नेपालमा खेलेर फर्किएको कासिरान्योमाथि रियल म्याड्रिडको साँघुरो जित

हिमाल प्रेस २० पुष २०७९ ११:२१
2
SHARE
नेपालमा खेलेर फर्किएको कासिरान्योमाथि रियल म्याड्रिडको साँघुरो जित

काठमाडौँ- स्पेनिस घरेलु कप कोपा डेल रेमा मंगलबार राति रियल म्याड्रिड, एडी कुएटा एफसी, लेभान्टे र स्पोर्टिङ गियोन विजयी भएका छन्। अन्तिम ३२ का खेलमा रियलले चौथो श्रेणीको कासिरेन्योमाथि १–० को संघर्षपूर्ण जित हात पार्दा तेस्रो श्रेणीको कुएटाले ला लिगा खेल्ने एल्चेलाई १–० ले स्तब्ध पार्‍यो।

त्यसैगरी दोस्रो श्रेणीका दुई टिमले ला लिगा खेल्ने टिमहरूलाई पराजित गरे। लेभान्टेले गेटाफेलाई ३–२ र गियोनले रायो भाएकानोलाई २–० ले पन्छाएका हुन्।

रियललाई जित दिलाउन रोड्रिगोले ६९ औँ मिनेटमा गोल गरेका थिए। गत सात नेपाल आएर दुई मैत्रीपूर्ण खेल खेलेर फर्किएको कासिरेन्योविरुद्ध रियलले अग्रपंक्तिमा रोड्रिगोबाहेक एडेन हाजार्ड र मार्को एसेन्सियोलाई खेलाएको थियो।

मिडफिल्डमा एडुवार्डो कामाभिंगा र अउरेलिया टुचमनीसँग डानियल सेबायोसले खेलेका थिए। रक्षापंक्तिमा रियलले पहिलो रोजाइका रक्षक एडर मिलिटओ र लुकास भास्क्वेजलाई मैदान उतार्दा युवा गोलरक्षक आन्द्रे लुनिनलाई मौका दिएको थियो।

कुएटाको जितमा रोड्रि नायक बने। उनले ४४ औँ मिनेटमा गरेको पेनाल्टी गोल कुएटालाई अन्तिम १६ मा पुर्‍याउन पर्याप्त रह्यो।

बार्सिलोनाका पूर्वफरवार्ड मुनिर एल हादादी एक्लैले दुई गोल गरे पनि गेटाफेले हार टार्न सकेन। मुनिरले ३४ औँ मिनेटमा गोल गरेपछि गेटाफे खेलमा अपघ बढेको थियो। तर दोस्रो हाफको ५२ औँ मिनेटमा सर्जियो पोस्टिगोले गोल गरेपछि भने लेभान्टे खेलमा फर्कियो। चार मिनेटपछि मुनिरले दोस्रो गोल गर्दै गेटाफेलाई फेरि अग्रता दिलाए।

तर त्यसपछि लेभान्टेले लगातार दुई गोल गर्‍यो। एलेक्स मुनोजले ६२ औँ र वेस्लेले आतिरिक्त समयमा गोल गरेपछि लेभान्टेको जित पक्का भएको थियो।

गियोनलाई विजयी बनाउन सर्बियाका युवा स्ट्राइकर उरोस मिलोभानोभिचले दुई गोल गरे। यही सिजन गियोनसँग आबद्ध भएका उनले स्पेनमा पहिलो पटक गोल गरेका हुन्। ला लिगामा भने उनले गोलको खाता खोल्न सकेका छैनन्।

प्रकाशित: २० पुष २०७९ ११:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − six =