काठमाडौँ- सौरमासअनुसार साउनको दोस्रो सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनको दर्शन र पूजाआजा सहज र व्यवस्थित बनाइएको छ।
साउनको पहिलो सोमबारमा देखिएका केही व्यवस्थापकीय कमजोरी सुधार गरिएकाले श्रद्धालुले अपेक्षाकृत कम समयमै दर्शन गर्न पाएको जनाएका छन्।
भक्तपुरको सिरुटारबाट दर्शनका लागि आएकी रन्जना अवस्थीले यसपटक विभिन्न स्थानमा अस्थायी आकाशे पुल निर्माण गरी दर्शनार्थीको आवतजावत व्यवस्थित बनाइएको पाइएको बताइन्।
पशुपति क्षेत्र विकास कोषले भक्तजनको सुविधालाई ध्यानमा राख्दै शंकराचार्य मठमुनि जुत्ता–चप्पल राख्ने व्यवस्था मिलाएको छ। दर्शनार्थी लाम बस्ने स्थानमा कार्पेट बिछ्याइएको छ। भक्तजनहरूले करिब आधा घण्टामै दर्शन गर्न मिल्ने गरी व्यवस्थापन गरिएको छ।
पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठका अनुसार सोमबार बिहान ३ः०० बजेदेखि नै मन्दिरका चारै ढोका खोलिएका थिए। साउने झरीको बेवास्ता गर्दै भक्तजन बिहानैदेखि दर्शनका लागि लामबद्ध भएका थिए। अपराह्नतिर मौसम खुलेपछि चर्को घाममा छाता ओढेर पनि श्रद्धालु लाममा बसेका देखिएका छन्।
कोषले यस वर्ष दर्शन तथा पूजा व्यवस्थापनलाई थप सुरक्षित, सहज र व्यवस्थित बनाउन आवश्यक तयारी पूरा गरेको जनाएको छ। पहिलो सोमबारसम्म सम्पन्न हुन नसकेका व्यवस्थापकीय काम दोस्रो सोमबारअघि नै सम्पन्न गरिएकाले यसपटक दर्शन व्यवस्थापनमा उल्लेखनीय सुधार आएको कोषको भनाइ छ।
दर्शन व्यवस्थापनमा कोषका पदाधिकारी र कर्मचारीसँगै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी तथा विभिन्न धार्मिक र सामाजिक संघसंस्थाका स्वयंसेवक परिचालित छन्।
कोषका सदस्यसचिव तीर्थ श्रेष्ठले साउनका सोमबारमा लाखौँ श्रद्धालुलाई सहज, सुरक्षित, मर्यादित र व्यवस्थित वातावरणमा दर्शन तथा पूजाआराधनाको व्यवस्था मिलाइएको बताए। उनका अनुसार मन्दिरका चारै ढोका राति ८ः०० बजेसम्म खुला रहनेछन्। विशेष पूजा भने बिहान ८ः३० बजेदेखि मध्याह्न १२ः०० बजेसम्म मात्र सञ्चालन हुनेछ।
मन्दिर प्रवेशका लागि चार वटा लामको व्यवस्था गरिएको छ। बिहान ९ः०० बजेसम्म अत्यधिक भीड नभए पनि त्यसपछि भक्तजनको चाप बढ्दै गएको कोषले जनाएको छ।
दर्शनार्थीका लागि प्राथमिक उपचारसहित आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइएको छ। सशस्त्र प्रहरी बललगायत विभिन्न संस्थाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् भने केही संस्थाले निःशुल्क खानेपानी वितरण गरिरहेका छन्।
पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, मक्खन महादेवलगायत प्रमुख शिवालयमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। देशका अन्य शिवमन्दिरमा पनि श्रद्धालुले पूजाआराधना र दर्शन गरेका छन्।
सौरमासअनुसार आज साउनको दोस्रो सोमबार परे पनि चान्द्रमासअनुसार आगामी सोमबारदेखि मात्र श्रावण महिना प्रारम्भ हुनेछ। बृहस्पति अस्त भएको तथा चान्द्रमासअनुसार श्रावण सुरु नभएकाले विगतका वर्षको तुलनामा भक्तजनको संख्या केही कम देखिएको हुनसक्ने पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले बताए।
यसैबीच, साउनको दोस्रो सोमबारका अवसरमा पशुपति क्षेत्रको सरसफाइलाई प्राथमिकता दिँदै नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेश समितिले दर्जनौँ स्वयंसेवक परिचालन गरेको छ। फोहर झर्नेबित्तिकै संकलन गरी तत्काल व्यवस्थापन गर्ने गरी स्वयंसेवक परिचालन गरिएको प्रदेश समितिका अध्यक्ष गणेश भट्टराईले जानकारी दिए।
उनका अनुसार लाखौँ श्रद्धालुको आवागमनका कारण जम्मा हुने फोहर तत्काल व्यवस्थापन गरी पशुपति क्षेत्रको स्वच्छता र पवित्रता कायम राख्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।


