रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउनुपर्ने कांग्रेस महामन्त्री शर्माको प्रस्ताव

हिमाल प्रेस १० फागुन २०७९ १७:३५
204
SHARES
रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउनुपर्ने कांग्रेस महामन्त्री शर्माको प्रस्ताव

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने बताएका छन्। उनले बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री भएर कार्यकारी अधिकार प्रयोग गरिसकेका व्यक्तिहरूलाई राष्ट्रपति उम्मेदवारका रूपमा अघि सार्नु उचित नहुने बताए।

शर्माले भने, ‘शेरबहादुर देउवा, माधवकुमार नेपाल, बाबुराम भट्टराईले कार्यकारी अधिकार प्रयोग गरिसकेर देशको प्रधानमन्त्रीको नेतृत्व गरिरहनुभएको छ। त्यसकारण उहाँहरूसमेतको सहभागिता र समर्थनमा रामचन्द्र पौडेल वा अन्य नेताहरूलाई अगाडि सारेर जानु बढी उचित हुन्छ।’ उनले पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपति बन्ने आकांक्षा नराख्न पनि अनुरोध गरे।

महामन्त्री शर्माले आफूले पहिलो शेरबहादुर देउवालाई राष्ट्रपति बनाउने प्रस्ताव गर्दा पार्टीका नेताहरू कार्यकारी अधिकार प्रयोग गरिसकेका पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपति बनाउन नहुने पक्षमा रहेको बताए।

शर्माले भने, ‘मैले शेरबहादुर देउवालाई राष्ट्रपति बनाऊँ भनेको हुँ। तर साथीहरूसँगको छलफलपछि म के कुरामा सहमत भएँ भने देशको प्रधानमन्त्री भइसकेर, कार्यकारी अधिकार प्रयोग गरिसकेका कुनै पनि पूर्वप्रधानमन्त्रीहरूले राष्ट्रपति बन्ने आकांक्षातर्फ जानु अझ उहाँहरूलाई अगाडि सार्नु त्यति उचित नहोला।’

उनले पुरानो गठबन्धन ब्युँतिँदा जनमतको कदर हुने पनि बताए। उनले जनताको बीचमा सँगसँगै जान्छौँ भनेर गरिएको वचनबधता पूरा गरी जनमतको कदर गर्नुपर्ने पक्षमा कांग्रेस रहेको बताए। संसद् विघटन गरेर प्रतिगमनतर्फ लम्किएका ओलीलाई सच्याउन एक भएजस्तै माधव नेपाल, प्रचण्ड, शेरबहादुर देउवा फेरि एक ठाउँमा आउनुपर्ने शर्माले बताए।

संसद्को दोस्रो ठूलो दलले सभामुख र तेस्रो ठूलो दलले प्रधानमन्त्रीको पद लिएको अवस्थामा संसदको पहिलो दल हुनुका नाताले कांग्रेसले राष्ट्रपतिको पद पाउनुपर्ने शर्माको भनाइ छ।

शर्माले भने, ‘संसद्‌मा तेस्रो दलले देशको प्रधानमन्त्रीको जिम्मेवारी लिइरहेको छ। दोस्रो दलले संसद्को सभामुखको जिम्मेवारी लिइरहेको छ भने पहिलो दलले देशको राष्ट्रपति लिने कुरा स्वाभाविक देखिन्छ।’ शर्माले प्रधानमन्त्रीले सिंहदरबार र बालुवाटारबाट चलाउनुपर्छ भन्ने हो भने राष्ट्रपतिमा कांग्रेस पार्टीको उम्मेदवारलाई समर्थन गर्नुपर्ने शर्माले बताए।

उनले भने, ‘नेपाली कांग्रेस पार्टीले राष्ट्रपति पदमा राष्ट्रिय सहमति नै हुनुपर्छ भनेर हामीले अफिसियली भनेकै छैन। राष्ट्रपति पदमा हाम्रो उम्मेदवारी रहन्छ। र अहिलेको बेलामा नेपाली कांग्रेस पार्टीले सार्ने उम्मेदवारलाई गठबन्धनमा रहेको दलमध्येको माओवादी पार्टी जसको अध्यक्ष यो देशको प्रधानमन्त्री हुनुहुन्छ। उहाँले समेत समर्थन गरेर जाँदै गर्दा त्यसले केही सन्देश दिन्छ भन्ने कुरामा हामी प्रस्ट छौँ।’

महामन्त्री शर्माले राष्ट्रपति पदलाई सुनको बालासँग तुलना गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैलाई सुनको बाला देखाएको बताए। ओलीले माधवकुमार नेपाल, झलनाथ खनाल र महन्थ ठाकुरलाई प्रधानमन्त्रीको पद देखाएर अल्मल्याउन खोजेको उनको भनाइ छ।

राष्ट्रपति निर्वाचनको सन्दर्भमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल एक ठाउँमा आउनुपर्ने धारण महामन्त्री शर्माको छ।

उनले भने, ‘सुनको बाला देखाउने भनेर कमरेड केपी ओलीले कांग्रेसलाई भन्नुहुन्थ्यो। सुनको बाला निकैवटा छ कि क्या हो? तपाईँको बालकोटमा! कहिले उहाँ माधव कमरेडलाई देखाउनुहुन्छ। कहिले झलनाथ कमरेडलाई देखाउनुहुन्छ। कहिले महन्थ कमरेडलाई देखाउनुहुन्छ। उहाँको सुनको बालाको कुरामा अल्मल्लिनु हुँदैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 12 =