सीप मेलामा बालेनको ‘हाई-हाई’

हिमाल प्रेस २५ वैशाख २०८१ ६:३४
32
SHARES
सीप मेलामा बालेनको ‘हाई-हाई’

काठमाडौँ- बालेन अर्थात् काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहलाई सामाजिक सञ्जालमा धेरै पछ्याएको पाइन्छ। सांगीतिक क्षेत्रमा पनि संलग्न बालेन मेयरमा निर्वाचित हुनुअघिदेखि नै र्याप गायनका कारण नयाँ पुस्तामा लोकप्रिय छन्। पछिल्लो समय भने उनलाई बेरोजगार युवाले खुलेर प्रशंसा गरेको भेटिएको छ।

सन्दर्भ हो, काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमको। बेरोजगार युवालाई सीपमूलक तालिम दिएर रोजगारी दिने यो अभियान वैशाख १९ गतेदेखि सुरु भएको हो। कार्यक्रम जेठ २५ गतेसम्म चल्ने महानगरपालिकाले जनाएको छ।

एक महिनाअघि महानगरका प्रमुख शाहले चालु आर्थिक वर्षभित्र २०८१ जनाले रोजगारी दिनेगरी ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ को घोषणा गरेका थिए। गरिबी, फुटपाथबाट लेखेटिएका वर्ग, पिछडिएका नागरिक र अन्य क्षेत्रका नागरिकलाई रोजगारी दिने उनको प्रतिबद्धता छ। सोहीअनुसार गत सातादेखि महानगरले टुँडिखेलमा रोजगारीको खोजीमा रहेका युवाको आवेदन लिइरहेको छ। त्यसमा रोजगारदाता कम्पनी आफैँ संलग्न छन्।

काठमाडौँ कोटेश्वरकी स्मिता राई रोजगारी पाउन निकै गाह्रो भएका बेला यस्तो सीपमा सहभागी हुन पाउँदा उत्साहित भएको बताए। उनले यहाँ सीप सिकेपछि आफैँले केही गर्न सकिने उनको भनाइ छ।

उनले भनिन्,  बालेन शाहजस्ता व्यक्तित्व अझै धेरै चाहियो यो देशमा। यसो भएमा स्वदेशमै युवाले केही गर्न सक्छन्। यस्ता अवसर पाएमा विदेशमा कोही नजाने उनले बताइन्।

२०८१ जनालाई ३४ क्षेत्रमा रोजगारी दिने लक्ष्यका साथ सञ्चालन गरिएको कार्यक्रममा एक महिनाभित्र ६० हजारभन्दा बढी कामको खोजीमा रहेका युवाले आवेदन दिने महानगरको अनुमान छ। महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार कार्यक्रमबाट करिब पाँच हजार रोजगारी सिर्जना हुनेछ।

टँडिखेलमा आवेदन दिन आएका युवा काठमाडौँ महानगरले गरेजस्तो ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रम हरेक स्थानीय तहले गर्नुपर्ने बताउँछन्। काठमाडौँमा जसरी देशभरका सबै स्थानीय तहले यस्तो अभियान सञ्चालन गरेमा धेरै युवा आत्मनिर्भरको बाटोमा लाग्ने उनीहरूको बुझाइ छ।

काठमाडौँस्थित बानेश्वर क्याम्पसमा अध्ययरत पोखराका जीवन सार्की लाइट भेहिकल मेन्टिनेन्स तालिमका लागि आवेदन दिन टुँडिखेल पुगेका भेटिए। सानैदेखि लाइट भेहिकल मेन्टिनेन्सको तालिम लिने इच्छा रहेको उनी बताउँछन्।

महानगरले युवा केन्द्रित तालिम सञ्चालन गरेर विद्यार्थीलाई रोजगारीका लागि सहजीकरण गरेको सार्कीले बताए। ‘महानगरले तालिमसहित रोजगारीका लागि आवेदन लिइरहेको छ। मैले ठूलो आस बोकेर लाइट भेहिकल मेन्टिनेन्स तालिमका लागि परामर्श लिएँ’, उनले भने, ‘सरकारले रोजगारीको खोजीमा रहेका युवालाई यस्तै कार्यक्रम सञ्चालन गर्नुपर्छ। अध्ययन सकेपछि कम्तीमा यति काम सिकेको छु भनेर रोजगारीका लागि आवेदन दिन समस्या हुँदैन।’

चितवनकी अमृता भुजेल पनि टुँडिखेलमा कौसी खेती (भर्टिकल फार्मिङ) तालिमका लागि परामर्श लिन पुगेकी भेटिइन्। रोजगारदाताले सीपयुक्त जनशक्तिका लागि तालिम र रोजगारीका लागि परामर्श दिएकोमा उनी खुसी छन्।

उनले काठमाडौँ महानगरले यस्तो कार्यक्रम सञ्चालन गरेर राम्रो काम गरेको बताइन्। ‘सम्बन्धित रोजगारदातासँग मैले लिने तालिमका बारेमा जिज्ञासा राखेँ। हाम्रो परिवार चितवनमा कौसीखेती गर्दै आएकाले रोजारदाताहरूले पनि मेरो रुचिका विषयमा राम्ररी सुन्नुभयो। त्यही भएर तालिमको आस पनि लिएकी छु’, उनले भनिन्। तालिम लिएर कौसी खेती गर्ने योजना रहेको उनले सुनाइन्।

नुवाकोटका प्रवीण घिमिरे सरकारले पनि काठमाडौँका प्रमुख शाहले जस्तै श्रमशक्ति उत्पादनका लागि कार्यक्रम ल्याउनुपर्ने बताउँछन्। उनले भने, ‘सीप नभएका युवा वैदेशिक रोजगारीमा जोखिम मोलेर काम गर्न गइरहेका छन्। काठमाडौँ महानगरले जस्तै अन्य स्थानीय तहले पनि रोजगार केन्द्रित तालिम सञ्चालन गर्ने हो भने उनीहरूले लाभ लिनेछन्।’

काम गर्न ठूलो योजना र पैसा नचाहिने उनको बुझाइ छ। ‘राम्रो काम गर्न खोज्नुपर्छ। त्यसपछि काम गर्न अप्ठयारो हुँदैन भन्ने उदाहरण काठमाडौँ महानगरका मेयरले दिनुभएको छ’, उनले भने।

महानगरले प्रस्तुत योजना कार्यान्वयनका लागि १० करोड रुपैयाँ विनियोजन गरेको प्रवक्ता मानन्धरले जानकारी दिए। कार्यक्रममा ७० वटाभन्दा बढी रोजगारदाता कम्पनीले युवालाई रोजगारीसँग तालिमका विषयमा परामर्श दिइरहेका छन्।

यसअन्तर्गत उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), फेडेरेसन अफ नेप्लिज इन्डस्ट्री (सीएनआई), नेपाल उद्योग परिसंघ, (कन्फेडेरेसन अफ नेप्लिज इन्डस्ट्रिज, सीएनआई), चेम्बर अफ कमर्स काठमाडौँ जस्ता उद्योग वाणिज्य क्षेत्रसँग सम्बन्धित संस्था, काठमाडौँ विश्वविद्यालयसहित शैक्षिक प्रतिष्ठान, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) लगायत तालिम प्रदायक संस्था र केही उद्यमीहरू सहभागी छन्। यी सबै संस्थाले अहिले टुँडिखेलमा स्टल राखेर तालिम र रोजगारीका लागि आवेदन दिएका युवालाई परामर्श दिइरहेका छन्।

महानगरपालिकाले १० वटा विधाका ३० भन्दा बढी क्षेत्रमा तालिम दिइरहेको छ। तालिमका कक्षा हरेक दिन बिहान ८ बजे सुरु हुन्छन्। तालिमका फास्टफुड एन्ड कुकिङ र बेकरीका कक्षाहरू ४/४ घण्टा हुन्छन्। अरु कक्षाहरू ३/३ घण्टा हुन्छन्।

