नेकपा एसको केन्द्रीय कमिटी बैठक

‘एमाले अवसरवादी, माओवादी अस्थिर र नेमकिपा संकीर्ण’

हिमाल प्रेस २१ माघ २०७९ १६:०७
16
SHARES
‘एमाले अवसरवादी, माओवादी अस्थिर र नेमकिपा संकीर्ण’ फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सच्चा कम्युनिस्ट आफ्नो पार्टी मात्रै रहेको दाबी गरेका छन्। उनले भनेका छन्, ‘नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी नेपाली श्रमजीवी वर्गको सच्चा प्रतिनिधिका रूपमा रहेको छ। यो पार्टी वर्तमान संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध रहँदै समाजवादी कार्यदिशा अँगालेर अगाडि बढिरहेको छ।’

अध्यक्ष नेपालले पार्टीको केन्द्रीय कमिटी प्रतिवेदन पेस गरेको प्रतिवेदनमा तत्कालीन नेकपा (एमाले) मा व्याप्त दक्षिणपन्थी अवसरवाद एवं विसर्जनवाद, व्यक्तिवादी अहंकारवाद, निरंकुश एवं स्वेच्छाचारी प्रवृत्ति र चरम गुटबन्दीका साथै संविधानमाथिको आक्रमण र जनक्रान्तिका उपलब्धिमाथि धावा बोल्ने प्रतिगमनकारी कदमविरुद्ध विद्रोह गरेर पार्टी पुनर्गठन गरिएको स्मरण गरेका छन्।

प्रतिवेदनमा उल्लेख छ, ‘आजको राजनीतिमा सैद्धान्तिक रूपले हामी नै नेकपाका सच्चा प्रतिनिधि हौँ। एमालेबाट विद्रोह गरी आएको हुनाले त्यसका कैयन् विसंगति पार्टीभित्र आएकाले मुक्त गरेर अगाडि बढ्नुपर्नेछ।’

मुलुकको राजनीतिक रंगमञ्चमा विभिन्न खाले राजनीतिक दर्शन, सिद्धान्त, विचार र दृष्टिकोण अँगालेका र भिन्नभिन्न चरित्र भएका राजनीतिक शक्ति क्रियाशील रहेको प्रतिवेदनमा उल्लेख छ। नेकपा एस अन्य दलभन्दा वापमन्थी दलप्रति बढी आक्रामक देखिएको छ।

एकीकृत समाजवादीले संसद्को दोस्रो दल नेकपा (एमाले) लाई दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिस्ट पार्टीका रूपमा लिएको छ। अध्यक्ष नेपालको प्रतिवेदनमा उल्लेख छ, ‘यसको वर्ग अडान स्पष्ट छैन। दलाल पुँजीपति वर्गसँगको लसपसले गर्दा यसको नेतृत्व तीव्र गतिमा दक्षिणपन्थी हुँदै गएको छ।’

एमाले संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध नरहेको उल्लेख गर्दै प्रतिवेदनमा भनिएको छ, ‘विगतको व्यवहार हेर्दा यसले आफ्नो स्वार्थका निम्ति संविधान र लोकतन्त्रलाई मास्न पनि बेर लाउँदैन भन्ने देखिन्छ।’

एकीकृत समाजवादीले प्रतिनिधिसभाको तेस्रो ठूलो दलका रूपमा नेकपा (माओवादी केन्द्र) लाई ढुलमुले चरित्रको कम्युनिस्ट पार्टी भनेको छ। ‘यसको पनि वर्ग अडान स्पष्ट छैन। सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आएको यो पार्टी शान्ति प्रक्रिया लम्बिँदै गएपछि सत्ताको वरिपरि केन्द्रित हुँदै गएको छ’, प्रतिवेदनमा उल्लेख छ।

संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध रहे पनि माओवादीलाई सत्तास्वार्थका निम्ति कुनै पनि बेला जुनसुकै कदम चाल्न सक्ने अस्थिर र ढुलमुले प्रवृत्तिको पार्टीका रूपमा लिइएको छ।

नेपाल मजदुर किसान पार्टी जडसूत्रवादी एवं अत्यन्त संकीर्ण चरित्रको कम्युनिस्ट पार्टीका रूपमा लिँदै नेकपा एसले भनेको छ, ‘यो पार्टी मूलतः श्रमजीवी वर्गको पक्षमा उभिन्छ तर नेतृत्वमा रहेको निम्नमध्यम वर्गीय जडता र संकीर्णताले गर्दा निरन्तर खुम्चिँदै गएको छ।’

भक्तपुर जिल्लामा सीमित नेमकिपा संविधान र गणतन्त्रप्रति प्रतिबद्ध नै रहेको नेकपा एसको ठहर छ।

