती कार्यरत रहेको भूतपूर्व गोरखा सैनिक सत्याग्रही संघर्ष समितिका अध्यक्ष ज्ञानराज राईले जानकारी दिए। उनका अनुसार तीमध्ये एक सय ५० भन्दा बढी महिला छन्।

बेलायती सेनामा कार्यरत नेपालीले पारिश्रमिकबापत मासिक तीन हजार पाउन्ड स्टर्लिङ र परिवारिक सुविधा पाउँछन्। बेलायती सेनामा भर्ती भएको नेपालीले १४ वर्षदेखि २० वर्षसम्म काम गर्न पाउँछन्। त्यसमा पेन्सनको सुविधा छ। सन् २००५ देखि भने बेलायती सेनामा काम गरेका नेपालीले नागरिकतासमेत पाउन थालेका छन्।

सेवासुविधामा विभेद भएको भन्दै बेलायतमा रहेका पूर्वगोर्खा सैनिकहरूले आन्दोलन गरेपछि उनीहरूका कतिपय माग सम्बोधन हुँदै आएका छन्। बेलायती नागरिकलाई भन्दा कम तलबमा गोर्खा सैनिकलाई काम लगाएर बेलायती सरकारले विभेद गरेको गुनासो उनीहरूको छ। समानताका लागि आन्दोलन जारी रहेको सत्याग्रही संघर्ष समितिका अध्यक्ष राई बताउँछन्।

सेनाजस्तो जोखिम क्षेत्रमा काम गरेका नेपालीमाथि विभेद छ। हामी न्यायका लागि पाँच दुई दशकदेखि आन्दोलनमा छौँ। यसबारे नेपाल सरकार बोल्दैन’, उनले भने, ‘अहिले भूतपूर्व गोरखा सैनिकले पाएको भन्दा बेलायतका पेन्सन भएको सैनिकको सुविधा तीनगुणा बढी छ। हाम्रो विरोध यसैमा हो।’

बेलायतभन्दा बढी नेपाली युवा भारतीय सेनामा कार्यरत छन्। सेन्टर फर ल्यान्ड वारफेयर स्टडिज र नेपाल इन्स्टिच्युट अफ इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्टका अनुसार भारतीय गोर्खा रेजिमेन्टमा ३३ हजार नेपाली कार्यरत छन्। सन् २०२० मा भारत सरकारले नेपाली युवतीलाई सेनामा कोटा छुट्याएर माग गरेको थियो।

भारतले नेपाली सेनालाई ‘अग्निपथ’मा लिने विषयमा गरेको एक कार्यक्रममा तत्कालीन भारतीय सेना प्रमुख विपिन रावतले भारतीय सेनामा ३३ हजार नेपाली कार्यरत रहेको जानकारी गराएका थिए। भारतीय रक्षा मन्त्रालयका अनुसार भारतीय सेनाबाट ७५ हजारभन्दा धेरै नेपालीले अवकाशपछिको सुविधा लिइरहेका छन्।

भारतीय सेनामा कार्यरत नेपालीले ५० हजारदेखि ९० हजारसम्म भारतीय रुपैयाँ तलब र अन्य सुविधा पाउने गरेका छन्। भारतीय सेनामा रहेका नेपालीलाई प्रायस् युद्धग्रस्त क्षेत्रमा खटाउने गरिएको छ। उनीहरूलाई पाकिस्तानी र चिनियाँ सिमानामा खटाइन्छ। भारतीय सेनामा भर्ती भएका नेपाली १३ वर्षपछि पेन्सनमा अवकाश हुन पाउँछन्।

भारतले नेपालबाट प्रत्येक ६ महिनामा भर्ती खुलाएर सैन्य भर्ना गर्दै आएको छ। यसरी नेपालबाट बर्सेनि दुईदेखि तीन सय युवाले भारतीय सेनामा प्रवेश पाउँछन्। तर दुई वर्षयता ‘अग्निपथ सेना’विषयमा छलफल नहुँदा भारतीय सेनामा भर्ना खुलेको छैन। नेपाल सरकारले यस विषयमा भारतसँग छलफल गर्न नसकेका कारण रोकिएको परराष्ट्रविज्ञहरूले बताउँदै आएका छन्।

