काठमाडौँ– महाशिवरात्रिको पूर्वसन्ध्यामा काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा चहलपहल बढेको छ। महाशिवरात्रिका लागि भक्तजनलगायत साधुसन्तहरूको आगमनसँगै यहाँ चहलपहल बढेको हो।
यसपटक पशुपतिनाथ मन्दिरमा २० लाख दर्शनार्थीले दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने पशुपति क्षेत्र विकास कोषको अनुमान छ।
भक्तजनहरूलाई सहज रूपमा पशुपतिनाथको दर्शन गराउन विभिन्न स्थानबाट प्रवेश लाइनको व्यवस्था गरिएको छ। कोषले महाशिवरात्रि पर्व व्यवस्थापनका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
महाशिवरात्रिका लागि कोषको निमन्त्रणामा जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शंकराचार्य अनन्त श्री विभूषित निश्चलानन्द सरस्वती बिहीबार नै नेपाल आइसकेका छन्।
पर्वका अवसरमा कोषले पशुपति क्षेत्रलाई रङरोगन गरेको छ भने फूल र बत्तीले पशुपति क्षेत्रलाई सजाइएको छ। दर्शनार्थी मन्दिर प्रांगणबाट बाहिर निस्कने स्थाननजिकै मुख्य क्षेत्रभित्र, जयवागेश्वरी, बज्रघरअगाडि दक्षिण ढोका, तिलगंगामा समेत नेपाल वेद विद्याश्रमका बटुकद्वारा चन्दन वितरणको व्यवस्था मिलाइएको कोषले जनाएको छ।
महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पाशुपत क्षेत्रमा रातीदेखिनै दर्शनार्थीहरूको भिडभाड हुने भएकाले आवश्यकताअनुसार सवारी साधनलाई डाईभर्सन गरिने ट्राफिक प्रहरीले जनाएको छ।