जोखिमपूर्ण यात्रामा रहेका ४६४ को जमुनाहानाकाबाट उद्धार

हिमाल प्रेस २२ भदौ २०८३ ११:०१ | Monday, September 7, 2026
जोखिमपूर्ण यात्रामा रहेका ४६४ को जमुनाहानाकाबाट उद्धार

बाँके- जोखिमपूर्ण यात्रामा रहेका ४६४ जनालाई बाँकेको नेपालगन्जस्थित जमुनाहानाकाबाट उद्धार गरिएको छ।

मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था माइती नेपाल, नेपालगन्जले आर्थिक वर्ष २०८२/८३ मा जोखिमपूर्ण अवस्थामा यात्रा गरिरहेकालाई सीमानाकाबाट उद्धार गरेको हो।

माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाका अनुसार उद्धार गरिएकालाई आवश्यक परामर्शपश्चात् सुरक्षित रूपमा परिवारको जिम्मा लगाइएको हो।

आर्थिक प्रलोभन, चेतनाको कमी, घरायसी समस्या र प्रविधिको असन्तुलित प्रयोगका कारण सीमावर्ती क्षेत्रमा बेचबिखनको जोखिम बढ्दो छ।

‘हामीले नाकामा कडाइ र भारतबाट उद्धारको प्रयास गरिरहेका छौँ, तर खोजतलासका लागि आउने निवेदनको चापले समुदायस्तरमै व्यापक सचेतना र सरकारी तहबाट रोजगार तथा सुरक्षाको ठोस नीति आवश्यक छ भन्ने देखाउँछ’, संयोजक कोइरालाले भने।

खुला सीमा, विपन्नता र चेतनाको अभावका बीच गैरसरकारी संस्था र प्रहरी प्रशासनको निगरानीले धेरैको जीवन जोगिए पनि हराइरहेका सयौँ नागरिकको खोजी र पुनर्स्थापना अझै चुनौतीका रूपमा रहेको उनको भनाइ छ।

सीमानाकामा सतर्कताका बाबजुद विभिन्न प्रलोभन, सामाजिक सञ्जालको दुरुपयोग र गलत सूचनाका कारण भारत पुर्याइएर श्रम तथा यौन शोषणमा परेका १० जनालाई सोही अवधिमा उद्धार गरी स्वदेश फर्काइएको छ।

माइती नेपालले भारतीय प्रहरी, दूतावास र स्थानीय गैरसरकारी संस्थासँगको समन्वयमा भारतका विभिन्न सहर र कोठीबाट उनीहरूको उद्धार गरेको संयोजक कोइरालाले बताए।

हराएका आफन्तको खोजतलास र उद्धारका लागि माइती नेपाल नेपालगन्जको कार्यालयमा गत आर्थिक वर्षमा एक हजार १८ निवेदन परेकामा ५६८ जना फेलापरेका छन्। यस्तै, ४५० जनाको स्थिति अज्ञात रहेको कोइरालाले जानकारी दिए।

उनका अनुसार मानव बेचबिखनमा संलग्नलाई कानुनी दायरामा ल्याउन र पीडितलाई न्याय दिलाउन संस्थाले निरन्तर कानुनी सहायता प्रदान गर्दै आएको छ।

गत वर्ष मानव बेचबिखन तथा ओसारपसारविरुद्धका तीन मुद्दामा पीडित र प्रभावितलाई माइती नेपालले प्रत्यक्ष कानुनी सहायता उपलब्ध गराएको थियो।

प्रकाशित: २२ भदौ २०८३ ११:०१ | Monday, September 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast