रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं १ ढुंगेबजारस्थित त्रिशूली नदी आसपासको प्रभावित क्षेत्र। तस्बिर : रासस
काठमाडौँ- रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा परी मृत्यु हुनेको संख्या ५४७ पुगेको छ। विभिन्न जिल्लाबाट अहिलेसम्म एक जना प्रहरीसहित ५४७ जनाको शव फेला परेको नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार रसुवामा १३, धादिङमा ४०, तनहुँमा २९, नुवाकोटमा ३८, गोरखामा ४४, चितवनमा २२१, नवलपरासीपूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म एक हजार ४७३ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबाट तीन जना रहेका उनले जानकारी दिए।
बाढीमा परी घाइते भएकालाई विभिन्न स्थानबाट उद्धार गरी केहीलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। प्रहरीका अनुसार काठमाडौँका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका गरी हालसम्म ९४ जना रहेका छन्।
बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भन्सार कार्यालय तथा अध्यागमन कार्यालयका कर्मचारीसमेत सम्पर्कविहीन भएका छन्।
प्रहरीका अनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालय टिमुरेका १५ र अध्यागमन कार्यालय टिमुरेका चार कर्मचारी हालसम्म सम्पर्कविहीन छन्।
बाढीमा परी सर्वसाधारणसहित हालसम्म दुई हजार ३८१ जना सम्पर्कविहीन रहेका प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत सम्बन्धित निकायका सुरक्षाकर्मीले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धारकार्य जारी राखेका छन्।


