महँगा खेलाडी किनेको चेल्सीले गोल भेटेन

हिमाल प्रेस २१ माघ २०७९ ९:५७
8
SHARES
महँगा खेलाडी किनेको चेल्सीले गोल भेटेन

काठमाडौँ- घरेलु मैदानमै फुलहमसँग गोलरहित बराबरीमा रोकिएपछि चेल्सीका प्रशिक्षक ग्राहम पोर्टरले आफ्ना नयाँ खेलाडीलाई इंग्लिस प्रिमियर लिगमा अभ्यस्त हुन केही समय लाग्ने प्रतिक्रिया दिएका छन्।

प्रिमियर लिग इतिहासकै सर्वाधिक महँगा खेलाडी इन्जो फर्नान्डेज र मिखाइलो मुड्रिक पहिलो पटक स्टाम्फोर्ड ब्रिजमा ओर्लिएको खेलमा चेल्सीले गोल गर्न सकेन।

शुक्रबार राति यी दुईबाहेक नोनी माडुएके र डेभिड फोफानालाइ पनि पोर्टरले मौका दिएका थिए।

जनवरीको खेलाडी सरुवा बजारमा पोर्टरलाई ३० करोड पाउन्ड भन्दा बढी खर्च गर्न दिएका टोड ब्होली र बेहाद इगबाली पनि स्टाम्फोर्ड ब्रिजमा उपस्थित थिए। आफ्नो स्वामित्वमा आएपछि चेल्सीलाई सर्वाधिक खर्चालु क्लब बनाएका यी दुईले जितको खुसीयाली मनाउन पाएनन्।

यो बराबरीले चेल्सीलाई १० औँ स्थानबाट एक स्थानमाथि पु¥यायो। अब चेल्सीको खातामा २१ खेलबाट ३० अंक जम्मा भएको छ। जुन १० औँ स्थानको लिभरपुलको भन्दा एक अंक मात्र बढी हो। फेरि लिभरपुलले चेल्सीको भन्दा दुई खेल कम खेलेको छ।

‘टिममा धेरै नयाँ खेलाडी छन्। नयाँ देश, नयाँ लिगमा अभ्यस्त हुन समय लाग्छ। टिममा आउन साथ आफ्नो खेल देखाउन सक्छन् भन्ने छैन। उनीहरूले केही समय आफ्नो स्तरको खेल देखाउन नसक्दा तिरिएको स्थान्तरण रकमबारे कुरा उठ्ला। फुटबलमा यो स्वाभाविक हो,’ पोर्टरले भने।

चौथो स्थानबाट नौ अंक टाढा रहेको चेल्सीले गत महिना मात्र आठ नयाँ खेलाडी अनुबन्ध गरेको थियो। ती खेलाडी युवा रहेको र आउँदा खेलहरूमा टिमका बाँकी खेलाडीसँग अभ्यस्त हुने पोर्टरको विश्वास छ। ‘हामीसँग प्रतिभावान खेलाडीको समूह छ। विस्तारै एकअर्काको खेल बुझ्दै जानेछन्। टिम सेट भएपछि चेल्सी बलियो बन्नेमा शंका छैन,’ पोर्टर आशावादी देखिए।

तीन साताअघि फुलहमले चेल्सीलाई पराजित गरेको थियो। जुन फुलहमका लागि चेल्सीमाथि हासिल गरेको सन् २००६ यताकै पहिलो जित थियो। यही सिजन प्रिमियर लिगमा उक्लिएको फुलहम आफ्नो सहरी प्रतिद्वन्द्वी चेल्सीभन्दा उम्दा प्रदर्शन गरिरहेको छ। मार्को सिल्भा प्रशिक्षक रहेको यो टिम हाल चेल्सीभन्दा दुई अंक र तीन स्थानमाथि छ।

प्रकाशित: २१ माघ २०७९ ९:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 3 =