‘भाडाका सैनिक’ भनेर गिज्याइएका मोरोक्कोनको लक्ष्य, अर्को स्तब्धपूर्ण नतिजा निकाल्ने

हिमाल प्रेस २४ मंसिर २०७९ १५:३३
40
SHARES
‘भाडाका सैनिक’ भनेर गिज्याइएका मोरोक्कोनको लक्ष्य, अर्को स्तब्धपूर्ण नतिजा निकाल्ने

काठमाडौँ- ‘कसैले कसरी नेदरल्यान्ड्सको सट्टा मोरोक्कोबाट खेल्ने निर्णय गर्नसक्छ? यो त असाध्यै खराब निर्णय हो। यस्तो निर्णय लिनुअघि केही समय धैर्य देखाउनु पर्थ्याे,’ हाकिम जियचले मोरोक्कोबाट खेल्ने निर्णय गर्दा मार्को भान बास्टनले सन् २०१६ मा यसो भनेका थिए।

जियच नेदरल्यान्ड्समा जन्मिएका हुन्। यसकारण उनले नेदरल्यान्ड्सको टिमबाट खेल्न पाउँथे। तर आखिरमा उनले आफ्ना अभिभावकको देश रोजे। जसले तीन पटक बालोन डोर जितेका भान बास्टनलाई निराश तुल्यायो।

विदेशमा जन्मिएर पनि मोरोक्कोबाट खेल्ने एक्ला खेलाडी होइनन् जियच। जारी विश्वकपमा मोरोक्कोको २६ खेलाडीमध्ये १४ विदेशी भूमिमा जन्मिएका हुन्। अरु त अरु प्रशिक्षक वालिद रेग्रागुई आफैँ पनि फ्रान्समा जन्मिएका थिए।

युरोपमा जन्मिएका, हुर्किएका गैर युरोपियन खेलाडीले त्यहीका राष्ट्रिय टिमबाट खेल्ने प्रयास गर्ने गरेका छन्। तर जो सफल हुँदैनन्, ती आफ्ना अभिभावकका देशबाट खेल्ने गर्छन्। यो वर्षौदेखि चल्दै आएको चलन हो।

तर पछिल्लो समय यसले भान बास्टन जस्ता हस्तीलाई किन तर्साइरहेको छ? किनभने स्तरीय खेलाडीले पनि युरोपेली राष्ट्रिय टिमको सट्टा अभिभावकको देश छान्न थालेका छन्। औसत खेलाडीले यसो गरुन्जेल कसैलाई आपत्ति थिएन।

नेदरल्यान्ड्सको उमेर समूहका टिमबाट खेलेका जियचले सन् २०१५ मा मोरोक्कोबाट डेब्यु गरेका थिए। दुई वर्षपछि जियचबाहेक अरु चार खेलाडीले पनि मोरोक्को रोजे। ती चारै जना नेदरल्यान्ड्समा जन्मिएका खेलाडी हुन्। त्यसबेला हेर्भे रेनार्ड प्रशिक्षक रहेको मोरोक्को विश्वकप २०१८ खेल्दै थियो। जबकि नेदरल्यान्ड्स भने छनोट नै भएको थिएन।

यसरी मोरोक्कोबाट खेल्ने निर्णय गरेका जियचलगायतका खेलाडीलाई डच सञ्चारमाध्यमले गम्भीर आरोप लगाए। जुन थियो, ठूलो रकम लिएर मोरोक्कोबाट खेलेको। यसरी यी खेलाडीलाई जबरजस्ती खलनायक बनाइरहँदा डच सञ्चारमाध्यमले महत्त्वपूर्ण तथ्य भूलिरहेका थिए, विश्वभर छरिएका ५० लाख मोरोक्कोन आफ्नो देशलाई असाध्यै माया गर्छन्।

नेदरल्यान्ड्सको उमेर समूहका टिमबाट खेलेका जियचले सन् २०१५ मा मोरोक्कोबाट डेब्यु गरेका थिए। दुई वर्षपछि जियचबाहेक अरु चार खेलाडीले पनि मोरोक्को रोजे। ती चारै जना नेदरल्यान्ड्समा जन्मिएका खेलाडी हुन्। त्यसबेला हेर्भे रेनार्ड प्रशिक्षक रहेको मोरोक्को विश्वकप २०१८ खेल्दै थियो। जबकि नेदरल्यान्ड्स भने छनोट नै भएको थिएन।

उसो त मोरोक्कोभित्र पनि एक प्रकारको संशय उत्पन्न नभएको होइन, के विदेशी भूमिमा जन्मिएकाहरुले साँच्चै मेहनत गरेर मोरोक्कोको राष्ट्रिय टिमबाट खेल्लान् त? यस्तो संशय व्यक्त गरिनु स्वाभाविक थियो। किनभने युरोपियन लिग खेलिरहेका ती खेलाडी मोरोक्कोन टिमबाट बोलावट आउँदा खासै रुचि देखाउँदैन थिए।

जे होस्, जियच जस्ता नाम चलेका खेलाडीले मोरोक्को रोज्दा सकारात्मक वातावरण भने सिर्जना हुँदै गयो। युरोपका ठूला लिग खेल्ने खेलाडी जम्मा भएपछि मोरोक्को बलियो त हुने नै भयो। त्यसमाथि रेग्रागुईलाई प्रशिक्षक बनाउने निर्णय सुनमा सुगन्ध साबित भयो। स्थानीय मोरोक्कोन क्लब वाइदाद एफसीलाई दुई पटक अफ्रिकन च्याम्पियन्स लिग जिताएका रेग्रागुई कुनैबेला नाम चलेका खेलाडी थिए।

सन् २००१ देखि २००८ सम्म मोरोक्कोको राष्ट्रिय टिमबाट खेलेका रेग्रागुई त्यहाँको घरेलु फुटबलमा स्थापित भइसकेका प्रशिक्षक हुन्। एफयूएस राबाट जस्तो कमजोर टिमलाई लिग जिताएर सनसनी मच्चाएका उनले कतारी क्लब अल दुहाइललाई च्याम्पियन बनाए। त्यो पनि जाभी हर्नान्डेजको अल सादलाई पछि पारेर।

रेग्रागुईका लागि राष्ट्रिय टिमको जिम्मेवारीको सुरुवात सहज थिएन। किनभने समर्थकमाझ लोकप्रिय जियच केही समययता राष्ट्रिय टिमबाट बाहिर थिए। रेग्रागुईको पहिलो लक्ष्य पूर्वप्रशिक्षकसँग झगडा गरी टिम छाडेका जियचलाई फर्काउनु थियो। योबाहेक रेग्रागुईले सामना गरेको अर्को चुनौती थियो, टिममा घरेलु र विदेशी लिग खेल्ने खेलाडीबीच सन्तुलन कायम गर्नु।

रेग्रागुईले छानेको टिममा कयौँ यस्ता खेलाडी छन् जो देशको प्रसिद्ध मोहम्मद छैटौँ एकेडेमीका उत्पादन हुन्। राजा मोहम्मद छैटौँको नाममा सञ्चालन भइरहेको यो एकेडेमीले मोरोक्कोलाई एकसेकए खेलाडी दिएको छ। जसमा युसुफ एन नेस्रीदेखि नायेफ अर्गुडसम्म छन्।

मोरोक्कोले जारी विश्वपकमा जुन यात्रा तय गरेको छ, यसले मोरोक्कोन मात्र होइन समस्त अरब र मुस्लिम समुदाय अनि अफ्रिकालाई नै गौरवान्वित बनाएको छ। अब मोरोक्कोन समर्थक विदेशबाट आएका आफ्ना खेलाडीलाई पूर्णरुपमा अपनाउन थालेका छन्। आफ्नो टिमलाई समर्थन गर्न हजारौँ मोरोक्कोन कतार पुगेका छन्। उनीहरुसँग कतारमा बस्ने १५ हजार मोरोक्कोन पनि थपिएका छन्।

रेग्रागुईले छानेको टिममा कयौँ यस्ता खेलाडी छन् जो देशको प्रसिद्ध मोहम्मद छैटौँ एकेडेमीका उत्पादन हुन्। राजा मोहम्मद छैटौँको नाममा सञ्चालन भइरहेको यो एकेडेमीले मोरोक्कोलाई एकसेकए खेलाडी दिएको छ। जसमा युसुफ एन नेस्रीदेखि नायेफ अर्गुडसम्म छन्।

मोरोक्को फरक फरक भाषा बोल्ने, फरक फरक समुदायबाट आएका खेलाडीले निर्माण भएको टिम हो। १२ देशमा लिग खेल्ने खेल्ने खेलाडी छन्। सात देशमा जन्मिएका खेलाडी मोरोक्कोको झण्डामुनि एकिकृत भएका छन्। यी सबैको उद्देश्य एउटै छ, विश्वकपमा मोरोक्कोलाई सकेसम्म परको यात्रा गराउने।

प्रिक्वार्टरफाइनलमा स्पेनलाई स्तब्ध बनाएको मोरोक्कोले समूह चरणमा दुई जित दर्ता गर्‍यो। जसमा बेल्जियमविरुद्धको जित समावेश छ। क्रोएसियासँग बराबरी खेलेर विश्वकप सुरु गरेको मोरोक्कोले अन्तिम खेलमा क्यानडालाई पन्छाएको थियो। सुन्दा अचम्म लाग्न सक्छ, कतारी भूमिमा मोरोक्कोले बेल्जियम, क्यानडा र स्पेनलाई हराउन ती देशमा जन्मिएका खेलाडी प्रयोग गरेको थियो।

बेल्जियमलाई २–० ले पराजित गर्दा मोरोक्कोको पहिलो एघारमा सेलिम अमल्लाह थिए। जो बेल्जियममै जन्मिएका हुन्। त्यहीको लिग खेल्छन्। उनी जस्तै बेल्जियममा जन्मिएका इलियास चेयर, बिलाल एल खानुस र अनास जरौरी मोरोक्कोको बेन्चमा थिए।

क्यानडामाथिको जितमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका मोरोक्कोन गोलरक्षक यासिन बौनौउ पनि क्यानडियन सहर मोन्टरियलमा जन्मिएका हुन्। स्पेनविरुद्ध पेनाल्टीमा गोल गरेका फुलब्याक अचरफ हाकिमी म्याड्रिड जन्मिएका खेलाडी हुन्। विदेशमा जन्मिए पनि मातृभूमिका लागि खेलिरहेका यी खेलाडीको प्रदर्शन असाध्यै उम्दा रहँदै आएको छ।

उपाधि दाबेदार मानिएको बेल्जियम र स्पेनलाई पन्छाएर अघि बढेको यो मोेरोक्कोन टिमले विश्व फुटबललाई अचम्मित बनाएको छ। अफ्रिकाका कुनै पनि टिमले विश्वकप सेमिफाइनलमा स्थान बनाएको इतिहास छैन। तर यसपालि मोरोक्कोसामु यस्तो इतिहास रच्ने अवसर छ। र शनिबार राति मोरोक्कोले पोर्चुगललाई स्तब्ध बनाए, कोही छक्क पर्ने छैनन्।

द टेलिग्राफबाट

प्रकाशित: २४ मंसिर २०७९ १५:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 7 =