नयाँ वर्षमा ६ फिल्म भिड्दै, सिनेबजारमा कस्तो पर्ला प्रभाव?

सुस्मिता बजगाईं ८ फागुन २०७९ १३:२१
190
SHARES
नयाँ वर्षमा ६ फिल्म भिड्दै, सिनेबजारमा कस्तो पर्ला प्रभाव?

कतिपय फिल्मकर्मी हलमा एकैपटक ६ वटा फिल्म चल्दा दर्शक बाँडिने भएकाले सिने क्षेत्रमा नकारात्मक असर पर्ने बताउँछन्। तर कतिपय भने दर्शकको रुचिमा भर पर्ने भएकाले यसले खासै फरक नपर्ने धारणा राख्छन्।

काठमाडौँ– कोभिड-१९ महामारीका कारण सुस्ताएको नेपाली सिने उद्योग बिस्तारै तंग्रिँदै छ। फिल्म क्षेत्रले गति लिएकै कारण अचेल प्रायः सातामै दुइटा फिल्म प्रदर्शनमा आइरहेका छन्।

पछिल्लो समय ‘कबड्डी ४ : द फाइनल म्याच’, ‘प्रकाश’, ‘प्रेम गीत ३’, ‘झिंगेदाउ’, ‘ए मेरो हजुर ४’, ‘के घर के डेरा’, ‘दुई नम्बरी’, ‘महापुरुष’लगायत व्यावसायिक रूपमा सफल भए। यसपछि उत्साहित फिल्मकर्मीले हलिउड, बलिउड फिल्मसँग नेपाली फिल्म भिडाइरहेका छन् नै, नेपाली फिल्मले पनि एकापसमा प्रतिस्पर्धा गरिरहेका छन्।

यसपालि नयाँ वर्ष २०८० मा एक, दुई वा तीन होइन ६ वटा फिल्म प्रदर्शनमा आउँदैछन्- ‘नाइँ नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जारी’, ‘बिहे पास’, ‘बुलाकी’, ‘भगवत् गीता’। अर्थात् यी ६ वटा फिल्म नयाँ वर्षमा प्रतिस्पर्धामा उत्रिनेछन्।

एक त नयाँ वर्ष त्यसमाथि शुक्रबार

पछिल्लो समय नेपाली नयाँ वर्ष महत्त्वका साथ मनाइँदै आएको छ। कसैले घुमेर त कसैले फिल्म हेरेर नयाँ वर्ष मनाउने गरेका छन्। दर्शकको यही चाहनालाई ‘क्यास’ गर्न फिल्मकर्मीले नयाँ वर्षको छेको पारेर फिल्म प्रदर्शन गर्ने घोषणा गरेका छन्।

सामान्यतया हरेक साता शुक्रबार नयाँ फिल्म प्रदर्शनमा आउँछ। २०८० वैशाख १। एक त नयाँ वर्ष त्यसमाथि शुक्रबार। फिल्म प्रदर्शनमा ल्याउन यो भन्दा उपयुक्त अवसर अरू हुनै नसक्ने अभिनेता दयाहाङ राई बताउँछन्।

‘नयाँ वर्षको दिन भएकाले नयाँ ऊर्जासहित निर्माण टोलीले सो मिति घोषणा गर्नु स्वाभाविक हो,’ उनले भने, ‘यसपालि नयाँ वर्षमा शुक्रबार परेकाले पनि अपेक्षा बढेको हुन सक्छ।’

एउटै अभिनेताका दुइटा फिल्म

नयाँ वर्षका दिन दयाहाङ राईका दुईवटा फिल्म प्रदर्शनमा आउनेछन्। प्रवेश पौडेल निर्देशित ‘बिहे पास’ र उपेन्द्र सुब्बाको निर्देशन रहेको ‘जारी’ वैशाख १ मा सिनेमा हलमा लाग्नेछन्।

आफूले अभिनय गरेका दुई फिल्म एकापसमा भिड्दा पनि कुनै अप्ठ्यारो नहुने दयाहाङले बताए। ‘दुइटा फिल्म सँगै प्रदर्शनमा आउँदा झन् मजा हुने रहेछ,’ उनले हाँस्दै भने, ‘एकैपटक दुइटाको प्रमोसन गर्न सजिलो हुन्छ। समय बचत हुन्छ।’

