प्रधानमन्त्री-अर्थमन्त्री मनमुटाव, डा. महत भन्छन् : बहस र छलफल भएको हो

हिमाल प्रेस ६ फागुन २०८० १६:४८
14
SHARES
प्रधानमन्त्री-अर्थमन्त्री मनमुटाव, डा. महत भन्छन् : बहस र छलफल भएको हो

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महत र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सम्बन्ध बिग्रिएको दाबी अर्थ मन्त्रालयका कर्मचारीहरूले गरेका छन्। प्रधानमन्त्रीले अघि सारेका योजनामा अर्थमन्त्री महतले बजेट कटौती गरेपछि सम्बन्ध बिग्रिएको अर्थका कर्मचारीहरूले बताएका हुन्। अर्थमन्त्री महत भने प्रधानमन्त्रीसँग सम्बन्ध बिग्रिएको कुरा हल्ला मात्रै भएको बताउँछन्। सत्तासीन माओवादी केन्द्रका नेताहरूचाहिँ  प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्री एकै दलको नभएका कारण यस्ता  समस्यालाई स्वाभाविक ठान्छन्।

अर्थ मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार प्रधानमन्त्री प्रचण्डले आफूले अघि सारेका विकास आयोजना र बजेटको सिलिङका विषयमा अर्थमन्त्री महत सकारात्मक नभएपछि सम्बन्ध बिग्रिएको हो। प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय योजना आयोगसँगको परामर्शमा आगामी वर्षको बजेटको आकार ठूलो बनाउन चाहेका थिए।

प्रधानमन्त्री प्रचण्डको त्यो चाहनालाई महतले ‘स्रोत छैन’ भनेर कटौती गरेको ती कर्मचारीको दाबी छ। अर्थमन्त्री महतले प्रधानमन्त्रीले अघि सारेका केही आयोजनामा पनि बजेट नछुट्याएको ती कर्मचारीले बताए। उनले भने, ‘प्रधानमन्त्रीबाट प्रस्ताव भएका गोरखा, चितवन, रुकुम, मोरङ र धादिङका केही आयोजनालाई स्रोत छैन भनेर अर्थमन्त्रीज्यूले बजेट सिलिङ गर्दा हटाइदिनुभएको छ।’

मन्त्री महतसँग रुष्ट भएका प्रधानमन्त्री प्रचण्डले आयोजना र बजेटका विषयमा अर्थ मन्त्रालयका अधिकारीहरूसँग परामर्श गरेका थिए। उनले अर्थ मन्त्रालयका सहसचिव र राष्ट्रिय योजना आयोगका कर्मचारीमार्फत बजेट समेट्न कोसिस गरेका थिए। ती सबै विषयलाई अर्थमन्त्री रोक्न खोजेपछि प्रधानमन्त्री अझ उनीसँग बिच्किएको अर्थ मन्त्रालयले स्रोतले जनाएको छ।

मन्त्रालयका अधिकारीहरूका अनुसार अर्थमन्त्री महतले सुन तस्करीलगायतका केही महत्त्वपूर्ण मुद्दाको अनुसन्धान अघि बढाएका कारण पनि प्रधानमन्त्री असन्तुष्ट भएका हुन्। ती मुद्दामा माओवादी केन्द्रका केही नेतासँग सम्बन्ध भएका व्यक्तिहरू तानिँदै थिए। यसलाई प्रधानमन्त्री निकट केही नेताले हस्तक्षेप गरी रोकेका थिए। त्यसपछि अर्थमन्त्री पनि प्रधानमन्त्रीसँग असन्तुष्ट थिए।

आगामी आर्थिक वर्षको बजेटका लागि अधिकतम सीमा (सिलिङ) का विषयमा भिन्नभिन्न समाचार सम्प्रेषण भएपछि अर्थमन्त्रीले आफू र प्रधानमन्त्रीबीच कुनै तिक्तता नभएको स्पष्ट पार्न पत्रकार सम्मेलन नै आयोजना गरेका थिए। गत शुक्रबार अर्थमन्त्री डा. महतले पत्रकार स सम्मेलनमार्फत आगामी आर्थिक वर्षको बजेटको सिलिङ १८ खर्ब रुपैयाँ हुने जानकारी गराएका थिए। ‘प्रधानमन्त्री र अर्थमन्त्रीको कुरा नमिलेको र ‘प्रधानमन्त्रीलाई जानकारी नै नदिई बजेट कटौती गरेको’ हल्ला मात्र भएको अर्थमन्त्री महतको दाबी थियो।

माओवादीका एक नेताका अनुसार प्रधानमन्त्रीको निर्देशनमा २२ खर्बको बजेट सिलिङ तोक्ने तयारी थियो। अर्थमन्त्रीले १८ खर्बभन्दा माथि बजेट लैजानु नहुने तर्क राखेपछि प्रधानमन्त्री असन्तुष्ट भएका हुन्। अर्थमन्त्रीले प्रधानमन्त्रीको असन्तुष्टिका विषयमा वास्ता गरेका थिएनन्। कांग्रेसभित्र पनि बजेटका विषयमा असन्तुष्ट बढेपछि उनी छलफलमा जुटेको ती नेताको भनाइ छ। प्रधानमन्त्रीले अर्थमन्त्रीसँग बजेटका बारेमा केही नसोधी, अर्थ मन्त्रालयका सम्बन्धित विभागका कर्मचारीसँग समन्वय गरेका थिए।

प्रधानमन्त्रीले बजेटका विषयमा कोसँग के विषयमा छलफल गरेको बारेमा आफूलाई थाहा नभएको अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्मा बताउँछन्। उनका अनुसार प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय योजना आयोगसँग भएको छलफलका आधारमा बजेट सिलिङ भएको छ।

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई अर्थमन्त्री बनाउने प्रस्ताव गरेको कांग्रेसका एक नेताको दाबी छ। प्रचण्डले थापालाई अर्थमन्त्री बनाउँदा काम गर्न सहज हुने भन्दै देउवासँग एकपटक सल्लाह गरेका थिए। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी देउवा पत्नी आरजु राणाले महतलाई अर्थमन्त्रीबाट फिर्ता बोलाउने हो भने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि फिर्ता बोलाउनुपर्ने प्रस्ताव राखेकी थिइन्। त्यसपछि प्रधानमन्त्रीले कुनै उत्तर नदिएको कांग्रेसका ती नेताको भनाइ छ।

मन्त्रालयको सिंगो संयन्त्र परम्परागत र अत्यन्त झिनामसिना सवालमा अड्किएर बसेका कारण बृहत्तर बहस गर्न र नयाँ सम्भावना खोजी गर्न अर्थमन्त्री महत विफल भएको माओवादी नेताहरू बताउँछन्। फरकफरक दलका भएका कारण यस्तो समस्या भइरहने उनीहरूको भनाइ छ। उपमहासचिव गिरिराजमणि पोखरेल भन्छन्, ‘प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्री एउटै पार्टीको हुनु जरुरी छ। काम गर्न सहज हुन्छ। तर त्यसो नहुँदा समस्या सधैँ हुन्छ।’

पोखरेलले प्रधानमन्त्री प्रचण्डले यसमा परिवर्तन गर्न खोजे पनि गठबन्धनमा समस्या रहेको बताए। उनले भने, ‘कतिपयले त्यो नचाहेका हुन सक्छन्। यो समस्या प्रधानमन्त्री र अर्थमन्त्रीबीच मात्र नभई गठबन्धनभित्रकै समस्या हो।’  उपमहासचिव पोखरेलले प्रधानमन्त्री सरकार हेरफेर गर्न लागे पनि कांग्रेसले नचाहेको बताउँछन्।

यसैगरी अर्थमन्त्रीका लागि कमांग्रेसमा धेरै आकांक्षी भएकाले पनि समस्या रहेको उनले बताए। ‘कांग्रेसमा अर्थमन्त्रीका लागि धेरै आकांक्षी भएकाले देउवा मन्त्रिपरिषद् हेरफेरमा लागेका छैनन्। कांग्रेसको महासमिति बैठकपछि केही होला।’

अर्थमन्त्री डा. महत भने आफूसित प्रधानमन्त्रीको मनमुटाव भएको कुरा स्विकार्न चाहँदैनन्। केही विषयमा आन्तरिक रूपमा बहस र छलफल भए पनि त्यसलाई मनमुटाव भन्न नहुने उनले बताए। डा. महतले हिमाल प्रेससँग भने, ‘प्रधानमन्त्रीज्यूसँग केही विषयमा बहस र छलफल भएका हुन्। तर बाहिर भनेजस्तो मनमुटाव छैन।’ उनले आफूले आफ्नो तर्फबाट काम गरिरहेको बताए। महतले भने, ‘प्रधानमन्त्रीको चित्त दुख्ने गरी मैले काम गरेको छैन।’

प्रधानमन्त्री कार्यालयका पदाधिकारीहरू पनि केही विषयमा छलफल र बहस भए पनि त्यसलाई ठूलो रूपमा लिन नहुने बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + fourteen =