काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको भीषण बाढीका कारण त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका सञ्जय साहको १० दिनपछि शुक्रबार जीवितै उद्धार गरिएको छ।
घटना स्थलमै रहेका रास्वपा सांसद श्रीराम न्यौपानेका अनुसार अर्को एक जना कविर महर्जनको पनि उद्धार भएको छ।
नेपाली सेना र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले सुरुङभित्रबाट उनलाई जीवितै उद्धार गरेको हो। बाढीका कारण सुरुङ क्षेत्रमा ठूलो क्षति पुगेपछि उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो।
प्रतिकूल मौसम, सुरुङभित्रको कठिन अवस्था र जोखिमका बीच नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले उद्धार अभियानलाई निरन्तरता दिएका थिए।
दश दिनपछि सुरुङबाट साहलाई जीवितै बाहिर निकाल्न सफल भएपछि घटनास्थलमा उद्धारमा खटिएका टोली तथा आफन्तमा खुसी छाएको छ।


