विश्व नम्बर तीन कास्पर रुड पनि अस्ट्रेलियन ओपनबाट बाहिरिए

हिमाल प्रेस ५ माघ २०७९ १४:०१
4
SHARES
विश्व नम्बर तीन कास्पर रुड पनि अस्ट्रेलियन ओपनबाट बाहिरिए

काठमाडौँ- राफाएल नाडालपछि कास्पर रुड अस्ट्रेलियन ओपनबाट बाहिरिने अर्का स्टार बनेका छन्। मेलबर्नमा जारी वर्षको पहिलो ग्रान्डस्लाममा रुडलाई बिहीबार अमेरिकाका जेन्सन ब्रुक्सबीले पराजित गरेका हुन्। रुडलाई पनि नाडाल जस्तै खेलको बीचमा उपचार गर्नु परेको थियो।

रोड लेभर ऐरिनामा सुरुवाती दुई सेट ६–३, ७–५ ले गुमाएका रुडले केही समय आफ्ना फिजियोसँग बिताएका थिए। त्यसपछि कोर्ट फर्र्किएका उनी ६–७ (४/७), ६–२ ले बाँकी सेटमा पराजित भए।

अस्ट्रेलियन ओपनको वरीयतामा शीर्ष दुईमा रहेका दुई स्टार लगातार बाहिरिनु नोभाक जोकोभिचका लागि सुखद खबर हो। जो १० औँ पटक यो ग्रान्डस्लाम जित्ने लक्ष्यमा छन्। उता रुड विश्व वरीयताको शीर्षस्थानमा पुग्ने सम्भावनाबाट तत्कालका लागि वञ्चित भए।

‘पहिलो कुरा त कास्पर लडाकु हुन्। उनीविरुद्धको खेल सजिलो हुने छैन भन्ने थाहा थियो। उनी जत्तिको खेलाडीलाई हराउन सक्नु गर्वको कुरा हो। आज मैले म मानसिक रुपमा कति बलियो छु भनेर प्रमाणित पनि गरे। मलाई लाग्छ मैले अन्तिमसम्मै ध्यान नगुमाई खेल्न सकेँ,’ विश्व वरीयताको ३९ औँ स्थानमा रहेका २२ वर्षीय ब्रुक्स्बीले भने।

हाल विश्व नम्बर एक कार्लोस अल्कारेज हुन्। चोटका कारण उनी यो ग्रान्डस्लाममा सहभागी छैनन्। यस्तोमा यो प्रतियोगिता जित्दै अल्कारेजको स्थान लिने अवसर अब दुई खेलाडीसामु छ। ती हुन्, जोकोभिच र स्टेफानोस सितसिपास।

पहिलो पटक अस्ट्रेलियन ओपन खेलिरहेका ब्रुक्स्बीले अब तेस्रो चरणमा टोमी पउलको सामना गर्नेछन्। अमेरिकी खेलाडी पउलले स्पेनका अलेहान्द्रो डाभिडोभिच फोकिनालाई हराएर तेस्रो चरणमा स्थान पक्का गरेका हुन्।

प्रकाशित: ५ माघ २०७९ १४:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 9 =