राष्ट्रपतिमा कांग्रेस दाउ : ओली-प्रचण्ड जुधाएर गोल हान्‍ने!

हिमाल प्रेस ६ माघ २०७९ १०:४४
12
SHARES
राष्ट्रपतिमा कांग्रेस दाउ : ओली-प्रचण्ड जुधाएर गोल हान्‍ने!

काठमाडौँ- ४ मंसिरमा सम्पन्न आमचुनावपछि मुलुकले कार्यपालिका, व्यवस्थापिकाको नेतृत्व चयन गरेको छ। राष्ट्रपतिले आह्वान गरेअनुसार पुस १० गते सरकार बनाएका एमाले र माओवादी गठबन्धनले बिहीबार सभामुखमा पनि आफ्नो उम्मेदवारलाई जिताएका छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री छन्। उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिइसके।

बिहीबार एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित भएका छन्। प्रधानमन्त्री बनाउन चुकेको सबैभन्दा ठूलो दल कांग्रेसले सभामुखमा उम्मेदवारी दिएर वर्तमान सत्ता गठबन्धन फुटाउन गरेको प्रयास सफल भएन।

तर सभामुख निर्वाचनमा गठबन्धन टुटाउने प्रयासमा केही सफलता मिलेको कांग्रेस नेता चन्द्र भण्डारी बताउँछन्। उनका अनुसार वर्तमान सत्ता गठबन्धन टुटाउने मिसन सभामुखमा थियो, जो पूरा भएको छ। नेता भण्डारी भन्छन्, ‘आफ्नो पक्षको गठबन्धन टुटेपछि अर्को पक्षको गठबन्धन टुटाउन लागिरहन्छ त्यो निरन्तर प्रक्रिया हो। मिसन सभामुख थियो त्यो सफल भएन, अबको मिसन राष्ट्रपतिमा हुन्छ।’

उस्तै अभिव्यक्ति कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको पनि छ। जनताले सरकार र शीतल निवासको नेतृत्वको अपेक्षा गरेर नै कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाएको उनको भनाइ छ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सभामुखको निर्वाचनमा सोचेअनुसारको परिणाम हासिल गर्न नसकेको स्वीकार गर्छन्। अबको मिसन राष्ट्रपति भएको र राष्ट्रपतिको चुनावमा मिसन पूरा हुने उनको दाबी छ।

नेता पौडेल भन्छन्, ‘सभामुखमा यस्तै भयो। राष्ट्रपतिको बेला आएको छैन।’

वरिष्ठ नेता पौडेल सभामुखको निर्वाचनअगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीका अनुसार दुई नेताबीच आधा घण्टा संवाद भएको थियो। पौडेल स्वयम् राष्ट्रपति पदका आकांक्षी छन्।

कार्यपालिका, व्यवस्थापिकाको नेतृत्व चयन गरिसकेका दलहरू अब राष्ट्रपतिको चुनावमा केन्द्रित भएका छन्। उक्त सर्वोच्च निकायमा पुग्न दलहरू आन्तरिक र बाह्य खेलमा लागिसकेका छन्। यो खेलमा स्वयम् माओवादी र एमालेको भूमिकालाई लिएर कतिपयले आशंका गरेका छन्। त्यसको कारण स्वयम् एमाले र माओवादी नेतृत्व हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवार उठाउने र त्यसमा सबै दल सहमत हुने दाबी गरे। संसद् बैठकपछि बाहिरिने क्रममा बिहीबार पत्रकारहरूसँग उनले भने, ‘राष्ट्रिय सहमतिमा हुनुपर्छ, एमालेले उम्मेदवार उठाउँछ, हाम्रो सहमति त्यही हो। त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ।’

तर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिबारे समझदारीको कोसिस भइरहेको बताएका छन्। संसद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले भने, ‘राष्ट्रपतिको कुरामा अझै समय बाँकी छ। हामी सत्ता साझेदार र मेरो पनि कुनै एउटा समझदारी बनिदिए हुन्थ्यो भन्ने कोसिस छ। हामी त्यो कोसिस जारी राख्छौँ।’

सजिलो छैन गठबन्धन तोड्न

यति बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री छन्। उनी कांग्रेससँग गठबन्धन गरेर स्थानीय तह निर्वाचनमा गए। प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि माओवादीले कांग्रेससँग नै गठबन्धन गरेको थियो। त्यो गठबन्धन एमालेविरुद्ध थियो। दुवै दलका नेताले एमालेले चुनाव जितेमा देशमा प्रतिगमन हुने तथा संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान धरापमा पर्ने दाबी गर्दै जनमत बटुले।

तर कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वसहमति पालना नगरेको भन्दै माओवादी अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष ओलीसँग नजिक हुन पुगे। प्रधानमन्त्रीमा प्रचण्ड भए पनि शक्तिमा ओली छन्। उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक भएर उनले सरकारलाई दिशा निर्देश गरिरहेका छन्।

संघमा जस्तै प्रदेशमा पनि एमाले-माओवादी गठबन्धनको सरकार बनिसकेको छ भने सभामुख एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन्। ओली अब राष्ट्रपति पनि आफ्नै दलको बनाउने कसरतमा छन्। ओलीले सभामुख र राष्ट्रपतिमा आफ्नो दलले पाउनुपर्ने सर्त राखेर नै प्रधानमन्त्रीमा प्रचण्डलाई अघि सारेका थिए।

सोही आधारमा ओलीले राष्ट्रपतिमा आफ्नै दलबाट प्रतिनिधित्व हुने दाबी गर्दै आएका छन्। यस्तो अवस्थामा कांग्रेसले कसरी ओली-प्रचण्ड सम्बन्धमा ‘दरार’ ल्याउन पहल गर्नेछ त्यो भने हेर्न बाँकी नै छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + twenty =