‘कुन फिल्म चल्छ र कुन चल्दैन’ भन्ने कुरा दर्शकको रुचिमा भर पर्ने उनको भनाइ छ। ‘फिल्म सफल हुनुमा कथाको महत्त्वपूर्ण भूमिका हुन्छ,’ उनले भने, ‘दर्शकले जुन फिल्मको कथा मन पराउँछन्, त्यही फिल्म चल्छ।’

पछि सर्‍यो ‘बुलाकी’

पछिल्लोपटक वैशाख १ मा आउने घोषणा गरेको फिल्म हो, ‘बुलाकी’। लक्ष्मण सुनार निर्देशित फिल्म यसअघि फागनु १९ मा रिलिज हुने भनिएको थियो। माघ २२ मा नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले फिल्मको नयाँ प्रदर्शन मिति तोकेको हो।

‘वैशाख १ मा लाग्ने भनिएका फिल्म प्रदर्शनको सम्भावना कम देखिएकाले नयाँ वर्षमा मिति सारेका हौँ,’ निर्देशक लक्ष्मण सुनारले भने, ‘घोषणा भएका कतिपय फिल्मको निर्माण सकिएको छैन। त्यसैले ती फिल्म त्यस मितिमा आउने सम्भावना कमै छ।’

त्यही मितिमा दीपकराज गिरी, दीपाश्री निरौलालगायत कलाकार अभिनीत ‘छक्का पञ्जा ४’ र अनमोल केसी मुख्य भूमिकामा रहेको फिल्म ‘छड्के २’ आउने भएपछि ‘बुलाकी’ को प्रदर्शन मिति सारिएको सुनारले बताए। ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ भिड्ने पक्का भएपछि फिल्मको मिति सार्ने निर्णय गरेका हौँ,’ उनले भने।

टुंगो नलागेको ‘भगवत् गीता’

सानो भिडियो सार्वजनिक गर्दै सबैभन्दा पहिले वैशाख १ मा प्रदर्शन मिति घोषणा गर्ने फिल्म हो, ‘भगवत् गीता’।  फिल्मको छायांकन हालै सुरु भएको छ। झरना थापाको निर्देशन रहेको फिल्मको छायांकन जनकपुरमा केही दृश्य खिच्दै सुरु भएको हो। फिल्ममा सुहाना थापा र धीरज मगरसँगै विपिन कार्की मुख्य भूमिकामा छन्। फिल्मको छायांकनपछि मात्र प्रदर्शन मिति टुंगो लाग्ने निर्माण पक्षको भनाइ छ।

फिल्म ‘जारी’का निर्देशक उपेन्द्र सुब्बा एकै मितिमा धेरै फिल्म प्रदर्शनमा आउँदा खासै अप्ठ्यारो नहुने बताउँछन्। ‘हाम्रो फिल्मको सबै काम सकिएर तयारी अवस्थामा छ,’ उनले भने, ‘साँच्चै भन्ने हो भने फिल्मको सबै काम पहिल्यै सकिएको हो। कोरोनाले अड्किएको मात्रै हो।’

प्रदर्शन मिति तोकिसकेपछि पछाडि हट्न नहुने निर्देशक सुब्बाको भनाइ छ। उनले भने, ‘कथा मन पर्‍यो भने दर्शकले हाम्रो फिल्म अवश्य रुचाउँछन्।’

सुब्बाको भनाइमा ‘बिहे पास’का निर्देशक प्रवेश पौडेल पनि सहमति छन्। उनी संयोगले एकै अभिनेताको फिल्म जुध्न पुगेको बताउँछन्। उनी भन्छन्, ‘हामी जानकार भएर होइन संयोगले एकै दिन पर्न गएको हो।’ विगतमा पनि एकै अभिनेताका फिल्म लागेकोले नौलो नभएको उनले बताए। उनका अनुसार बिहे पासको टिजर केही दिनमा आउने तयारी छ। यो फिल्म पनि कोरोना महामारीको चपेटामा परेर रोकिएको थियो।

फिल्म ‘नाइँ नभन्नू ल ६’ पनि तोकिएको दिन हलमा लाग्ने निर्देशक विकास आचार्य बताउँछन्। ‘तोकिएको दिनमै फिल्म हलमा लाग्नेमा दुईमत छैन,’ उनले भने। निर्देशक आचार्यका अनुसार फिल्मको केही छायांकन गर्न बाँकी छ। निर्माण पक्ष केही हप्तामा फिल्मको टिजर र ट्रेलर सार्वजनिक गर्ने तयारीमा रहेको आचार्यले बताए।

