देउवाबाट तानाशाह जन्माउने खेल भयो : कांग्रेस नेता जगदीश्वरनरसिंह केसी

हिमाल प्रेस २६ पुष २०७९ २२:०५
46
SHARES
देउवाबाट तानाशाह जन्माउने खेल भयो : कांग्रेस नेता जगदीश्वरनरसिंह केसी

काठमाडौँ- पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धुन्धुकारी चरित्र देखाएको आरोप कांग्रेसकै नेता जगदीश्वरनरसिंह केसीले लगाएका छन्।

प्रचण्डलाई विश्वासको मत दिने देउवाको निर्णयले कांग्रेसले संसद्‌मा जिम्मेवार प्रतिपक्षको प्रभावकारी र लोकप्रिय भूमिका निर्वाह गर्नुपर्छ भन्ने कांग्रेसजनसहित कार्यकर्ताको आवाजमाथि कुठाराघात गरेको आरोप केसीको छ।

केसीले मंगलबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आखिर कांग्रेस नेतृत्वले वाम नेतृत्ववाला गठबन्धनलाई विश्वासको मत दिने निर्णय गरेर प्रचण्डको डोला बोक्ने चरित्र देखाएका छन्।’

यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री बनाएर उनको डोला बोक्ने डोले-तत्परतालाई एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले तुहाइदिएपछि नेतृत्वले कांग्रेसघाती निर्णय गरेको आरोप उनको छ।

उनले संसद्‌मा मोलाहिजाबाट मुक्त, सशक्त र निर्भीक जिम्मेवार प्रतिपक्षको उपस्थिति संसदीय लोकतन्त्रको अनिवार्य आधार रहेको स्मरण गराएका छन्।

उनले भनेका छन्, ‘तर कांग्रेस नेतृत्वको ओहोदामा विराजमान व्यक्तिले नै मुख्य प्रतिपक्षको अस्तित्व मटियामेट गरेर सत्तासमक्ष लम्पसार पर्नु भनेको कांग्रेसले वरण गरेका मूल्य, मान्यता, सिद्धान्त, नीति र आदर्शलाई सत्ताको भोकमा मटियामेट गराउने धुन्धुकारी चरित्र हो। संसद्‌बाट खुंखार तानाशाहको जन्म गराउने सुँडेनी खेल हो।’

केसीको प्रश्न छ, ‘प्रचण्ड नेतृत्वको गैरकांग्रेस गठबन्धन सरकारलाई नाकमा नत्थी लगाए जस्तो गरी समर्थन गर्नु थियो भने निर्वाचनपछि दुई वर्षका लागि उनलाई प्रधानमन्त्री बन्नबाट रोक्न नेतृत्वले टाङ अडाउनुपर्ने के बाध्यता थियो? यस्तै उनले प्रचण्डलाई विश्वासको मत दिनुलाई बुद्धिमत्ता मान्ने हो भने हिजो त्यो ‘बुद्धि’ कता हराएको थियो भनेर पनि प्रश्न उठाएका छन्।

उनले भनेका छन्, ‘गठबन्धनका उम्मेदवारलाई मत नदिने कांग्रेस नेताकार्यकर्तालाई कारबाहीको डण्डा चलाउने ने नेतृत्वको खेलवाडले निष्ठाको जनमुखी–राजनीति गरिरहेका कार्यकर्ताको प्रतिष्ठा र हुर्मत हरेर कारबाही चलाउने हर्कतको क्षतिपूर्ति कसरी हुन्छ?’

यसैगरी केसीले इतिहास लेख्ने हातलाई कसैले रोक्न नसक्ने भन्दै वर्तमान र भावी पुस्तामाथि कुठाराघात गर्ने यस्ता कांग्रेसघाती खेललाई इतिहासले कदापि सम्मानजनक अध्याय नदिने दाबी गरेका छन्।

प्रकाशित: २६ पुष २०७९ २२:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =