नेकपा एसको केन्द्रीय कमिटी बैठक

यी हुन् नेकपा एस सातौँ दलमा खुम्चिनुका १६ कारण

हिमाल प्रेस २१ माघ २०७९ १७:१५
60
SHARES
यी हुन् नेकपा एस सातौँ दलमा खुम्चिनुका १६ कारण काठमाडौँको बालकुमारीमा शनिबार बसेको नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटीको पाँचौँ बैठक। तस्बिर : रासस

काठमाडौँ- १६ महिनाअघि नेकपा एमालेबाट विद्रोही गरी गठित नेकपा एकीकृत समाजवादी संसद्मा सातौँ दलमा खुम्चिएको छ। थ्रेसहोल्ड कटाउन नसक्दा प्रतिनिधिसभाको समानुपातिकतर्फ एक सिट पनि नपाएको नेकपा एसले प्रत्यक्षमा भने १० सिट जितेको छ।

प्रदेशमा पनि अपेक्षित नतिजा ल्याउन नसकेको नेकपा एस निर्वाचन सकिएको दुई महिनापछि समीक्षमा जुटेको छ। शनिबार बसेको केन्द्रीय कमिटी पाँचौँ बैठकमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा निर्वाचनको परिणाम अपेक्षित नरहेको उल्लेख छ।

वाम-लोकतान्त्रिक गठबन्धनको बहुमत आउला भन्ने आमअपेक्षा रहे पनि परिणाम त्यस्तो नआएको पार्टीको ठहर छ। अध्यक्ष नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ, ‘हाम्रो पक्षमा जुन परिणाम आयो त्यो पनि अपेक्षा गरिएभन्दा फरक हो। प्रत्यक्षतर्फको भन्दा पनि समानुपातिकतर्फको परिणाम अझ बढी अनपेक्षित हो।’

अध्यक्ष नेपालले पार्टीले कमजोर नतिजा ल्याउनुका विभिन्न १६ कारण खोतलेका छन्। ती कारण जस्ताको तस्तै :

१. कार्ययोजना कार्यान्वयन नहुनु : केन्द्रीय परिषद्को २०७९/०३/१३-१४ मा सम्पन्न प्रथम बैठकबाट त्यस अगाडि गठन भएका कमिटीहरू अध्यावधिक गरी अभिलेख व्यवस्थित गर्ने र कमिटी गठन नभएका पालिका तथा वडामा तीन महिनाभित्र कमिटी गठन गरिसक्ने, सदस्यता अद्यावधिक एवं नविकरण गर्ने, पार्टी कमिटी र जनसंगठनमा संगठित तथा स्थानीय तहमा निर्वाचित सबैलाई पार्टीले अँगालेको सिद्धान्त, कार्यनीति र कार्यदिशा, पार्टीको विकास नीतिलगायत विषयमा प्रशिक्षण दिने, पार्टीको प्रचार कार्यलाई व्यवस्थित र प्रभावकारी ढंगले अगाडि बढाउने, पार्टी र जनसंगठनका हरेक कमिटीले निर्वाचन परिचालनका लागि विशेष आर्थिक कोष निर्माण गर्ने, विभिन्न प्रकारका जनजागरण अभियान सञ्चालन गर्ने र सम्पूर्ण रूपमा निर्वाचनको तयारीमा जुट्ने जुन कार्ययोजना तय गरिएको थियो त्यसको कार्यान्वयन नै भएन। त्यस कार्ययोजनाको राम्ररी कार्यान्वयन गरिएको भए निश्चय पनि यस्तो परिणाम भोग्नुपर्ने थिएन।

२. पार्टी पंक्ति परिचालित नहुनु : केन्द्रीय परिषद्को बैठकबाट तय गरिएको कार्ययोजना कार्यान्वयन नभएको मात्र होइन त्यसबेला हामीसँग जुन संगठित जनशक्ति थियो त्यो पनि सम्पूर्ण रूपमा परिचालित भएन। ्पा

पार्टी र विभिन्न जनसंठनका कमिटीहरूमा संगठित एक लाख ६६ हजार ४२६ जना र विभिन्न जनसंगठन, पेसाागत संगठन, सामुदायिक संगठन र प्रवासी संगठनमा समेत संगठित जनशक्ति सानो थिएन तर त्यो परिचालित भएन।

केन्द्रीय परिषद्को बैठकपछि जारी गरिएको अपानि ७ मा पार्टी र जनसंगठनका सबै कमिटीलाई निर्वाचन अभियानमा सम्पूर्ण रूपले परिचालित हुन र पार्टी केन्द्रीय कमिटीका सदस्यहरू, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरू, केन्द्रीय सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्यहरू, केन्द्रीय परिषद्का सदस्यहरू र जनवर्गीय संगठनका केन्द्रीय पदाधिकारी एवं सदस्यहरू सबै एउटा निश्चित निर्वाचन क्षेत्रमा केन्द्रित भएर काम गर्न निर्देशनसमेत गरिएको थियो तर त्यसअनुसार पार्टी पंक्ति परिचालित भएन। उपर्युक्त जनशक्ति सबै चुनाव प्रचार अभियानमा परिचालित भएको भए अवश्य पनि यस प्रकारको कमजोर परिणाम आउने थिएन।

३. गठबन्धनका दलबाट पूर्ण सहयोग नहुनु : यसपटक हामी गठबन्धनमा रहेर चुनाव लडेका थियौँ र हम्रोतर्फबाट गठबन्धनका सबै उम्मेदवारहरूलाई पूर्ण रूपमा सहयोग भएको थियो तर त्यही गठबन्धनमा रहेका अन्य दलहरू, खासगरी नेपाली कांग्रेस र माओवादी केन्द्रबाट भने धेरै निर्वाचन क्षेत्रमा हाम्रा उम्मेदवारहरूलाई पूर्ण सहयोग भएन।

उक्त दुवै पार्टीले गठबन्धनबाट हाम्रो पार्टीलाई छुट्याइएका केही क्षेत्रमा पार्टीको टिकटमा नै उम्मेदवार उठाएका थिए भने धेरै क्षेत्रमा तिनै पार्टीबाट बागी उम्मेदवार खडा भएका थिए र कतिपय क्षेत्रमा हाम्रो प्रतिस्पर्धामा रहेका उम्मेदवारलाई मत दिने कामसमेत भएको थियो। गठबन्धनमा रहेका दलहरूबाट भएको यस प्रकारको असहयोगले हाम्रो पक्षमा आउनुपर्ने परिणाम आउन सकेन।

४. उम्मेदवारी नपाउनेको असन्तुष्टि : हाम्रो पार्टी पंक्तिमा व्यक्तिले आपूmलाई केन्द्रविन्दुमा राखेर सोच्ने र व्यवहार गर्ने प्रवृत्ति ज्यादा पाइयो। पार्टीको सगगठन तुलनात्मक रूपमा जहाँ बलियो छ त्यहाँ नै पार्टीले चुनाव लड्नुपर्छ भन्ने भन्दा पनि खास व्यक्ति रहेको क्षेत्र लिनुपर्छ भनेर जोड गर्ने प्रवृत्ति देखियो। म नै सबैभन्दा बढी योग्य छु, मैले नै उम्मेदवारी पाउनुपर्छ भन्ने दावी र जोडबल बढी गरियो। आफूले उम्मेदवारी नपाएपछि चरम रूपमा असन्तुष्ट भई पार्टी निर्णयको मात्र होइन पार्टीकै विरोध गरी निष्कृय बस्ने र पार्टी नै छाडेर हिँड्नेसम्मका व्यवहार भए।

प्रत्यक्षतर्फको उम्मेदवारी मात्र होइन समानुपातिक सूचीमा नाम नपर्नेहरूको व्यवहार पनि उस्तै देखियो। आफ्नो वा आफ्नो मान्छेको नाम समानुपातिक सूचीमा नपरेपछि उसैगरी असन्तुष्ट भई निष्कृय बस्ने, पार्टी निर्णयको मात्र होइन पार्टीकै विरोध गर्ने र अर्को पार्टीका उम्मेदवारको लागि मत माग्नेजस्ता अनैतिक कार्यसमेत भए। समानुपातिक सूचीमा नाम राख्दा प्राथमिकता क्रममा नराखिएको भनेर पनि असन्तुष्ट भई पार्टी निर्णय र पार्टीको विरोध गर्दै पार्टी नै छाडेर हिँड्ने कार्यसमेत भयो। सूचीमा केही पछाडि नाम परेकाहरूले आफू सांसद हुने होइन अर्काका लागि किन भोट माग्ने भनेर भोट नमाग्ने गरेको पनि पाइयो।

केन्द्रीय तहका नेताहरूबाट समेत भएको यस्तो व्यवहारले हाम्रो पार्टीमा रहेका ती व्यक्तिहरू व्यक्तिगत स्वार्थमा कति निर्लिप्त रहेछन् भन्ने स्पष्ट हुन्छ। पार्टीमा रहेका व्यक्तिहरूबाट भएको यस्तो व्यवहारले पनि निर्वाचनको परिणाममा असर पर्‍यो।

समानुपातिक उम्मेदवाहरूको नाम बन्दसूचीमा राख्दा जातीय, अल्पसंख्यक र पिछडिएको क्षेत्रका क्लस्टर मिलाउनुपर्ने हुँदा भौगोलिक सन्तुलन राम्ररी मिलाउन नसकिएको कारणले पनि परिणाममा केही असर पर्‍यो।

५. अवसरवादी प्रवृत्ति : नेपाली राजनीतिमा अवसरवादी प्रवृत्ति हावी हुँदै गएको छ। नीति, विचार, सिद्धान्त केही पनि नहेर्ने तत्कालै लाभ खोज्ने प्रवृत्ति जताततै व्याप्त छ। यो प्रवृत्ति नयाँ पुस्तामा झन् बढी देखिएको छ।

विचार, सिद्धान्त र मूल्यमान्यतासँग नयाँ पुस्ताको रुचि एवं चासो नै देखिँदैन। त्यो प्रवृत्ति हाम्रो पार्टीमा पनि कुनै न कुनै रूपमा रहेको छ। त्यसको प्रभाव निर्वाचनको परिणाममा पनि पर्‍यो।

६. पैसाबेगर चल्दै नचल्ने प्रवृत्ति : पार्टी कमिटी र पार्टी सम्बद्ध जनसंगठनहरूमा संगठित नेता तथा कार्यकर्ताहरू नै पैसा नपाई प्रचारमा नहिँड्ने प्रवृत्ति आमरूपमा देखियो। पार्टीका लागि होइन आफ्नो लाभका लागि मात्र काम यो प्रवृत्ति कम्युनिस्ट पार्टीका लागि किमार्थ सुहाउने कुरा होइन। यस्तो प्रवृत्तिले निर्वाचन परिचालन र प्रचार कार्यमा असर पर्‍यो र परिणाममा पनि हुने कुरै भएन।

७. मुद्दा उठाउन र महत्त्व बुझाउन नसक्नु : हामीले जनताका मन छुने तात्कालिक मुद्दा लिएर जनतामाझ जान सकेनौँ। संविधानलगायत प्राप्त उपलब्धिको रक्षा, स्थिरता, समृद्धि, निर्वाचन प्रणालीमा सुधार, योजना प्रणालीमा परिवर्तन, आयोजना मर्मतसम्भारका लागि एकीकृत करिडोर निर्माण, भ्रष्टाचारमा शून्य सहनशीलता, समग्र तराई क्षेत्रको सिँचाइका निम्ति पूर्व-पश्चिम महानहरको निर्माणजस्ता जुन महत्त्वपूर्ण मुद्दा उठाएका थियौँ ती मुद्दाका बारेमा जनतालाई यथेष्ठ मात्रामा बताउन र बुझाउन सकेनौँ।

संविधानको रक्षा भएन भने जनताका केकति अधिकार खोसिन्छन्, मुलुकमा स्थिरता भएन भने विकास निर्माणमा कस्तो असर पर्दछ, समृद्धि किन चाहिन्छ र कसरी हासिल गर्न सकिन्छ, अहिलेको निर्वाचन प्रणालीमा किन सुधार गर्नुपर्छ, योजना प्रणाली किन बदल्नुपर्दछ भन्ने कुरा जनतालाई राम्ररी बुझाउन सकेको भए हाम्रो पक्षमा मात्र होइन गठबन्धनकै पक्षमा योभन्दा धेरै राम्रो परिणाम आउन सक्दथ्यो। त्यो काम हामीबाट मात्र होइन हामी संलग्न रहेको गठबन्धनबाट समेत हुन सकेन, जसको प्रभाव निर्वाचनको परिणाममा पर्न गयो।

८. सरकारबाट अपेक्षित कार्य नहुनु : हामीले विद्रोह गरेर पार्टी पुनर्गठन गरेको केही समयपछि संघीय सरकार र गण्डकीबाहेक सबै प्रदेश सरकारमा सामेल भएका थियौँ। प्रदेश एक र बागमती प्रदेश सरकारको त नेतृत्व नै हामीले गरेका थियौँ।

हामी विद्रोह गरेर सरकारमा गएको हुनाले हाम्रो पार्टीका नेताहरूले नेतृत्व गरेका संघीय मन्त्रालय र प्रदेश सरकार तथा मन्त्रालयहरूबाट केही न केही राम्रा र जनमुखी काम हुनेछन् भन्ने अपेक्षा पार्टी पंक्ति र आमजनतामा समेत थियो तर त्यसअनुरूप जनतामा सकारात्मक प्रभाव पर्ने गरी काम हुन सकेन।

कतिपय राम्रा काम भएका भए पनि जनताको मन जित्ने र मत तान्ने गरी ती कामको प्रचार हुन सकेन। सरकारमा पठाइएका कमरेडहरूबाट पार्टी निर्णयको अवज्ञा गर्नेजस्ता कार्य समेत भए। सरकारमा रहेर जनतामा सकारात्मक प्रभाव पर्ने गरी काम हुन नसक्नु र पार्टी निर्णयको अवज्ञा गर्नेजस्ता कार्यको नकारात्मक प्रभाव पर्नुले पनि निर्वाचन परिणाममा असर गर्‍यो।

९. हाम्रा विरुद्ध चर्को प्रहार हुनु : यस पटकको निर्वाचनमा हाम्रा विरुद्ध विभिन्न कोणबाट अत्यन्त चर्को प्रहार भयो। हामीमाथि तीनतिरबाट त्यस्तो प्रहार भएको थियो।

पहिलो, समाजवादी कार्यदिशा आँगालेको हुनाले दक्षिणपन्थीहरूबाट हामीमाथि चर्को प्रहार भयो। दोस्रो, गठबन्धन विरोधीहरूबाट पनि हामीमाथि प्रहार भयो। तेस्रो, एमालेहरूबाट हामीमाथि प्रहार भयो र हाम्रा विरुद्ध ठूलो धनराशिसमेत खर्च गरियो।

हाम्रा विरुद्ध चर्को प्रहार र ठूलो धनराशिको प्रयोग समेत भएपछि त्यसले परिणाममा असर पार्ने नै भयो।

१०. नकारात्मक प्रचारको प्रभाव : यसपटक ‘पुराना पार्टी र नेताहरूलाई अब फेरि मत दिनु हुँदैन’ भनेर व्यापक रूपमा नकारात्मक प्रचार गरिएको थियो। हाम्रो पार्टीका मुख्य नेताहरूको नामै किटेर र फोटा समेत देखाएर त्यस्तो प्रचार गरिएको थियो।

साथै ‘पुरानाले गरेनन् अब हामी गर्छौँ’ भन्ने प्रचार पनि त्यत्तिकै व्यापक रूपमा गरिएको थियो। त्यस प्रकारको नकारात्मक प्रचारले मतदातामा प्रभाव पर्‍यो। त्यसका साथै आम मतदातामा पुराना दलहरूप्रति विकर्षण र नयाँ दलहरूप्रति आकर्षण देखियो। हाम्रो पार्टी विद्रोहबाट बनेको भए तापनि जनताले यसलाई नयाँ पार्टी होइन पुरानै पार्टीको रूपमा लिए।

आमजनतामा निर्वाचनप्रति नै रुचि घटेको पाइयो। रुचि घटेकाले यसपटक कम मतदान भयो। यी सबै कारणले पनि हाम्रो पार्टीले प्राप्त गर्ने परिणाममा असर पर्‍यो।

११. नयाँ मतदाताको रुझान नयाँतर्फ हुनु : यसपटकको निर्वाचनमा पच्चीस लाख साठी हजार छ सय बत्तीस नयाँ मतदाता थपिएका थिए। यी नयाँ मतदातामा पुराना पार्टी र नेताप्रति विकर्षण तथा नयाँ पार्टी र व्यक्तिप्रति आकर्षण देखियो।

‘पुरानालाई होइन नयाँलाई दिऊँ’ भन्ने नारा व्यापक रूपमा लगाइयो। त्यस नाराले नयाँ मतदाताहरूलाई बढी प्रभावित गर्‍यो र उनीहरूको रुझान नयाँ पार्टी र तिनका उम्मेदवारहरूप्रति रहन गयो।

गणतन्त्र स्थापना भएयताको समयमा युवा तथा विद्यार्थीहरूलाई राजनीतिक र वैचारिक रूपमा प्रशिक्षित, संगठित र परिचालित गर्ने कार्य राम्ररी हुन सकेन जसले गर्दा स्पष्ट दृष्टिकोण नभएका युवाहरू ‘नयाँ र युवाहरूको नेतृत्व’ भन्ने नारामा आकर्षित भए र धेरैजसो युवा एवं नयाँ मतदाताहरूको मत रास्वपालाई गयो।

विदेशमा रहेका युवाहरूले समेत घरमा फोन गरेर रास्वपाको घण्टीमा मत दिन लगाए। उनीहरूले हामीलाई विश्वास गरेनन्। त्यसले गर्दा पनि हाम्रो पार्टीले प्राप्त गर्ने परिणाममा असर पर्‍यो।

१२. प्रचारको काम व्यवस्थित नहुनु : निर्वाचन केन्द्रित प्रचारको काम राम्ररी हुन सकेन। प्रचार विभाग प्रमुख स्वयम् उम्मेदवार बन्नुभएकाले प्रचारको काममा संयोजन गर्न भ्याउनु भएन। उपप्रमुखहरूले पनि आआफ्ना पारिवारिक कामले गर्दा निर्वाचनको समयमा प्रचारको कामको संयोजन गर्न सक्नु भएन। जसका कारण सिंगो प्रचार विभाग र समाजवादी प्रेस संगठनका साथीहरू पूर्ण रुपमा परिचालित हुनुभएन। हाम्रो पार्टीको प्रचारको काम व्यवस्थित हुन सकेन।

अर्को तर्फ यस पटकको निर्वाचनमा सामाजिक सञ्जाल प्रचारको मुख्य माध्यम बन्यो। सामाजिक सञ्जालको प्रयोग यस निर्वाचनमा धेरै पार्टीहरूले, खासगरी नयाँ पार्टीहरूले व्यापक रूपमा गरेर आफ्नो प्रचार अभियानलाई प्रभावकारी बनाए। हामीले सामाजिक सञ्जालको उपयोग पनि राम्ररी गर्न सकेनौँ।

हाम्रो आइटी टिम नै भएन। प्रचारको समग्र कामलाई व्यवस्थित गर्न निर्वाचनको सम्मुखमा केन्द्रीय निर्वाचन परिचालन सचिवालयका तर्फबाट क. लक्ष्मण केसीलाई प्रचारको कामको संयोजन गर्ने जिम्मेवारी प्रदान गरियो। तर समय अभावका कारण धेरै सामग्री उत्पादन गर्न र व्यापक प्रचारमा लैजान सकिएन।

१३. निर्वाचन ज्यादै खर्चिलो हुनु : अहिलेको निर्वाचन प्रणाली नै ज्यादै खर्चिलो भयो। त्यसमाथि धनाढ्यहरूले निर्वाचनलाई झनै महँगो बनाए। स्थानीय तहको निर्वाचनका उम्मेदवारहरूले अत्यधिक खर्च गरेको प्रभाव आममानिसमा परेको थियो।

यसपटकको निर्वाचनमा पनि अन्य पार्टीका उम्मेदवारले ठूलो खर्च गरे। हामीले ठूलो खर्च गर्न सकेनौँ किनभने पहिलो त हामीले खर्चिलो चुनाव प्रचार अभियान नअँगाल्ने भनेका थियौँ, दोस्रो हामीसँग पैसा नै थिएन। त्यसले गर्दा पनि परिणाममा प्रभाव पर्‍यो।

१४. तालमेल हुँदा समानुपातिकमा असर पर्नु : यसपटक हामी पाँच दलबिच तामेल गरेर चुनाव लडेका थियौँ। यसरी तालमेल गरेर चुनाव लड्दा विभिन्न पार्टीका कार्यकर्ता संयुक्त रूपमा निर्वाचन प्रचारप्रसारमा हिँड्नुपर्ने बाध्यताका कारण आफ्नो पार्टी पंक्तिलाई राम्रोसँग परिचालन गर्न कठिनाइ हुँदो रहेछ।

संयुक्त रूपमा कार्यक्रम गर्दा प्रत्यक्षतर्फको उम्मेदवारसँग मात्र परिचालित हुने अवस्था बन्दो रहेछ। प्रत्यक्षतर्फ हाम्रा उम्मेदवारहरू सिमित स्थानमा मात्रै रहेको र गठबन्धनमा रहेका अन्य दलका उम्मेदवारसहितको संयुक्त कार्यक्रममा पार्टीका निम्ति छुट्टै समानुपातिक मत माग्न अप्ठयारो हुँदो रहेछ। त्यसको असर समानुपातिकतर्फको मत परिणाममा पर्न गयो।

१५. प्रत्यक्षमा केन्द्रित हुँदा समानुपातिकमा असर : धेरै दलको गठबन्धनमा रहेर चुनाव लड्दा जहाँ प्रत्यक्षतर्फ आफ्नो पार्टीको उम्मेदवार छ त्यहाँ उक्त उम्मेदवारलाई जिताउन केन्द्रित हुने र पार्टीलाई समानुपातिक मत माग्दा गठबन्धनमा सामेल अन्य दलले प्रत्यक्षको उम्मेदवारलाई असहयोग गर्लान् कि भन्ने त्रास हुँदो रहेछ भने प्रत्यक्षतर्फ उम्मेदवार नहुँदा पार्टीलाई समानुपातिक मत माग्ने लहर सिर्जना गर्न नसकिने रहेछ।

प्रत्यक्षतर्फ गठबन्धनको उम्मेदवार भएका क्षेत्रमा अलग्गै विशेष योजना बनाएर पार्टीलाई समानुपातिक मत माग्ने अभियान चलाउनुपर्ने हुन्थ्यो। त्यसो गर्न केन्द्रबाट पटक-पटक निर्देशन दिने, परिचालनका लागि रकम पठाउने र प्रचार सामग्री पठाउने काम गरियो। तर त्यसका बाबजुद पार्टी पंक्ति परिचालित नहुँदा परिणाममा असर पर्‍यो।

१६. निर्वाचन आयोगसमेत हाम्रा विरुद्ध हुनु : स्वतन्त्र र निष्पक्ष रहेर निर्वाचन गराउनुपर्ने अभिभारा सम्हालेको निर्वाचन आयोग आफैँ हाम्रा विरुद्ध उत्रियो। रूपन्देही २ का हाम्रा उम्मेदवारको उम्मेदवारी खारेज गर्ने तर त्यस्तै प्रकृतिको मुद्दा लागेका अन्य पार्टीका उम्मेदवारको भने उम्मेदवारी खारेज नगर्ने, कमरेड अध्यक्षलगायत हाम्रा उम्मेदवारहरूलाई पटक-पटक स्पष्टीकरण सोध्ने र कारबाही चलाउन प्रयत्न गर्ने, लैंगिक विवरण नमिलेको भनेर हाम्रो समानुपातिकको बन्दसूचीबाट हटाइएको नाम नहटाई कायमै राख्न  सर्वोच्च अदालतले आदेश दिए तापनि उक्त नाम कायम गरिएको सूचना जारी नगर्ने, मतदान केन्द्रमा हाम्रो पार्टीका प्रतिनिधि राख्न नमान्ने जस्ता कार्यबाट निर्वाचन आयोग हाम्रो विरुद्ध ज्यान छाडेर लागेको थियो भन्ने स्पष्ट हुन्छ।

विभिन्न प्रकारका समस्या र कमीकमजोरीका बाबजुद निर्वाचनबाट केही उपलब्धि पनि हासिल भएको प्रतिवेदनमा उल्लेख छ।

‘यस निर्वाचनबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ निर्वाचित १० जना र प्रदेशसभामा प्रत्यक्षतर्फ निर्वाचित १५ तथा समानुपातिक ९ गरी जम्मा २४ जना सदस्य निर्वाचित हुनुभएको छ। यो सानै भए पनि उपलब्धि हो।’  प्रतिवेदनमाा सफलता प्राप्त गर्नका लागि बलियो र व्यवस्थित संगठन अनिवार्य हुनुपर्ने शिक्षा प्राप्त भएको उल्लेख छ।

‘एमाले अवसरवादी, माओवादी अस्थिर र नेमकिपा संकीर्ण’

माधव नेपालको प्रश्न, गठबन्धनले प्रचण्डलाई कतिन्जेल थेग्ला?

एकीकृत समाजवादी बैठकमा अध्यक्ष नेपालले गरे ओलीको आलोचना

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 1 =