कांग्रेस नेता अफताब आलमविरुद्ध जन्मकैदको फैसला

हिमाल प्रेस १३ वैशाख २०८१ १९:४९
178
SHARES
कांग्रेस नेता अफताब आलमविरुद्ध जन्मकैदको फैसला

काठमाडौँ- पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहम्मद आफ्ताब आलमसहित ४ जनालाई रौतहट जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ।

कर्तव्य ज्यान सम्बन्धी कसुर ठहर गर्दै अदालतले उक्त सजाय सुनाएको हो।  अफताब आलमसँगै उनका भाइ मोहम्मत महताब, बद्री सहनी र शेख सराजविरुद्ध जन्मकैदको फैसला आएको हो।

यो सजाय पाउनेमा अर्का अभियुक्त शेख सर्राफ पनि छन्। फरार रहेका ६ जनाको हकमा मुद्दा मुल्तबीमा राख्ने निर्णय अदालतले सुनाएको छ। अभियुक्त फेला परेपछि उनीहरूको हकमा पनि मुद्दा ब्युँतिनेछ।

यही मुद्दाका अभियुक्त मुक्ति सहनीले भने सफाइ पाएका छन्। न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले उनलाई दोषी ठहर गरेको हो। संविधानसभा निर्वाचनताका २०६४ चैत २७ गते रौतहटको साविक राजपुर फरहदवा–४ मा रहेको कांग्रेस उम्मेदवारसमेत रहेका मोहम्मद अफताब आलमको घरमा बम विस्फोट भएको थियो।

त्रास देखाएर बुथ कब्जा गरी चुनाव जित्ने रणनीतिमा रहेका मोहम्मद आफ्ताब आलमले बनाउन लगाएको बम विस्फोट हुँदा पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएका थिए। आलमले बम बनाउन भारतीय नागरिकलाई बोलाएको आरोप छ।

आफन्तको गोठमा बम बनाउँदै गरेका उनीहरू घाइते भएपछि आफ्नो योजनाको पोल खुल्ने डरले उनीहरूसहित २३ जनालाई आलमले आफ्नै इँटाभट्टाको चिम्नीमा जीउँदै हालेर जलाएको अभियोग थियो।

उक्त घटनाको १२ वर्षपछि २०७६ असोज २६ मा मात्र उनी पक्राउ परेका थिए। उक्त घटनापछि नै उनी रौतहट क्षेत्र नम्बर २ बाट दुईपटक सांसद र एकपटक श्रम तथा यातायात मन्त्री भइसकेका थिए।

पहिलो संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम बिस्फोटको घटना र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा नेता आलम, उनका भाइ मोहम्मद महताब आलम र शेख सराजसहित ११ जनाविरुद्ध ०७६ साल कात्तिक १८ गते मुद्दा दर्ता भएको थियो।

थुनछेक बहसपछि २०७६ कात्तिक २९ मा जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो। उनी अहिले नख्खु कारागामा छन्।

कांग्रेस नेता अफताब आलमविरुद्धको मुद्दाको सुनुवाइ सकियो, आजै फैसला आउने

प्रकाशित: १३ वैशाख २०८१ १९:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 3 =