अस्ट्रेलियन ओपनमा जोकोभिचकाे बलियाे पुनरागमन

हिमाल प्रेस ३ माघ २०७९ २०:४१
12
SHARES
अस्ट्रेलियन ओपनमा जोकोभिचकाे बलियाे पुनरागमन

काठमाडौँ- नोभाक जोकोभिचले अस्ट्रेलियन ओपनमा जितसहित पुनरागमन गरेका छन्। गत वर्ष प्रतिबन्धमा परेपछि खेल्न नपाएका जोकोभिचले मंगलबार आफ्नो पहिलो खेलमा स्पेनका रोबर्टो कारबेलास बाइनालाई सहजै पराजित गरे।

मेलबर्न पार्कको रोड लेभर ऐरिनामा जोकोभिचले ६–३, ६–४, ६–० को जित दर्ता गरे। गएको वर्ष कोभिड–१९ नियम पालना नगरेको भन्दै जोकोभिचलाई अस्ट्रेलियन ओपन खेल्न त दिइएन नै, भिसामा समेत प्रतिबन्ध लगाइएको थियो।

गत नोभेम्बरमा भिसा प्रतिबन्ध खुलेपछि जोकोभिचका लागि वर्षको पहिलो ग्रान्डस्लाम खेल्ने ढोका खुलेको थियो। एडलेइड ओपन खेल्ने भन्दै अस्ट्रेलियन ओपन सुरु हुनुअघि नै मेलबर्न ओर्लिएका जोकोभिचलाई स्थानीय समर्थकले कस्तो प्रतिक्रिया देलान् भन्ने डर थियो।

तर मंगलबारको खेलमा जोकोभिचलाई स्थानीय समर्थकले भरपुर समर्थन गरे। उनी कोर्टमा पस्दै गर्दा नै दर्शकदिर्घाबाट उनको पक्षमा नारा लागेको थियो। ‘यति न्यानो स्वागत गरिन्छ भनेर सोचेकै थिइनँ। सबैलाई धन्यवाद। अस्टे«लिया फर्कन पाउँदा असाध्यै खुसी लागेको छ। यो कोर्ट मेरा लागि महत्त्वपूर्ण छ। किनभने यहाँ म सर्वाधिक सफल ठहरिएको छु,’ नौ पटक अस्ट्रेलियन ओपन जितेका जोकोभिचले भने।

२२ औँ पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका जोकोभिच हाल बलियो लयमा छन्। सन् २०२२ को अन्त्यमा एटीपी फाइनल जितेका जोकोभिच एडलइड ओपनमा पनि च्याम्पियन बनेका थिए। लगातार दुई उपाधि जितेर मेलबर्न पार्कमा आइपुगेका जोकोभिचका बाइनाविरुद्ध सुरुबाटै आक्रामक देखिए।

‘नतिजाका कारण अत्यन्तै खुसी छु। विशेषगरी तेस्रो सेटमा गरेको प्रदर्शनले सन्तुष्टी मिलेको छ। मलाई लाग्छ विपक्षीलाई मैले सहज रुपमा खेल्न दिइनँ। उनले दोस्रो सेटमा तारिफयोग्य खेल देखाए। समग्रमा भन्दा उनी अन्तिमसम्मै लडिरहे,’ जोकोभिचले आफ्ना विपक्षीमाथि टिप्पणी गरे।

अस्ट्रेलियन ओपनमा लगातार २१ खेलमा अपराजित जोकोभिचले जितेको ग्रान्डस्लाम पनि २१ नै हो। गत वर्ष विम्बल्डन जितेका उनी सर्वाधिक ग्रान्डस्लाम जित्ने कीर्तिमान बराबरी गर्न चाहन्छन्। यो कीर्तिमान राफाएल नाडालको नाममा छ।

उसो त जोकोभिचसामु अर्को कीर्तिमान पनि बराबरी अवसर छ। त्यो हो, एउटै ग्रान्डस्लाम १० जित्ने कीर्तिमान। उनले अस्ट्रेलियन ओपन नौ पटक जिततिसकेका छन्। यस्तो कीर्तिमान नाडाल र मारगारेट कोर्टको नाममा छ। नाडालले फ्रेन्च ओपन १४ पटक र कोर्टले अस्ट्रेलियन ओपन ११ पटक जितेका छन्।

प्रकाशित: ३ माघ २०७९ २०:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =