आफूखुसी बजेट बनाउनु गलत : मन्त्री पौडेल

हिमाल प्रेस २० माघ २०७९ २२:००
4
SHARES
आफूखुसी बजेट बनाउनु गलत : मन्त्री पौडेल

भैरहवा– उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले बजेट रकमान्तर गर्ने परिपाटी आगामी आर्थिक वर्षदेखि पूर्ण रूपमा रोक्ने गरी बजेट नीति तथा कार्यक्रम ल्याउन लागेको बताएका छन्।

‘औचित्यताको आधारमा नबनाई आफूखुसी बजेट बनाउने र वर्षको बीचमा आएर बजेट रकमान्तरण गर्ने गलत परिपाटी रोक्न हामीले नीति नै बनाउदैछौं। अर्को वर्षदेखि बजेट रकामान्तर नै गर्न नपाउने गरी कार्यक्रम ल्याउछौँ,’ रुपन्देहीका सरकारी कार्यालयका प्रमुखसँग आज साँझ भैरहवामा छलफल गर्दै उनले भने।

उनका अनुसार संघ, प्रदेश, स्थानीय सरकार मात्रै नभई सरकारी कार्यालयले आवको मध्यमा आएर बजेट रकमान्तर गरेर नयाँ काम गर्ने पुरानो परम्परा रहँदै आएको छ। उनले योजना छरपस्ट बनाउने र कार्यान्वयन गर्ने बेला फितलो हुने प्रचलनलाई रोक्न बजेटको रकमान्तरणमा रोक लगाउन लागेको स्पष्ट पारे।

अर्थमन्त्री पौडेलले सरकार खर्च कटौतीको विन्दुमा पुगेकाले अत्यावश्यक कामबाहेक अन्य खर्चमा जोड नदिन पनि आग्रह गरे। उनले भने, ‘हामी धेरै अफ्ठ्यारो अवस्थामा छौँ भन्ने बुझ्नुपर्दछ। राजस्व परिचालनको अवस्था गत वर्षको भन्दा १५/२० प्रतिशत कमजोर छ। यसैले खर्च कटौती गर्दै मितव्ययी हुन जरुरी छ।’

मन्त्री पौडेलले बजेट बनाउँदा औचित्य र आवश्यकताका आधारमा बनाउन पनि कार्यालय प्रमुखहरूलाई आग्रह गरे। उनले संघीय सरकारले संघीय महत्त्वको, प्रदेशले प्रादेशिक महत्त्वको र पालिकाले स्थानीय महत्त्वको योजनामा ध्यान दिनुपर्ने बताए।

प्रकाशित: २० माघ २०७९ २२:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 5 =