राजमो संविधान र गणतन्त्रप्रति प्रतिबद्ध रहे पनि संघीयताविरोधी पार्टीका रूपमा नेकपा एसले लिएको छ।

कांग्रेस र रास्वपाको  पुँजीपति वर्ग चरित्र

एकीकृत समाजवादीले संसद्को पहिलो दल नेपाली कांग्रेसलाई पुँजीपति वर्ग चरित्रको पार्टीका रूपमा लिएको छ। प्रतिवेदनमा उल्लेख छ, ‘नव उदारवादको पक्षपोषण गर्ने यस पार्टीले दलाल पुँजीपति वर्गको समेत हित प्रतिनिधित्व गर्दछ। तथापि यो पार्टी संविधान र लोकतन्त्रको रक्षाप्रति प्रतिबद्ध रहेको पाइन्छ।’

एकीकृत समाजवादीको दृष्टिकोणमा प्रतिनिधिसभाको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी पुँजीपति वर्ग चरित्रको पार्टी हो। नेपालको प्रतिवेदनमा उल्लेख छ, ‘यस पार्टीको दर्शन, सिद्धान्त, विचार र कार्यदिशा केही पनि स्पष्ट छैन। संविधानवादको कुरा गरे पनि गणतन्त्र र संघीयताप्रति यसको दृष्टिकोण के हो भन्ने पनि स्पष्ट छैन।’

रास्वपालाई एकीकृत समाजवादीले प्रतिनिधिसभा विघटन र नेकपा विभाजनले उत्पन्न गरेको राजनीतिक अन्योल र सामाजिक निराशाको परिस्थितिमा सस्तो लोकप्रिय नारा दिएर उदाएको पार्टीका रूपमा लिएको छ।

प्रतिवेदनमा भनिएको छ, ‘सस्तो लोकप्रियतावादले सर्वसाधारण जनतामा भ्रम दिएर प्रतिक्रियावादको सेवा गर्ने गर्दछ। यसले पनि त्यही भूमिका निर्वाह गर्दैछ।’

राप्रपा सामन्ती पछौटे एवं लम्पट चिन्तनको प्रतिनिधि

प्रतिनिधिसभाको पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एकीकृत समाजवादीले सामन्ती तथा दलाल नोकरशाही पुँजीपति वर्ग चरित्रको पार्टीका रूपमा लिएको छ। ‘यो पार्टी समाजमा अवशेषका रूपमा रहेको सामन्ती पछौटे एवं लम्पट चिन्तनको प्रतिनिधि हो’, प्रतिवेदनमा उल्लेख छ।

राप्रपालाई संविधान, गणतन्त्र र संघीयताविरोधी पार्टीका रूपमा चित्रण गर्दै एकीकृत समाजवादीले भनेको छ, ‘यो जनताको क्रान्तिकारी आन्दोलनले उखेलेर फ्याँकेको सामन्ती राजतन्त्रलाई पुनःस्थापना गर्न चाहन्छ।’

मधेशी दलप्रति नरम

प्रतिनिधिसभाको छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टीलाई भने नेकपा एसले प्रजातान्त्रिक समाजवादी सिद्धान्त आँगालेको पार्टीका रूपमा लिएको छ। प्रतिवेदनमा उल्लेख छ, ‘मुख्यतः मधेश प्रदेशमा प्रभाव राख्ने यो पार्टी मधेशको मध्यमवर्गीय तप्काको प्रतिनिधि हो। यो संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध छ।’

जनमत पार्टीले भने विगतमा पृथकतावादी सोच अँगाले पनि अहिले संविधान मान्ने र त्यसअन्तर्गत रहेर राजनीति गर्ने गरी अगाडि बढेको ठहर नेकपा एसको छ।

लोसपालाई बुर्जुवा चरित्रको पार्टीका रूपमा लिँदै प्रतिवेदनमा उल्लेख गरिएको छ, ‘मुख्य गरी मधेश प्रदेशमा केन्द्रित रहेको र मधेसका मुद्दामा नै बढी चासो राख्ने यो पार्टी पनि मधेशको मध्यमवर्गीय तप्काको प्रतिनिधि हो।’

नागरिक उन्मुक्ति पार्टीलाई जातीय पहिचान र अधिकारमा जोड दिने पार्टीका रूपमा लिँदै एकीकृत समाजवादीले भनेको छ, ‘यो पार्टी थारू जातिको पहिचान र अधिकारलाई मुख्य विषय बनाएर संगठित एवं क्रियाशील छ। यसको वर्ग चरित्र स्पष्ट छैन।’

माधव नेपालको प्रश्न, गठबन्धनले प्रचण्डलाई कतिन्जेल थेग्ला?

एकीकृत समाजवादी बैठकमा अध्यक्ष नेपालले गरे ओलीको आलोचना


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − one =