सुडान युद्ध : १९ जना नेपाली साउदी अरेबिया सरकारको सहयोगमा जेद्दा पुगे

हिमाल प्रेस १८ वैशाख २०८० १५:०९
4
SHARES
सुडान युद्ध : १९ जना नेपाली साउदी अरेबिया सरकारको सहयोगमा जेद्दा पुगे

काठमाडौँ- सरकारले सुडानमा रहेका नेपालीको उद्धार भइरहेको जानकारी गराएको छ। सुडानमा भइरहेको जटिल सुरक्षा अवस्थामा त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो।

सुडानमा रहेका नेपाली नागरिकसँग कायरोस्थित नेपाली दूतावास सम्पर्कमै रहेको र सोही दूतावासले विवरण अद्यावधिक गर्ने तथा उद्धारको काम गरिरहेको परराष्ट्र मन्त्रालयको भनाइ छ।

मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीबाहेक अन्य ३० जना नेपाली हालसम्म कायरोस्थित नेपाली दूतावाससँग सम्पर्कमा छन्।

उक्त दूतावासको अनुरोधबमोजिम पोर्ट सुडानमा पुगेका १९ नेपाली साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजमार्फत जेद्दा सहरमा सुरक्षित आइपुगेका जेद्दास्थित नेपाली महावाणिज्यदूतावासले जानकारी गराएको छ।

यसअघि नै एक नेपाली सकुशल जेद्दा पुगेको र त्यहाँ आइपुगेका सबै नेपालीलाई नेपाल फर्काउन सहजीकरण भइरहेको मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयका अनुसार कायरोस्थित नेपाली दूतावाससँग सुडानमा सम्पर्कमा रहेका बाँकी ११ नेपालीमध्ये ५ जना पोर्ट सुडानतर्फ प्रस्थान गरेका छन्। त्यस्तै १ जनालाई खार्तुमबाट पोर्ट सुडान पुर्‍याउने प्रयास भइरहेको, तीन जना रोजगारदाता कम्पनीको सहयोगमा पोर्ट सुडान पुगेका र त्यहाँ होटेलमा बसेका परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ।

दुई जनालाई रोजगारदाता कम्पनीले खार्तुमबाट इजिप्टको सिमाना नजिकैको सुरक्षित स्थानमा लैजाने व्यवस्था मिलाइएको दूतावासले जानकारी गराएको छ। परराष्ट्र मन्त्रालयले अझै पनि सुरक्षा अवस्था असहज रहेकाले सुडानमा रहेका सबै नेपालीलाई सुरक्षित रहन र अत्यावश्यक काममाबाहेक बाहिर हिँड्डुल नगर्न आग्रह गरेको छ।

सरकारले आपत्कालीन अवस्थामा कायरोस्थित नेपाली राजदूतावासका द्वितीय सचिव दिपक घिमिरेलाई सम्पर्क गर्न पनि अनुरोध गरेको छ। रासस

प्रकाशित: १८ वैशाख २०८० १५:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =