अन्त्य भएन चेल्सीको खराब समय

हिमाल प्रेस २९ पुष २०७९ १०:०३
8
SHARES
अन्त्य भएन चेल्सीको खराब समय

काठमाडौँ- चेल्सीको खराब समय चलेको धेरै भयो। इंग्लिस प्रिमियर लिगमा विश्वकपअघि लगातार तीन खेल हारेको चेल्सीले त्यसपछिका तीन खेलमा जम्मा एक जित दर्ता गरेको छ। विश्वकप विश्राम सकिएपछि फर्किएको लिगमा चेल्सीले बर्नमाउथलाई पराजित गरेको थियो।

त्यसपछि उसलाई नटिङहम फरेस्टले बराबरीमा रोक्यो। बिहीबार राति फुलहमसँग २–१ ले हार्‍यो। यो हार चेल्सीले यस्तो बेला सामना गर्‍याे जतिबेला उ अंक तालिकाको मध्यबिन्दूबाट माथि उक्लिन खोजिरहेको छ। लन्डन डर्बीमा तुलनात्मक रुपमा कमजोर विपक्षीसँग निराश बनेसँगै चेल्सीको हारको संख्या सात पुग्याे। उसले जितेको खेल संख्या पनि सात नै छ।

१८ औँ खेल खेलेको चेल्सी २५ अंक बटुल्दै १० औँ स्थानमा अड्किएकाे छ। चेल्सीमाथि महत्त्वपूर्ण जित दर्ता गरेपछि फुलहम भने छैटौँ स्थानमा उक्लियो। १९ खेल खेल खेलिसकेको फुलहमको खातामा अब ३१ अंक छ, जुन सातौँ स्थानको लिभरपुलको भन्दा तीन अंक बढी हो भने पाँचौँ स्थानको टोटनहमकोभन्दा दुई अंक बढी। यद्यपि लिभरपुल र टोटनहमले फुलहमको भन्दा एक–एक खेल कम खेलेका छन्।

चेल्सीका लागि यो हार त्यसै पनि पीडादायी थियो, त्यसमाथि जाओ फिलिक्सको रातो कार्डले त झनै कष्टप्रद बनाइदियो। एट्लेटिको म्याड्रिडबाट भर्खरै स्टामफोर्ड ब्रिज सरेका पोर्चुगलका यी युवा स्टारका लागि यो पहिलो खेल थियो। तर उनले ५८ औँ मिनेटमा केन्नी टेटेमाथि फउल गरेपछि सिधैँ रातो कार्ड पाए। जसकारण उनले आधा घण्टाअघि नै काराभान कटेज छाड्नु पर्‍यो।

लन्डन ओर्लिएको २४ घण्टापछि नै फिलिक्स चेल्सीको पहिलो एघारमा परेका थिए। म्यासन माउन्ट र काई हाभर्ट्ससँगै चेल्सीको अग्रपंक्ति सम्हालेका फिलिक्सको सुरुवात मजबुत थियो। रातो कार्ड पाउनुअघि उनले केही सुन्दर मौका पनि सिर्जना गरेका थिए।

फिलिक्सको डेब्यु खेल रातो कार्डका कारण बिर्सनलायकको बने पनि चेल्सी प्रशिक्षक ग्राहम पोर्टर भने २३ वर्षीय फरवार्डलाई लिएर उत्साहित छन्। ‘फिलिक्स आत्मविश्वासी खेलाडी हुन्। उनमा जोश छ। आफ्नो क्षमता र कौशललाई मैदानमा प्रस्तुत गर्ने खुबी छ। उनी एक दिनअघि मात्र आइपुगेकाले बाँकी खेलाडीसँग राम्रोसँग अभ्यास गर्न पाएका छैनन्। यसकारण उनी व्यक्तिगत खेल देखाउने प्रयासमा थिए,’ फिलिक्सबारे पोर्टरले भने।

मैदान छाड्नुअघि फिलिक्सले राम्रो खेल देखाएको पोर्टरको भनाइ थियो। ‘हामीले एकपछि अर्को व्यवधानको सामना गर्नु परिरहेको छ। फिलिक्सको रातो कार्ड पछिल्लो व्यवधान हो। उनले रातो कार्ड पाउँदा हामी निराश छौँ। किनभने उनले बलियो लय देखाइरहेका थिए। यो समय क्लब, समर्थक सबैका लागि कठिन छ,’ पोर्टरले भने।

सन् २०१९ मा बेनफिकाबाट एट्लेटिको गएका फिलिक्सले त्यहाँ एक सय ३१ खेलमा ३४ गोल गरेका थिए। सन् २०२१ मा एट्लेटिकोलाई ला लिगा जित्न सहयोग गरेका फिलिक्सले पोर्चुगलबाट गत महिना विश्वकप पनि खेले।

घरेलु मैदानमा फुलहमले २५ औँ मिनेटमा चेल्सीका पूर्वविंगर विलियानको गोलबाट अग्रता लिएको थियो। दोस्रो हाफ सुरु हुनसाथ कालिडौउ कौलीबालीले गोल गरेपछि चेल्सी खेलमा फर्कियो। फिलिक्सले मैदान छाडेपछि १० खेलाडीमा सीमित भएको चेल्सीले ७३ औँ मिनेटमा दोस्रो गोल खायो। यसपालि पनि फुलहमका लागि ब्रजिलकै खेलाडीले गोल गरे। त्यो पनि ब्राजिलकै खेलाडीको सहयोगमा।

मिडफिल्डर आन्द्रेस परेरको क्रसमा भिनिसियसले हेडर गोल गरेका थिए। म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी परेराका लागि लिगमा यो पाँचौँ असिस्ट थियो भने भिनिसियसका लागि पहिलो गोल।

हारपछि पोर्टरले दोस्रो गोल खानु असाध्यै निराशाजनक रहेको प्रतिक्रिया दिए। ‘मलाई खेलाडीको आलोचना गर्न मन लाग्दैन। तर दोस्रो गोल हाम्रै कमजोरीका कारण भयो। हामी १० खेलाडीमा सीमित भए पनि फुलहममाथि दबाब सिर्जना गर्न सक्थ्यौँ। तर त्यसो गर्न सकिएन। बरु सजिलै गोल खाइयो,’ पोर्टरले भने।

प्रकाशित: २९ पुष २०७९ १०:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 8 =