तीजमा पशुपतिनाथ मन्दिर बिहान ३ बजेदेखि खुला रहने, विशेष पासको व्यवस्था नहुने

हिमाल प्रेस २८ भदौ २०८३ १५:५३ | Sunday, September 13, 2026
तीजमा पशुपतिनाथ मन्दिर बिहान ३ बजेदेखि खुला रहने, विशेष पासको व्यवस्था नहुने पशुपतिनाथ मन्दिरमा भक्तजन। फाइल तस्बिर।

काठमाडौँ- पशुपति क्षेत्र विकास कोषले हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर बिहान ३ बजेदेखि खुला रहने र यस वर्ष कुनै पनि प्रकारको विशेष पास वा विशेष दर्शनको व्यवस्था नगरिने जनाएको छ।

सोमबार (भदौ २९ गते) पर्ने तीज पर्वलाई व्यवस्थित, सहज र सुरक्षित बनाउन सुरक्षा, दर्शन, स्वास्थ्य तथा स्वयंसेवा व्यवस्थाको विशेष तयारी गरिएको छ।

पर्वका दिन मन्दिरका उत्तर, पूर्व, दक्षिण र पश्चिम गरी चारै ढोका बिहान ३ बजेदेखि खोलिनेछन्। उत्तर, पूर्व र दक्षिण ढोकामा पारदर्शी जालीमार्फत दर्शन गर्ने व्यवस्था मिलाइएको छ।

पुरुष दर्शनार्थीका लागि बिहान ५:३० बजेभित्र दर्शन सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ भने कोर क्षेत्रमा पुरुष प्रवेश यसअघि झैँ निषेध गरिएको कोषले जनाएको छ।

दर्शन व्यवस्थालाई सहज बनाउन मन्दिर बाहिर पाँच वटा मूल लाइन र परिसरभित्र आठ वटा लाइन सञ्चालन गरिनेछ। एकपटकमा आठ जनाले दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको कोषले जनाएको छ।

मित्रपार्क-उमाकुण्ड, गौशाला-जयबागेश्वरी, सिनामंगल-एयरपोर्ट र पिङ्गलास्थान मार्गबाट भक्तजनलाई दर्शनका लागि प्रवेश गराइने व्यवस्था मिलाइएको छ।

सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नगर प्रहरीको संयुक्त कमाण्ड पोस्ट सञ्चालन हुनेछ।

पशुपति क्षेत्रलाई मांस, मदिरा तथा अन्य लागुपदार्थ निषेधित क्षेत्र कायम राखिएकाले बिक्रीवितरण र सेवनमा कडा निगरानी गरिनेछ।

पाकेटमारी तथा अन्य अवाञ्छित गतिविधि रोक्न सादा पोसाकका प्रहरी परिचालन गरिनुका साथै थप सीसीटीभी क्यामेरा जडान गरिएको कोषले जनाएको छ।

मूल मन्दिर परिसरभित्र मोबाइल वा क्यामेराबाट फोटो तथा भिडियो खिच्न पूर्ण प्रतिबन्ध लगाइएको छ। उल्लंघन गरेमा जरिवाना र उपकरण जफत गरिने चेतावनी कोषले दिएको छ।

दक्षिणामूर्ति, भुवनेश्वरी नासलचोक, पञ्चदेवाल तथा राम मन्दिर क्षेत्र आसपास जुत्ताचप्पल राख्ने कक्ष सञ्चालन गरिनेछन्।

विशिष्ट व्यक्ति तथा सुरक्षा निकायका लागि कोष कार्यालय परिसर, भण्डारखाल, सिफल चौर, बनकाली र तिलगंगा क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ भने उमाकुण्ड पार्किङ बन्द रहनेछ।

कुलानन्द झा सत्तलको डबलीमा मुख्य स्वास्थ्य शिविर र एम्बुलेन्स तयारी अवस्थामा राखिने कोषले जनाएको छ।

बहुमूल्य गहना नलगाई आउन, साना बालबालिकालाई सकेसम्म साथमा नल्याउन र ल्याउनै परेमा अभिभावकको सम्पर्क नम्बर भएको परिचयपत्र साथमा राख्न कोषले अनुरोध गरेको छ।

प्रकाशित: २८ भदौ २०८३ १५:५३ | Sunday, September 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast