लिम्बुवानलाई पार्टी एकता गर्न जसपा-नागरिक उन्मुक्तिको प्रस्ताव

हिमाल प्रेस २४ माघ २०७९ ७:२३
8
SHARES
लिम्बुवानलाई पार्टी एकता गर्न जसपा-नागरिक उन्मुक्तिको प्रस्ताव

काठमाडौँ- जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पार्टी एकताका लागि औपचारिक पत्राचार गरेको छ‍। उपेन्द्र यादव नेतृत्वको जसपाले कुमार लिङ्देन नेतृत्वको संलोरामलाई पार्टी एकताका लागि औपचारिक पत्र पठाएको हो।

जसपाले गठन गरेको एकता वार्ता समिति संयोजक राजेन्द्रप्रसाद श्रेष्ठले पार्टी एकताका लागि पत्राचार गर्दै औपचारिक आह्वान गरेका हुन् । नीति, सिद्धान्त र विचार मिल्ने दलहरूसँग पार्टी एकताका लागि ठोस कदम अगाडि बढाउने भन्दै जसपा राजनीतिक समितिको गत पुस १८ र १९ गतेको बैठकले निर्णय गरेको थियो ।

पार्टी एकताको सान्दर्भिकता बारे प्रकाश पार्दै पत्रमा भनिएको छ -यस्तो एकताले देशमा परिवर्तनकारी राजनीतिक एजेन्डाहरू स्थापित गर्न, देशलाई अग्रगमनतर्फ डोर्‍याउन र उत्पीडित वर्ग तथा पछाडि परेका महिला, मुस्लिम, आदिवासी जनजाति, मधेसी, खस, थारु, शिल्पी-दलित, अल्पसंख्यक तथा सीमान्तकृत समुदायका अधिकारहरू सुनिश्चित गर्न तथा देशको प्रतिकूल राजनीतिक शक्ति सन्तुलनलाई अनुकूल बनाउन सकिने छ।

देशका परिवर्तनकारी राजनीतिक शक्तिहरूसामु आफ्ना माग र मुद्दाहरूलाई जनतासामु स्थापित गर्न चुनौतीहरू थपिएको जसपाले पत्रमार्फत आकलन गरेको छ । त्यस्ता चुनौतीहरूलाई सामना गर्न सही बाटो र सुदृढ सङ्गठनको आवश्यकता भएको उल्लेख गर्दै पार्टी एकताको वैचारिक आधार पहिचानसहितको संघीयता र समाजवाद हुनुपर्ने भनेको छ ।

जसपाले श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेको वार्ता समिति गठन गरेको हो ।

यसैगरी काराकारमा बन्दी जीवन बिताइ रहेका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले समेत संघीय मञ्चलाई कार्यगत एकता अथवा पार्टी एकीकरणको प्रस्ताव राख्दै औपचारिक पत्र पठाएकी छिन्।

विचार र मुद्दा मिल्ने पार्टीहरूसँग कार्यगत एकता वा पार्टी एकीकरण गर्न इच्छा वा अवधारणा भए यथाशीघ्र वार्ता गर्न अनुरोध गर्दै पत्र पठाएको मञ्चका महासचिव अशोक चेम्जोङ्ले बताए ।

प्रकाशित: २४ माघ २०७९ ७:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − two =