तालिमहरू ७ दिन, १५ दिन र ३० दिन समयावधिका छन्। रोजगार संयोजक देवेन्द्र केसीका अनुसार प्रशिक्षक र प्रशिक्षार्थी दुवैलाई समयको पालनामा ध्यान दिन लगाइएको छ। एकै समयमा कक्षा सुरु हुने र एउटै समयमा सकिने भएकोले कसैबाट कसैलाई डिस्टर्भ नहुने उनले बताए।

अटो मोबाइल्समा तीनवटा पेसासँग सम्बन्धित तालिम छन्। पहिलो पेसा अटो इलेक्ट्रिक हो। यो १५ दिन अवधिको तालिम हो। दोस्रो अटो एअर कन्डिसन हो। यो पनि १५ दिनकै तालिम हो। तेस्रो इलेक्ट्रिकल कार रिपेयर (इभी) हो। यसमा ३० दिनको कक्षा हुनेछ।

निर्माण विधामा डकर्मी, टाइल एन्ड मार्बल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ गरी चार वटा पेसासँग सम्बन्धित तालिम छन्। यी सबै तालिम ३० दिन अवधिका रहेको केसीले जानकारी दिए।

हस्पिटालिटी एन्ड म्यानेजमेन्ट विधामा वारिस्ता, फास्ट फुड एन्ड कुक, बेकरी, वार टेन्डिङ र वेटररवेट्रेस तालिम छन्। यीमध्ये फास्ट फुड कुक १५ दिनको तालिम हो भने अरू ७ दिन अवधिका हुन्।

सूचना प्रविधि (इन्फरमेसन एन्ड टेक्नोलोजी) विधामा ४ वटा पेसाका तालिम छन्। डिजिटल मार्केटिङ, कम्प्युटर हार्डवेयर एन्ड नेटवर्किङ, सीसीटीभी क्यामरा र मोबाइल रिपेयरिङका कक्षा चलिरहेको केसीले बताए। यीमध्ये सीसीटीभीको कक्षा ७ दिन र अन्य पेसका कक्षा १५ दिन चल्नेछन्।

मेकानिकल विधामा दुईवटा पेसा छन्। वेल्डिङ पेसाको १५ दिन र  रेफ्रिजेरेटर एन्ड एसी टेक्निसियनको ३० दिन तालिम हुनेछ।

आर्ट एन्ड कल्चरमा आर्ट एन्ड स्कप्चरको तालिम चलेको छ। यसको अवधि १५ दिनको हुनेछ।

गार्मेन्ट्स विधामा टेलरिङ, ड्रेस मेकर र फेसन डिजाइनिङ गरी २ वटा पेसासँग सम्बन्धित कक्षा चलेका छन्। यी दुवै १५ दिन अवधिका तालिम हुन्। टेलरिङ र डेस मेकरमा अत्यधिक माग भएकोले यसलाई हरेक सिफ्टमा २/२ वटा कक्षा चलाइएको छ।

ब्युटिसियनमा पाँचवटा पेसा समेटिएका छन्। यसमा नेल आर्ट, हेयर कट एन्ड स्टायल र सैलुन १५/१५ दिन अवधिका हुन्। मेक अप आर्ट, आइलेस आर्ट सात दिन अवधिका छन्।

डिजाइनिङ विधामा सात दिन अवधिको स्क्रिन प्रिन्टको कक्षा छ। पुरोहित विधामा १५ दिन अवधिको पुरोहित र सात दिन अवधिको ज्योतिष तालिम चलिरहेका छन्।

तालिमको अन्तिम दिन रोजगार मेला हुनेछ। यस दिन रोजगारदाताहरू स्टलमा रहनेछन्। सम्बन्धित रोजगारदातासँग सम्बन्धित तालिम प्राप्त व्यक्तिहरू सम्पर्कमा गएर आफ्नो सीपका बारेमा बताउनेछन्।  यही ठाउँबाट धेरै बेरोजगारले रोजगार पाउने केसी बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 8 =