राजनीतिक उकुसमुकुसबाट मुलुकलाई निकाल्न एकीकृत समाजवादी निर्णायक : घनश्याम भुसाल

हिमाल प्रेस ८ वैशाख २०८१ १९:५६
16
SHARES
राजनीतिक उकुसमुकुसबाट मुलुकलाई निकाल्न एकीकृत समाजवादी निर्णायक : घनश्याम भुसाल

बुटवल- नेकपा एकीकृत समाजवादीका महासचिव एवं पूर्वमन्त्री घनश्याम भुसालले वर्तमान राजनीतिक उकुसमुकुसबाट मुलुकलाई निकाल्न नेकपा एकीकृत समाजवादी निर्णायक हुने बताएका छन्। उनले आफूहरू अंकगणितमा सानो भए पनि कम्युनिस्ट पार्टीभित्रको जड्तालाई चिर्न नेतृत्व गर्ने बताए।

समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले शनिबार तिलोत्तमामा आयोजना गरेको वर्तमान सन्दर्भमा नेपाली पत्रकारिताको अवस्था र अबको बाटो विषयक अन्तरक्रिया एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले अहिलेको वाम बहुल गठबन्धनलाई आफूहरूले सकारात्मक रूपमा लिएको बताए।

‘माओवादी र एमाले करेक्सन हुँदा वामपन्थी शक्ति बन्नसक्छ’ महासचिव भुसालले भने, ‘माओवादी माओवाद र एमाले व्यक्तिपूजाबाट बाहिर निस्कन सके वामपन्थी शक्ति बन्नेछ।’ महासचिव भुसालले नेकपा एकीकृत समाजवादीको महाधिवेशनले वामपन्थी दलहरूबीच एकताका लागि स्पष्ट मार्गनिर्देश गर्ने बताए।

नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य सोमप्रसाद पाण्डेले समृद्ध मुलुकबिना जनताको अधिकार प्राप्त नहुने बताए। तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले पत्रकारिता क्षेत्रमा धेरै चुनौती भएको बताउँदै राजनीति परिवर्तनमा पत्रकारिताको ठूलो महत्त्व रहेको बताए।

समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीले नेपालको मुलधारको पत्रकारिता गलत ढंगले अघि बढ्दा वैकल्पिक पत्रकारिता हावी भएको बताए। यसैबीच समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले सृजनशील पत्रकारिता पुरस्कारबाट उषाकिरण पन्थ पुरस्कृत भएकी छन्।

विगत डेढ दशकदेखि सञ्चारक्षेत्रमा क्रियाशील पत्रकार पन्थलाई नेकपा भुसाल, सुवेदी र खाणले पुरस्कार प्रदान गरे। पन्थ नगद, प्रमाण पत्र र दोसल्लाबाट पुरस्कृत भएकी हुन्। यस्तै समाजवादी संगठन निर्माणमा विशेष योगदान गरेबापत संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी, लुम्बिनी प्रदेश अध्यक्ष हृदय भुसाल, केन्द्रीय सदस्य प्रकाश न्यौपानेलाई सम्मान गरिएको छ। महासचिव भुसालले दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका हुन्।

त्यसैगरी युवा पत्रकारिता सम्मानबाट समता टेलिभिजनमा कार्यरत अस्मिता अधिकारीलाई सम्मान गरिएको छ। महासचिव भुसाल र समाजवादी प्रेस संगठन रुपन्देहीका अध्यक्ष विनोद परियारले उनलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका हुन्।

प्रकाशित: ८ वैशाख २०८१ १९:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + five =