स्वास्थ्य स्वयंसेविकाले दिए दरखाने खर्च बाढीपीडितलाई

हिमाल प्रेस २८ भदौ २०८३ १४:५४ | Sunday, September 13, 2026
स्वास्थ्य स्वयंसेविकाले दिए दरखाने खर्च बाढीपीडितलाई

काभ्रेपलाञ्चोक- पाँचखाल नगरका सामुदायिक स्वास्थ्य स्वयंसेविकाद्वारा तीजको दरखाने पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।

पाँचखाल-३, ४, ५ र ६ का स्वयंसेविकाले यही भदौ १० गते रसुवाको भोटेकोशी बाढीपीडितका लागि रु १५ हजार ५४५ सहयोग गरेका हुन्।

बाढी प्रभावितका लागि केही राहत होस् भन्ने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविका ‘दिदीबैनी-समूह’द्वारा गरिने दरखाने कार्यक्रमबाट उक्त रकम छुट्याएर राहत कोषमा जम्मा गरिएको समुहको सदस्य सरस्वती भेटवालले बताइन्।

यसैगरी, नमोबुद्ध नगरका महिलाहरूले गत साता यस वर्षको तीज विशेष कार्यक्रम नगरी बाढीपीडितको सहयोगका लागि रु ९१ हजार ३४५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।

महिलाहरूले बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग गर्ने उद्देश्यले नगर महिला, बालबालिका तथा समाजकल्याण उपशाखाको नेतृत्वमा रकम जम्मा गरेका हुन्।

नगरको महिला सञ्जालले तीजको खर्च कटाएर कोषमार्फत पीडितलाई सहयोग गर्ने निर्णय गरेको थियो।

भोटेकोशी बाढीमा विभिन्न काम तथा भ्रमणका सिलसिलामा रहेका ३७ काभ्रेपलाञ्चोकका नागरिक सम्पर्कविहीन अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय धुलिखेलले जनाएको छ।

कार्यालयका अनुसार हालसम्म जिल्लाका ४७ बेपत्तामध्ये आठ जना परिवारको सम्पर्कमा आएका छन् भने दुई जनाको शव भेटिएको छ।

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो मात्रामा जनधनको क्षति पुगेको थियो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त बाढीबाट हालसम्म एक हजार ३८५ को शव फेला परेको छ भने पाँच हजार १३० बेपत्ता भएका छन्।

यस्तै, १३ हजार ६७६ को उद्धार गरिएको तथा सात हजार ६५५ जना घाइते भएको प्राधिकरणले जनाएको छ।

प्रकाशित: २८ भदौ २०८३ १४:५४ | Sunday, September 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast