सन्तुलित मोरोक्कोलाई हराउन तीव्र गतिमा खेल्ने फ्रान्सको रणनीति

हिमाल प्रेस २८ मंसिर २०७९ १५:२५
70
SHARES
सन्तुलित मोरोक्कोलाई हराउन तीव्र गतिमा खेल्ने फ्रान्सको रणनीति

काठमाडौँ- यसपालिको विश्वकपमा मोरोक्कोले जम्मा एक गोल मात्र खाएको छ। त्यो पनि आत्मघाती गोल, समूह चरणमा। सेमिफाइनलमा पुगेको मोरोक्कोको रक्षात्मक क्षमतासँग फ्रान्स जानकार छ। तर फ्रान्सलाई के पनि थाहा छ भने, सेमिफाइनलको विपक्षी मोरोक्कोको सबल पक्ष रक्षापंक्ति मात्र होइन।

नकआउट चरणका दुई खेलमा स्पेन र पोर्चुगललाई पन्छाएको मोरोक्को अन्य केही पक्षमा पनि मजबुत छ। जस्तै, बल पोसेसनमा। बल पाउन साथ काउन्टर अट्याकमा गइहाल्ने मोरोक्कोको बानीलाई पनि सबल पक्ष नै मान्नुपर्छ।

यस्तोमा डिफेन्डिङ च्याम्पियन फ्रान्सका लागि मोरोक्को कठिन विपक्षी हुनेवाला छ। फ्रान्सका खेलाडी स्वंयमले यो कुरालाई स्वीकारेका छन्।

‘विपक्षीलाई कमजोर ठान्नु हुँदैन भन्ने हामीलाई थाहा छ। मोरोक्कोलाई कमजोर ठान्नु भनेको जालमा फस्नु हो। मोरोक्को कति बलियो टिम हो भन्ने कुरा त उसले स्पेन, पोर्चुगललाई हराएर देखाइसक्यो। यो टिम त्यत्तिकै विश्वकपको सेमिफाइनलमा आइपुगेको होइन,’ फ्रान्सका उपकप्तान राफाएल भारानले भनेका छन्।

सेमिफाइनलको पूर्वसन्ध्यामा पत्रकार सम्मेलनमा देखिएका रक्षक भारानले फ्रेन्च टिमका अगुवा खेलाडीहरु विशेष चनाखो हुनुपर्ने बताउँछन्। ‘मोरोक्कोको रक्षापंक्ति असाध्यै मजबुत छ। यसकारण यो खेल सजिलो हुनेवाला छैन। विशेषगरी हामी अगुवा खेलाडी चनाखो हुनु पर्नेछ। विश्वकपको सेमिफाइनल खेल हो, हामी अन्तिम क्षणसम्मै लड्न तयार छौँ,’ भारानले भनेका छन्।

म्यानचेस्टर युनाइटेडबाट इंग्लिस प्रिमियर लिग खेल्ने भारान मोरोक्का खेलाडीको उत्साहितबारे जानकार छन्। सेमिफाइनल खेल्ने पहिलो टिम बनेको मोरोक्को अझ टाढाको यात्रा गर्ने दाउमा रहेको भारानको अनुमान छ।

‘उनीहरु मोरोक्कोन फुटबलको नयाँ इतिहास लेख्ने क्रममा छन्। यो यात्रामा उनीहरु आत्मविश्वासी देखिन्छन्। शारीरिक रुपमा फिट छन्। काउन्टर अट्याकमा खतरनाक छन्। सेट पिसमा पनि मजबुत देखिन्छन्,’ मोरोक्कोको प्रशंसा गर्दै भारानले भने।

राइटब्याकको भूमिकामा देखा परिरहेका युल्स कौन्डेले मोरोक्कोसँग फ्रान्स डराउन आवश्यक नरहेको तर संयमित भने हुनुपर्ने बताए। ‘उनीहरु बलिया टिमलाई हराएर यहाँसम्म आइपुगेका हुन्। यसकारण उनीहरुसँग खेल्दा संयमित हुनैपर्छ। तर डराउन भने आवश्यक छैन,’ बार्सिलोनाबाट क्लब फुटबल खेल्ने कौन्डेको भनाइ थियो।

मोरोक्का खेलाडी संगठित भएर खेल्ने गरेकाले प्रदर्शनमा सन्तुलन देखिएको कौन्डेको बुझाइ छ। त्यो सन्तुलन भत्काउन फ्रान्सले तीव्र गतिमा खेल्नुपर्ने बताउँछन् कौन्डे। ‘मोरोक्कोसँग तीव्र गतिमा खेल्ने विंगर छन्। मिडफिल्डरहरु बल पोसेसन राख्न माहिर छन्। उनीहरुको सन्तुलन भत्काउन हामीले तीव्र गतिमा खेल्ने कोसिस गर्नुपर्छ,’ कौन्डेले भने।

प्रकाशित: २८ मंसिर २०७९ १५:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =