देउवा नै राष्ट्रपति बन्नुपर्ने प्रचण्ड अडान

हिमाल प्रेस १० फागुन २०७९ २१:२३
38
SHARES
देउवा नै राष्ट्रपति बन्नुपर्ने प्रचण्ड अडान प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र कांंग्रेस सभापति शेरबहादुर देउवा। फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रपति बन्न फेरि आग्रह गरेका छन्।

कांग्रेस नेताहरूसँग बालुवाटारमा बुधबार साँझ भएको छलफलमा प्रचण्डले देउवालाई मुलुकको अभिभावक बन्न आग्रह गरेका हुन्। प्रचण्डले यसअघि पनि देउवालाई राष्ट्रपति बन्न प्रस्ताव गरेका थिए।

फागुन २५ गते मतदान हुने राष्ट्रपति निर्वाचनको प्रक्रिया सुरु भएको छ। निर्वाचन आयोगले बुधबार मतदाता नामावली सार्वजनिक गरेको हो। कार्यतालिकाअनुसार १३ गते मनोनयन दर्ता गर्नुपर्नेछ।

त्यसैले राजनीतिक नेताहरू यति बेला राष्ट्रपति उम्मेदवारको टुंगो लगाउन सक्रिय भएका छन्। यसै विषयमा छलफल गर्न बालुवटार पुगेका कांग्रेस नेतृत्वसँग दाहालले राष्ट्रपतिका रूपमा देउवा नै अघि सर्नुपर्ने अडान राखेकाे कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए। प्रचण्डलाई उधृत गर्दै पौडेलले भने, ‘कांग्रेसबाट देउवा उम्मेदवार भएमा राष्ट्रिय सहमति जुटाउन सजिलो हुनेछ। त्यसैले देउवाजी अघि सर्नुपर्छ।’

प्रचण्डको प्रस्ताव पाँच पटक सरकारको नेतृत्व गरेका देउवाले अब मुलुककाे अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने रहेको कांग्रेस नेताहरूले बताएका छन्। कांग्रेस नेताहरूले छलफल सकारात्मक रूपमा अघि बढेकाले बिहीबार निचोडमा पुग्न सकिने बताएका छन्।

कांग्रेस संसदीय दलका नेतासमेत रहेका सभापति देउवा राष्ट्रपति बनेमा पौडेल आफू संसदीय दलको नेता बन्ने दाउमा छन्। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भने रामचन्द्र पौडेललाई राष्ट्रपतिका रूपमा अघि सार्नुपर्ने प्रस्ताव गरेका छन्। प्रधानमन्त्रीको पद सम्हालिसकेका नेता राष्ट्रपति बन्न नहुने प्रस्ताव शर्माको छ।

प्रचण्डले राष्ट्रपतिका रूपमा देउवालाई अघि बढ्न प्रस्ताव गरे पनि कांग्रेसले कसलाई राष्ट्रपति बनाउने भन्ने टुंगो लगाइसकेको छैन। देउवा राष्ट्रपति निर्वाचित भएमा डडेल्धुरामा उपनिर्वाचन गर्नुपर्ने हुन्छ।

बालुवाटार बैठकमा सहभागी माओवादीका एक नेताले पनि अध्यक्ष प्रचण्डले राष्ट्रपतिका रूपमा देउवालाई नै अघि सर्न आग्रह गरेको जानकारी दिए। ती नेताले भने, ‘अध्यक्षको जोड देउवालाई नै राष्ट्रपतिका रूपमा अघि सार्ने छ। तर पार्टीका अन्य नेता भने यसमा त्यति सकारात्मक छैनन्।’

यद्यपि माओवादी बैठकले राष्ट्रपति राष्ट्रिय सहमतिका आधारमा चयन गर्ने निर्णय गरिसकेको छ। पार्टीले राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने भने पनि राष्ट्रपति उम्मेदवार भने अघि सारेको छैन। प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिएकाले कांग्रेस नेताहरूका पक्षमा सहमति जुट्न सक्ने माओवादीका ती नेता बताउँछन्।

बैठकमा कांग्रेस नेताहरूले पुरानै चुनावी गठबन्धन ब्युँताउनुपर्ने प्रस्ताव राखेका थिए। राष्ट्रपति उम्मेदवार बन्न प्रचण्डले गरेको प्रस्तावबारे देउवाले कुनै जबाफ नदिएको सहभागी अर्का नेताले बताए।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन मुख्य भूमिका खेलेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भने प्रचण्डलाई राष्ट्रपति निर्वाचनबारे अलमल नगर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा यसअघि बुधबारै भएको भएको भेटमा एमाले अध्यक्ष ओलीले सहमतिको कार्यान्वयन गर्ने कि नगर्ने हो भने स्पष्ट जवाफ दिन भनेका थिए। ओली सकेसम्म आफ्नै दलबाट र नभए नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने पक्षमा छन्।

देउवालाई राष्ट्रपति बनाउने प्रचण्डको चाहना


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + sixteen =