भूराजनीतिक भुमरीमा विश्व महिला टेनिस र साबालेङ्काको सपना

हिमाल प्रेस १८ माघ २०७९ २१:३३
12
SHARES
भूराजनीतिक भुमरीमा विश्व महिला टेनिस र साबालेङ्काको सपना

काठमाडौँ- एरिना साबालेङ्काले अन्ततः पहिलोपल्ट अस्ट्रेलियन ओपन जितिन्। साबालेङ्काको जित उनी आफ्ना लागि मात्र नभई विश्व महिला टेनिसका लागि पनि सुखद खबर हो। किनभने उनको उदय यस्तो बेला भएको छ जति बेला महिला टेनिसले क्रमशः स्टार खेलाडी गुमाइरहेको छ।

पछिल्ला दुई वर्ष लगातार यूएस ओपनको सेमिफाइनलसम्म पुगेकी साबालेङ्का अस्ट्रेलियन ओपनमा भने चौथो चरण कट्न सकिरहेकी थिइनन्। यसपल्ट च्याम्पियन बनेकी यी २४ वर्षीय बेलारुसी खेलाडी र सिंगो महिला टेनिसका लागि आगामी बाटो भने कठिन छ। यसको कारण हो, भूराजनीति।

यसअघि ग्रान्डस्लाममा उतिसारो आत्मविश्वासी देखिन नसकिरहेकी साबालेङ्काले अस्ट्रेलियन ओपनको उपाधि उचाल्न फाइनलमा विम्बल्डन च्याम्पियन एलेना रिबाकाइनालाई पराजित गरिन्। यो सफलताले साबालेङ्कालाई महिला टेनिस वरीयताको दोस्रो स्थानमा पुर्‍यायो। शीर्षस्थान पोल्यान्डकी इगा स्वाटेक ओगटिरहेकी छन्।

तीन पटक ग्रान्डस्लाम जितेकी स्वाटेक यसपालिको अस्ट्रेलियन ओपनको चौथो चरणबाटै घर फर्किइन्। मेलबर्नमा असफल भए पनि स्वाटेक आगामी कयौँ वर्ष साबालेङ्कासँग विश्व टेनिसको ठूला मञ्चमा भिडिरहने अनुमान गरिएको छ। रोचक त के छ भने, यी दुई गत वर्ष डब्लूटीएको सेमिफाइनलमा भिडेका थिए। जसमा साबालेङ्का विजयी भएकी थिइन्।

सेरेना विलियम्स टेनिसबाट टाढिएपछि डब्लूटीए (विश्व महिला टेनिस महासंघ) नयाँ स्टारको खोजीमा रहँदै आएको छ। यस्तोमा स्वाटेकसँगै साबालेङ्कालाई उदाउँदो स्टारका रुपमा हेरिएको छ। तर भूराजनीतिका कारण साबालेङ्काका लागि आगामी बाटो सहज छैन।

रुसले युक्रेनमाथि हमला गरेपछि अन्तर्राष्ट्रिय खेल मञ्चमा रुसी खेलाडीले सास्ती भोगिरहेका छन्। हमलामा रुसलाई सघाइरहेका बेलारुसका खेलाडीलाई समेत ग्रान्डस्लाम लगायतका प्रतियोगितामा आफ्नो देशको प्रतिनिधि बन्न रोक लगाइएको छ। यसकारण रुस र बेलारुसका खेलाडी तटस्थ भएर अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा प्रतिस्पर्धा गरिरहेका छन्।

गत वर्ष विम्बल्डनमा भने रुस र बेलारुसका खेलाडीलाई खेल्नै दिइएन। रुस–युक्रेन युद्ध रोकिने छाँटकाट नभएकाले नयाँ संस्करणको विम्बल्डनमा रुसी र बेलारुसी खेलाडीले खेल्न पाउँछन् वा पाउँदैनन् भन्ने अन्योल छ।

विम्बल्डनमा रुस र बेलारुसका खेलाडीलाई सहभागी हुन नदिने निर्णयसँगै अर्को पनि निर्णय गरिएको थियो, लन्डनमा हुने त्यस ग्रान्डस्लामबाट कसैले पनि वरीयता अंक प्राप्त नगर्ने। त्यस निर्णयको असरले आज पनि विश्व टेनिसलाई छाडेको छैन। यसको सिकार बन्ने खेलाडीहरूमध्ये एक रायबाकिना पनि हुन्। विम्बल्डन जिते पनि त्यहाँबाट उनले कुनै अंक पाइनन्। पाएको भए उनी अस्ट्रेलियन ओपनको वरीयतामा अगाडि हुने थिइन्।

वरीयतामा तल परेकै कारण २३ वर्षीय रिबाकाइनाले बलिया विपक्षीलाई पन्छाउँदै अघि बढ्नु परेको थियो। जसमा एक थिइन्, स्वाटेक। अस्ट्रेलियन ओपनको फाइनलमा पुगेसँगै उनको वरीयतामा व्यापक सुधार आएको छ। उनी २५ औँ स्थानबाट १० औँ स्थानमा पुगेकी छन्।

चीनसँगको तिक्तता
चिनियाँ महिला खेलाडी अन्तर्राष्ट्रिय टेनिसमा निरन्तर उकालो लागिरहेका छन्। अस्ट्रेलियन ओपनको अन्तिम १६ मा झाङ शुआई र झु लिन पुग्नु यसको उदाहरण हो। महिला खेलाडीको सफलताका कारण सधैँ ओझेलमा पर्ने गरेका चिनियाँ पुरुष टेनिसका प्रतिनिधि शाङ जुनचेङ यसपालि अस्ट्रेलियन ओपनमा खेल जित्ने पहिलो चिनियाँ पुरुष खेलाडी बने।

कोभिड–१९ सम्बन्धी नियमका कारण चीनमा पछिल्लो तीन वर्षदेखि अन्तर्राष्ट्रिय टेनिसले प्रवेश पाउन सकेको छैन। तर नियम खुकुलो भएसँगै चीनमा यो वर्ष तीन अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदैछन्। तर ती सबै पुरुष प्रतियोगित हुनेछन्।

अन्तर्राष्ट्रिय महिला टेनिसका भने कुनै प्रतियोगिता हुने छैनन्। यसको कारण महिला टेनिस नियामक निकाय डब्लूटीए र चीनबीचको सम्बन्ध हो। कुनै समय डबल्सतर्फ विश्व नम्बर एक रहेकी पेङले सन् २०२१ मा चीनका एक उच्च अधिकारीलाई यौन दुर्व्यवहार आरोप लगाएपछि नजरबन्दमा परेको शंका गरिएको थियो। जसको भरपूर विरोध डब्लूटीएले गर्‍याे। त्यसयता डब्लूटीए प्रतियोगिता लिएर चीन फर्किएको छैन।

पेङले पछि आफूले कुनै किसिमको आरोप नलगाएको बताएकी थिइन्। यद्यपि त्यसबीचमा डब्लूटीएले पेङ साँच्चै अप्ठ्यारोमा परेको र यस विषयमा औपचारिक छानबिन हुनुपर्ने मागमा अडिग देखिएको थियो। डब्लूटीएको यो अडानले चीनियाँ सरकार रुष्ट बन्न पुग्यो। जसको असर अहिले पनि कायम छ।

त्यसअघि डब्लूटीएले चीनमा लगातार प्रतियोगिता आयोजन गर्ने गर्थ्याे। सन् २०१९ मा मात्र विभिन्न चिनियाँ सहरमा नौ अन्तर्राष्ट्रिय प्रतियोगिता भएका थिए। तर डब्लूटीए र चीनबीच सम्बन्ध चिसिएपछि विश्व महिला टेनिसमा एसियाली पावरहाउसको सक्रियतामा कमी आएको छ। जसकारण सिंगो विश्व महिला टेनिसलाई असर पुगेको बताइँदैछ।

रोयटर्सको सहयोगमा

प्रकाशित: १८ माघ २०७९ २१:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + two =