सोही मितिमा पछि फिल्म प्रदर्शन गर्ने घोषणा गरेका फिल्मकर्मीले नेपाली सिनेमा जगत्‌को अवस्था बुझेर आउनुपर्ने उनको भनाइ छ। ‘नयाँ वर्षको दिन दर्शक अलि बढी आउने अपेक्षाले होला धेरैले यही मिति रोजेको,’ उनले भने।

तर यस्तो प्रवृत्तिले नेपाली फिल्म क्षेत्रको प्रगतिमा बाधा पुर्‍याउने उनको बुझाइ छ। ‘यसरी वर्षको सुरुवातमै दर्शक बाँडिँदा आगामी दिनमा यसले सिनेमा क्षेत्रमा राम्रो परिणाम ल्याउँदैन,’ उनले भने, ‘एकै दिन दुइटा फिल्म चल्दा त दर्शक बाँडिएका हुन्छन्। जति धेरै फिल्म उति असर निर्माण पक्षलाई पर्छ। त्यसैले यसबारे सबैले बेलैमा सोच्नुपर्छ।’

सुरुमा एउटा मिति घोषणा गर्ने र पछि सार्ने प्रवृत्तिले पनि यस्तो भएको निर्देशक आचार्यको भनाइ छ।

‘सुरुमा एउटा मिति तोक्ने र पछि त्यो मितिमा प्रदर्शन नगर्ने प्रवृत्ति पछिल्लो समय बढेको छ,’ उनले भने, ‘सबैलाई राम्रो मितिमा फिल्म प्रदर्शन गर्नु छ। सुरुमा मिति तोक्ने अन्तिममा पछि हट्ने प्रवृत्तिले पनि अप्ठ्यारो भएको हो।’

घोषित भएका जति सबै फिल्म नलाग्न पनि सक्ने उनको बुझाइ छ। ‘घोषणा भएकाजति सबै फिल्म प्रदर्शनमा आउँछन् भन्ने छैन,’ आचार्यले भने, ‘तर जति आउँछन्, तिनको मूल्यांकन दर्शकले गर्नेछन्।’

‘प्रसाद २’ का निर्देशक सुदर्शन थापा भने वैशाख १ मा फिल्मको बाढी आएकाले सोचविचार गरेर अघि बढ्नुपर्ने बताउँछन्। ‘फिल्मको सबै कार्य सकाएर नयाँ वर्षका दिन आउने तयारीमा छौँ,’ उनले भने, ‘वैशाख आउन अझै केही समय बाँकी छ। अवस्था हेरेर अघि बढ्छौँ।’

एकैपटक पाँच-छ फिल्म हलमा लाग्दा फिल्मको महत्त्व कम हुने उनले बताए। ‘यसो हुँदा दर्शक त बाँडिन्छ नै फिल्मकर्मीले फिल्म बनाउन दिनरात गरेको मेहनतको पनि कदर हुँदैन,’ उनले भने।

तर ‘बुलाकी’ निर्देशक लक्ष्मण सुनारको भनाइ भने निर्देशक थापाभन्दा फरक छ। ‘अन्य फिल्म प्रतिस्पर्धामा नहुँदा पनि फिल्म फ्लप भएका उदाहरण छन्,’ उनले भने, ‘फिल्म प्रतिस्पर्धाले होइन कथा, कलाकार, प्रस्तुतिले चल्ने हो। दर्शकले कुन फिल्म किन मन पराउँछन् भन्ने कुरा थाहै हुन्न।’

फिल्मको प्रचारप्रसार गर्दा टिजर, ट्रेलरमा प्रदर्शन मितिबारे दर्शकको ध्यान तान्न सकेमा जुनसुकै फिल्म चल्न सक्ने उनको बुझाइ छ। पहिले मिति घोषणा गर्ने र पछि सार्ने प्रवृत्तिले फिल्म क्षेत्रमा आएका नयाँ निर्मातालाई तर्साउने काम भइरहेको उनको दाबी छ।

‘यस क्षेत्रमा जमिसकेकाहरूले सुरुमा प्रदर्शन मिति घोषणा गर्ने पछि सार्ने गरेर नयाँ निर्देशकलाई तर्साउन काम गरिरहेका छन्,’ उनले भने, ‘फिल्म आउने टुंगो हुँदैन, मिति घोषणा गरेर हामीजस्ता नयाँलाई तर्साइन्छ।’

प्रकाशित: ८ फागुन २०७९ १३:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =