माधव नेपालको प्रश्न, गठबन्धनले प्रचण्डलाई कतिन्जेल थेग्ला?

हिमाल प्रेस २१ माघ २०७९ १३:००
6
SHARES
माधव नेपालको प्रश्न, गठबन्धनले प्रचण्डलाई कतिन्जेल थेग्ला?

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कहिलेसम्म थेग्ने भन्ने कुनै टुंगो नभएको बताएका छन्। पार्टीको शनिबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै अध्यक्ष नेपालले सत्ता गठबन्धनमा खटपट सुरु भइसकेकाले प्रधानमन्त्री प्रचण्ड संकटमा पर्दै गएको बताए।

अध्यक्ष नेपालले भने, ‘प्रचण्डलाई कहिलेसम्म थेग्ने हो थाहा छैन। राष्ट्रपतिको चुनावसम्म थेग्ने होला। तर त्यो भन्दा पहिले नै हामीले देखिरहेका छौँ– खटपट सुरु भइसकेको छ। यो तरल राजनीतिक अवस्था कहिलेसम्म कायम रहने हो? यसै भन्न सकिने अवस्था छैन।’

विगतमा आदर्शका कुरा गरेर चुनाव जितेर आएकाहरू अहिले पदलोलुप बन्दै गएको भन्दै अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानको घुमाउरो तरिकाले आलोचना गरे। जनताले रास्वपाको विरोध गर्न थालेको नेपालको भनाइ छ।

यस्तै उनले सत्तासीन दलका सांसदहरूले संसद्को रोस्ट्रममा उभिएर संविधानविपरीत संघीयताविरोधी अभिव्यक्ति दिन थालेको भन्दै चिन्ता व्यक्त गरे। नेपालले भने, ‘संविधानविरोधीहरू सत्तामा रहनु भनेको संकट निम्तिने संकेत हो।’

उनले सरकारप्रति हिजो आशावादी रहेका मानिसहरू निराश बन्दै गएको बताए। उनले यस्तो अवस्था पार्टीलाई बलियो बनाउन सकेमात्र राष्ट्रिय राजनीतिमा पार्टीको औचित्य रहने बताए। अध्यक्ष नेपालले भने, ‘तरल राजनीतिक दिशालाई कसरी अनुकूल बनाउने र पार्टीलाई कसरी बलियो बनाउने भन्ने कुरामा हाम्रो ध्यान जानुपर्छ।’

बैठकमा अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनको संक्षिप्त विवरण गर्दै केपी ओलीको आलोचना गरेका थिए। उनले नेकपा एमाले कालमा ओलीले कार्यकारी अध्यक्षको कुर्सी भाँचेको र संसद् विघटन गरेको आरोप लगाए।

त्यति बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको बताए। उनले तत्काली प्रधानमन्त्री ओली एमसीसी प्रकरण, भारतीय गुप्तचरसँगको गोप्य भेट, भ्रष्टाचार, व्यक्तिवाद, संकीर्णता, अहंकारले आदिले ओली चरम दक्षिणपन्थतर्फ लागेको आरोप लगाए।

यस्ता विकृति सहन नसकेपछि विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपरको अध्यक्ष नेपालले बताए। उनले भने, ‘उकुसमुकुस भयो। प्रयत्न गर्दा सफल हुन सकेन। अनि छलफलपछि नयाँ पार्टी गठन भएको हो।’

पार्टीका लागि डेढ वर्षको अवधि लामो नरहेको भन्दै उनले पार्टी बिस्तारै देशव्यापी बन्दै गएको बताए। उनले भने, ‘पार्टीको संगठनहरू र राजनीतिक गतिविधिहरूमा हामी समग्रतामा अगाडि बढिरहेका छौँ।’ उनले संगठन निर्माणकै क्रममा स्थानीय तहमा केही अनुभव र उपलब्धि हासिल गरेको भनाइ राखे।

साथै प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा प्राप्त परिणाम पनि आसलाग्दो रहेको अध्यक्ष नेपालले बताए। उनले सबैलाई मातहतका कमिटीहरूमा समीक्षा गर्नुपर्ने बताए। उनले भने, ‘निर्वाचन परिणाम हामीले सोचेजस्तो भएन। कहाँकहाँ रह्यो त्रुटि? माथिबाटै त्रुटि भएको छ।’

ललितपुरको बालकुमारीमा शनिबार सुरु भएको केन्द्रीय कमिटीको बैठक आइतबारसम्म जारी रहनेछ। बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र महासचिव डा. वेदुराम भुसालले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

बैठक अवधिमा यी दुवै विषयमा नेताहरुले छलफल गर्नेछन्। प्रतिवेदनमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा भावी कार्ययोजनाबारे रणनीति निर्माणमा छलफल हुनेछ।

प्रकाशित: २१ माघ २०७९ १३:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =