लामाचौर तीज महोत्सव हुने

हिमाल प्रेस ८ साउन २०८३ ११:२९ | Friday, July 24, 2026
4
SHARES
लामाचौर तीज महोत्सव हुने

पोखरा- नवआदर्श सामुदायिक विकास समाज, लामाचौरको आयोजनामा यस वर्ष पनि ‘लामाचौर तीज महोत्सव-२०८३’ हुने भएको छ।

संस्थाको ३० औं वार्षिकोत्सव समारोह एवं तीज अवसरमा आगामी भदौ २७ देखि २९ सम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा सो महोत्सव हुन लागेको हो।

संस्थाका अध्यक्ष दिनेश भण्डारीले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको जानकारी दिए।

‘मौलिक संस्कृतिको जगेर्ना गरौं’ उद्घोषका साथ आयोजना हुने यो महोत्सव तीज अवसरमा पोखरा आसपासमा हुने विभिन्न मेला महोत्सवमध्ये सबैभन्दा ठूलो मानिन्छ।

यहाँको मुख्य आकर्षण लामाचौर कप भलिबल प्रतियोगिता हो। भलिबल प्रतियोगिता अवलोकन गर्न टाढाटाढाबाट दर्शक यहाँ आउने गर्दछन्।

तीन दिनसम्म संचालन हुने २८ औं संस्करणको लामाचौर तीज महोत्सवमा यसपालि पनि पुरुष भलिबल प्रतियोगितासहित लामाचौर कप अन्तरमावि छात्रा भलिबल प्रतियोगिता, अन्तरमहिला समूह तीज गीत प्रतियोगिता, अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता, औद्योगिक तथा विभिन्न व्यापारिक स्टलहरू, कलाकारको दैनिक सांस्कृतिक प्रस्तुतसमेत हुनेछ।

विभिन्न प्रतियोगिताका विजयीलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। इन्द्रराज्यलक्ष्मी मावि प्रवर्द्धन  रहेको महोत्सवको मुख्य सहयोगी बानियाँ सपिङ सेन्टर लामाचौर हो।

अन्य प्रायोजक एवं सहयोगीहरू जोडिने क्रम जारी रहेको संस्था अध्यक्ष एवं मूल आयोजक समिति संयोजक भण्डारीले जनाए।

आयोजकले महोत्सवको बचत रकम आकस्मिक सेवा तथा तीज महोत्सव संचालन कोष वृद्धिका लागि थप गर्दै आएको छ।

संस्थाले सर्वसाधारणको सुविधाका लागि लामो समयदेखि एम्बुलेन्स तथा शव वाहन पनि सञ्चालन गर्दै आएको छ भने गोस्तेघाटमा फुटबल मैदान नै निर्माण गरेको छ।

प्रकाशित: ८ साउन २०८३ ११:२९ | Friday, July 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast