माओवादी महासचिव गुरुङ भन्छन् : गठबन्धनमा सहमति नभए अन्य दलसँग मिलेर सरकार बन्छ

माओवादी र एमालेका नेताबीच आइतबार साँझ छलफल

हिमाल प्रेस ३ पुष २०७९ २०:१०
180
SHARES
माओवादी महासचिव गुरुङ भन्छन् : गठबन्धनमा सहमति नभए अन्य दलसँग मिलेर सरकार बन्छ

काठमाडौँ- माओवादी केन्द्रका महासचिव देव गुरुङले सत्ता गठबन्धनभित्र सहमति नभए गठबन्धन बाहिरका दलबीच सरकार बन्ने बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि सात दिनको समय दिएर आह्वान गरेसँगै गुरुङले यस्तो बताएका हुन्। उनले हिमालप्रेससँग भने, ‘सत्ता गठबन्धन दलबीच केही सहमति होला सहमति नभए गठबन्धन बाहिरको पनि सरकार बन्छ।’

उनले सत्ता गठबन्धन दलबीच छलफल र सहमति हुन बाँकी रहेको पनि बताए। प्रचण्डलाई प्रधानमन्त्री दिएपछि सहमति हुने हो भन्ने प्रश्नमा उनले भने, ‘दलबीच छलफल भएकै छैन। छलफल भएर के सहमति हुन्छ। के निर्णय हुन्छ त्यसपछि थाहा हुन्छ।’ यता सरकार गठनको विषयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता छलफल जुटेका छन्। नेपाली कांग्रेसले प्रधानमन्त्री पद जसरी पनि आफैँ राख्ने अडान नछाडेपछि माओवादीले एमालेसँग सम्भावित समीकरणबारे छलफल गरेको हो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जस्तै माओवादीका अध्यक्षा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि जसरी हुन्छ पहिलो चरणमै प्रधानमन्त्री बन्ने अडानमा छन्। दलहरू पाँच वर्षे कार्यकालमा भाग लगाएर सरकारको नेतृत्व गर्ने विषयमा छलफल गरिरहेका छन्। यस्तो अवस्थामा उनले आफ्ना पार्टीका नेतालाई एमालेका दोस्रो तहका नेताहरूसँग छलफलमा खटाएका छन्। आइतबार साँझमात्रै माओवादीका महासचिव देव गुरुङ र उपमहासचिव जनार्दन शर्माले एमालेका महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलसँग छलफल गरेका छन्। उनीहरूबीच सम्भावित समीकरणबारे छलफल भएको बताइएको छ।

नेकपा एमालेले पहिलोचरणमा माओवादीलाई सरकारको नेतृत्व गर्न दिएर दोस्रोचरणमा आफूले सरकारको नेतृत्व गर्नेबारे पनि छलफल खुला राखेको छ। स्रोतका अनुसार एमालेले आफ्ना सांसदहरूलाई दुई/तीन दिनभित्रै काठमाडौँ आउन उर्दी लगाएको छ। ‘पार्टीका सबै सांसदलाई काठमाडौँ आउन भनिसकिएको छ,’ एमाले स्रोतले भन्यो, ‘सरकार गठनको लागि राष्ट्रपतिबाट आह्वान नै भइसक्यो। यस्तो अवस्थामा सरकार गठनबारे छलफल पनि बाक्लिएको छ।’

एमालेका शीर्ष नेताहरू अहिलेको निर्वाचनबाट प्रतिपक्षमा बस्ने म्यान्डेट प्राप्त भएको बताउँदै सरकार गठनको कसरतमा सक्रिय छन्।

बहुमत प्राप्त सरकार गठनका लागि १३८ सांसदको समर्थन आवश्यक पर्छ। आइतबारमात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि एक हप्ताको म्याद दिएर सूचना जारी गरेकी छन्। राष्ट्रपतिले आह्वान गरेसँगै दलका नेताबीच पनि छलफल बाक्लिएको छ। कांग्रेसभित्र त सरकारको नेतृत्वसँगै संसदीय दलको नेता को बन्ने भन्ने विषयमा पनि विवाद छ। सभापतिसमेत रहेका देउवासँगै महामन्त्री गगनकुमार थापा, नेता डा.शेखर कोइराला संसदीय दलको नेता बन्न कस्सिएका छन्। संसदीय दलको नेतामात्रै प्रधानमन्त्री बन्ने भएकोले कांग्रेसमा संसदीय दलको नेता बन्न हानथाप भएको हो।

निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको अन्तिम परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरिसकेको छ। राष्ट्रपतिसमक्ष निर्वाचन नतिजा पेस भएसँगै सरकार गठनको बाटोसमेत खुलेको छ। एक्लै सरकार बनाउन सक्ने हैसियतमा कुनै दलसँग पनि बहुमत छैन त्यसैले दुईभन्दा धेरै दलको समर्थनमा सरकार बन्नेछ। कांग्रेसले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी कुल ८९ सिट प्राप्त गरेको छ।

यस्तै नेकपा एमालेले ७८ सिट पाएको छ भने नेकपा माओवादी केन्द्रले ३२ जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा २० सिट पाएको छ। यता राष्ट्रिय प्रजातन्त्र पार्टीले १४, जनता समाजवादी पार्टीबाट १२, नेकपा एकीकृत समाजवादीबाट १०, जनमत पार्टीबाट ६, लोकतान्त्रिक समाजवादी पार्टीबाट ४ जना सांसद बनेका छन्। यस्तै नागरिक उन्मुक्ति पार्टीबाट ३, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाबाट एक/एक जनाले निर्वाचित भएका छन्। स्वतन्त्र ५ जना सांसद स्वतन्त्र रूपमा निर्वाचित भएका छन्।

प्रकाशित: ३ पुष २०७९ २०:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − twelve =