सुडानमा फसेका नेपालीको उद्धारका लागि विवरण संकलन गर्दै सरकार

हिमाल प्रेस ११ वैशाख २०८० २०:३४
6
SHARES
सुडानमा फसेका नेपालीको उद्धारका लागि विवरण संकलन गर्दै सरकार

काठमाडौँ- सरकारले सुडानमा फसेका नेपालीको उद्धारका लागि आवश्यक विवरण संकलन गरिरहेको छ। सोमबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सुडानमा रहेका नेपालीको उद्धारका लागि विवरण अद्यावधिक गर्ने काम भइरहेको जानकारी दिएको हो।

‘इजिप्टको कायरोस्थित नेपाली राजदूतावासद्वारा सुडानमा रहेका नेपाली, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनहरू (यूनिस्फा र यूनिटाम्स)मा कार्यरत नेपाली पदाधिकारीहरू, सुडानस्थित अवैतनिक नेपाली वाणिज्यदूत तथा सुडानी निकायहरूसँग निरन्तर सम्पर्कमा रही विवरण अद्यावधिक गर्ने कार्य भइरहेको छ,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

कायरोस्थित नेपाली राजदूतावाससँग सम्पर्कमा रहेका १९ जना नेपालीको सूची तयार गरिएको र सबै जना सुरक्षित रहेको विज्ञप्तिमा उल्लेख छ।

ती बाहेक तीनजना नेपाली शान्तिसैनिकहरू आइतबार अफ्रिकी मुलुक चाडतर्फ गएको पनि परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै खार्तुमस्थित संयुक्त राष्ट्रसंघका विभिन्न निकायमा कार्यरत सात जना नेपाली सोही दिन खार्तुमबाट सडकमार्फत रेडसीस्थित पोर्ट सुडानतर्फ गएका र त्यहाँबाट हवाई सेवामार्फत युगाण्डा जाने तयारी रहेको जानकारीमा आएको परराष्ट्र मन्त्रालयको भनाइ छ।

‘हालको असहज र जटिल सुरक्षा अवस्थामा नेपाल सरकार सुडानमा रहेका सबै नेपाली नागरिकहरूलाई सुरक्षित स्थानमा रहन र अत्यावश्यक काममा बाहेकबाहिर हिँड्डुल नगर्न तथा आपतकालीन अवस्थामा कायरोस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न अनुरोध गरिन्छ,’ परराष्ट्र मन्त्रालयले भनेको छ।

मन्त्रालयका अनुसार दूतावासका द्वितीय सचिव दिपक घिमिरेलाई ह्वाट्स एप र इमेलमार्फत सम्पर्क गर्न सकिनेछ। ह्वाट्स एप +201097772348, र +201029606662 तथा इमेल [email protected] मा सम्पर्क गर्न परराष्ट्रले अनुरोध गरेको छ। सुडानमा गत १५ अप्रिलदेखि द्वन्द्व भइरहेको छ।

सुडान युद्ध : शान्ति मिसनमा रहेका नेपाली सडकमार्ग हुँदै अन्य गन्तव्यतर्फ

सुडान युद्ध : खार्तुमबाट अमेरिकी कूटनीतिज्ञ बाहिरिए

सुडानमा मृत्यु हुनेको संख्या ३ सय नाघ्यो

सुडानमा आरएसएफद्वारा राष्ट्रपति भवन, सेना प्रमुखको निवास र अन्तर्राष्ट्रिय विमानस्थल नियन्त्रणमा लिएको दाबी

प्रकाशित: ११ वैशाख २०८० २०:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + five =