भारतीय सेनामा प्रवेश गरेका युवाले मेजर तहसम्म मात्र बढुवा पाउँछन्। भारतीय सेनाबाट निवृत्त भएका नेपालीले भारतमै बसोबास गर्न पनि पाउँछन्। यसैगरी नेपाली युवाको अर्को आकर्षणमा रहेको जागिर हो सिगांपुर प्रहरी। सिंगापुर प्रहरीमा पनि नेपालीहरू बेलायती भर्तीमार्फत नै जाने गरेका छन्। सिंगापुरले भारत र बेलायतले जस्तै नेपालबाटै छनोट गरेर प्रहरीमा लैजाने गरेको छ। तर भर्तीका समयमा बेलायती सेनाकै प्रतिनिधिले छनोट गर्छन्। नेपालबाट वार्षिक सयजना नेपाली सिंगापुर प्रहरीमा भर्ती हुने गरेको तथ्यांक छ।

सिंगापुरमा कार्यरत नेपाली प्रहरीले तीन लाख रुपैयाँसम्म तलबसुविधा पाउँछन्। उनीहरूलाई पेन्सन सुविधा छ। सिंगापुरले पारिवारिक सुविधा दिन अस्वीकार गर्दै आएको छ। सिंगापुर प्रहरीमा दुई हजार पाँच सय नेपाली कार्यरत रहेको अनुमान छ।

भारत र बेलायती सेनामा भर्ती भएका नेपाली युवाको सम्पूर्ण जिम्मा भर्ती भएकै दिनदेखि सम्बन्धित देशले लिने गरेका छन्। ती देशको सेनामा भर्ती हुनका लागि कुनै श्रम स्वीकृति आवश्यक नपर्ने परराष्ट्र मन्त्रालयका सूचना अधिकारी ऋषिराज आचार्य बताउँछन्।

बेलायतले पाँच वर्षअगाडि नै यति संख्यामा नेपाली युवा सेना भर्ती गराउने भनेर नेपालस्थित बेलायत दूतावासमार्फत जानकारी गराउँछ। आचार्यका अनुसार सन् २०२५ सम्ममा सात सय जना नेपाली युवालाई सेनामा भर्नी गराउने जानकारी २०२० तिरै गराएको थियो।

भारतले सरकारी स्तरमा कुनै जानकारी नगराउने आचार्यले बताए। उनले भने, ‘भारतले आफ्नो आवश्यकताअनुसार नेपालबाट भर्ती गराए लैजाने गरेको छ।’ भारत र बेलायती सेनाको छनोटमा वार्षिक १० हजार नेपाली युवा सहभागी भए पनि तीन सय जना जति भर्ती हुने गरेका छन्।

तीनै देशमा देशमा सेना-प्रहरीमा भर्ती हुन ५ फुट ५ इन्च उचाइ र ५२ केजी तौल हुनुपर्ने मापदण्ड छ। भारत, सिंगापुर र बेलायतले मात्र नेपालबाटै सेना-प्रहरी छनोट गर्दै आएका छन्। शैक्षिक योग्यता कक्षा १२ दोस्रो श्रेणीमा उत्तीर्ण गरेको र १८ देखि २१ वर्षको उमेर पुग्नुपर्छ। कार्यरत रहेका बेला निधन भएमा उनीहरूका परिवारले ती देशको कानुनी प्रावधानअनुसार सुविधा पाउँछन्।

हङकङ र ब्रुनाईमा भने नेपाली युवा भर्ती हुन छाडेका छन्। सन् १९९७ देखि बेलायत सरकारले ती देशमा भर्ती गराउन बन्द गरेको थियो। हाल ब्रुनाईमा तीनदेखि चार हजार पूर्वगोर्खा सैनिकका परिवार बसोबास गर्दै आएको अनुमान छ।

सन् १९९७ मा ब्रिटिसले हङकङ छाड्दा त्यहाँ कार्यरत नेपाली ब्रिटिस आर्मीलाई समेत फिर्ता लगेको थियो। हङकङमा पाँच हजारभन्दा धेरै पूर्वब्रिटिस आर्मीका परिवार बसोबास गर्दै आएका छन्। ब्रिटिसले हङकङ छाडेसँगै ल्यहाँको ‘हङकङ आइडी’चीन सरकारले खारेज गरेको थियो।

ब्रुनाई प्रहरी र सुरक्षा गार्डमा नेपाली उतै भएर भर्ती हुने गरेका छन्। हङकङमा चाहिँ बन्द छ। सुगौली सन्धिपछि नेपाली युवा भारत र बेलायतमा सेनामा र सिंगापुरमा प्रहरीमा भर्ती हुने गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरे बताउँछन्। उनीहरूको सेवासुविधा सबै तीनै देशले सम्झौताअनुसार परिमार्जन गर्दै आएको छ। ‘पछिल्लो समय नेपाली अन्य देशको सेना प्रहरीमा समेत भर्ती हुने गरेका छन्। ती देशसँग सम्झौता नगरी अवैध रूपमा नेपाली गइरहेका हुन्’, घिमिरेले भने।

प्रकाशित: २९ पुष २०८० १९:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =