थियो हर्नान्डेज : दाजु घाइते भएपछि मौका पाए, चम्किए

हिमाल प्रेस २९ मंसिर २०७९ १३:२९
50
SHARES
थियो हर्नान्डेज : दाजु घाइते भएपछि मौका पाए, चम्किए

काठमाडौँ-विश्वकप सेमिफाइनलमा बुधबार राति फ्रान्सले मोरोक्कोलाई २–० ले हराउँदा थियो हर्नान्डेजले एक गोल गरे। लेफ्टब्याक थियो फ्रान्सको जर्सीमा पहिलो पटक विश्वकप खेल्दै छन्। उनले यसअघि कुनै पनि मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएका थिएनन्।

यसपालि विश्वकप खेल्ने फ्रेन्च टिममा स्थान बनाए पनि कतारमा थियोले खेल्न पाउने सम्भावना न्यून थियो। यसको मुख्य कारण थियो, दाजु लुकाससँग पोजिसन मिल्नु। डिडियर डेस्चाम्प्सका लागि लुकास पहिलो रोजाइको लेफ्टब्याक रहँदै आएका थिए। विश्वकप २०१८ र युरो २०२० लुकासले लेफ्टब्याक बनेर खेले।

लुकास खासगरी सेन्टरब्याक हुन्। ‘ब्याक फोर’ मा उनको पोजिसन ‘लेफ्ट सेन्टरब्याक’ हो। तर डेस्चाम्प्स उनलाई लेफ्टब्याकमा खेलाउने गर्छन्। बायर्न म्युनिखमा पनि लुकास यो पोजिसनमा खेल्ने गर्छन्। जबकि भाई थियोको चाहिँ लेफ्टब्याक नै मुख्य पोजिसन हो। तर दाजु पहिलो एघारमा पर्ने भएपछि थियोले खेल्ने सम्भावना हुँदैन थियो।

विश्वकप समूह चरणको पहिलो खेलमा लुकास घाइते भए। अस्ट्रेलियाविरुद्धको खेलमा उनले १३ औँ मिनेटमा मैदान छाड्नु पर्‍यो। त्यसपछि बल्ल थियोले मौका पाउन थालेका हुन्।

हाल एसी मिलानबाट युरोपियन क्लब फुटबल खेल्ने थियो पनि दाजु लुकास जस्तै सन् २००७ मा एट्लेटिको म्याड्रिड पुगेका थिए। दुई दाजुभाईले त्यहाँ युवा लिगका साथै ला लिगा खेले। लुकास सन् २०१९ सम्म एट्लेटिकोमै रहे। त्यसपछि उनलाई बायर्नले अनुबन्ध गर्‍यो।

थियोले भने दाजुभन्दा दुई वर्षअघि नै एट्लेटिकोबाट बिदा लिएका थिए। उनी एट्लेटिकोको सहरी प्रतिद्वन्द्वी रियल म्याड्रिडसँग आबद्ध भए। तर त्यहाँ उनको बसाइ सन्तोकजनक रहेन। बीचमा रियल सोसिडाड पठाइएका उनी सन् २०१९ मा भने इटाली पुगे। मिलानमा थियो मुख्य खेलाडीका रुपमा स्थापित छन्। गत सिजन मिलानलाई लिग च्याम्पियन बन्न सहयोग गरेका थियो क्लब कप्तान पनि हुन्।

एकेडेमीबाटै लेफ्टब्याक बनेर खेल्दै आएका थियो र किलियान एम्बाप्पेबीच लोभलाग्दो साझेदारी स्थापित भएको छ। आक्रामक फुलब्याक थियोले समूह चरणमा दुई असिस्ट पनि दर्ता गरेका थिए। तर अगाडि बढेर खेल्ने उनको बानीका कारण कतिपय अवस्थामा फ्रान्सले रक्षात्मक सन्तुलन कायम गर्न सकेको देखिँदैन। यो उनको मात्र होइन सबैजसो आक्रामक फुलब्याकको कमजोरी हो।

लामो समय स्पेनमा रहेकाले थियोसँग त्यहीको राष्ट्रिय टिमबाट खेल्ने विकल्प नभएको होइन। स्पेनका सञ्चारमाध्यमले थियो स्पेनबाट खेल्न चाहिरहेको खबर छापेका थिए। लामो समय फ्रेन्च प्रशिक्षक डेस्चाम्प्सको नजरमा नपरेपछि उनी निराश बन्‍नु स्वाभाविक थियाे।

तर डेस्चाम्प्सले सेप्टेम्बर, २०२१ मा फ्रेन्च टिमबाट डेब्यु गराएपछि भने थियोको स्पेनबाट खेल्ने सम्भावना अन्त्य भयो। पहिलो खेल मिडफिल्डमा खेलेका थियोले त्यसपछिका तीन खेलमा एक गोल र तीन असिस्ट दर्ता गरेका थिए।

ढिलोगरी राष्ट्रिय टिममा अवसर पाए पनि थियोको सुरुवात भने दमदार थियो। तर पछि उनलाई निरन्तर रुपमा टिममा बोलाइएन। टिमबाट भित्र र बाहिर भइरहेका थियोलाई डेस्चाम्प्सले कतार विश्वकपका लागि छान्छन् वा छान्दैनन् भन्ने संशय थियो। उनी आखिरमा छनिए। तर दाजुलाई सेन्ट्रल डिफेन्सबाट सारेर फुलब्याक बनाइएपछि भने उनी बेन्चमा थन्किने निश्चित भयो।

फुटबलमा खेलाडीले धैर्यसाथ आफ्नो मौका पर्खनु पर्छ। थियोले पर्खिए, मौका पनि पाए। तर खराब क्षणमा। दाजुले विश्वकप गुमाउने खबर भाई थियोका लागि पक्कै पनि सुखद थिएन। तर त्यही खराब क्षणमा टिमभित्र छिरेका थियो अब स्थापित भएका छन्।

तीव्र गतिमा खेल्ने थियो चलाख फुलब्याक हुन्। आफ्नो चलाखीपन उनले बुधबार राति पुनः एक पटक प्रमाणित गरे। किलियान एम्बाप्पेले प्रहार गरेको बल रिबाउन्डमा आउन साथ उनले त्यसलाई मोरोक्कोकै पोस्टमा फर्काइदिए। उनको प्रहारलाई मोरोक्कोका गोलरक्षक यासिन बोनोले रोक्न सकेनन्।

‘मलाई कसैले मार्क गरेको थिएन। त्यत्तिकैमा किलियानले प्रहार गरे। उनले प्रहार गरेको बल फर्कियो। मैले भेटे र गोल गरे,’ गोलकर्ता हर्नान्डेजले भने। फ्रान्सको दोस्रो गोल भने सब्स्टिच्युट रान्डाल कोलो मुआनीले ७९ औँ मिनेटमा गोल गरेका थिए।

‘यो खेल जित्न र गोल गर्न पाएकोमा गर्व छ। लगातार दोस्रो पटक विश्वकप फाइनल पुगेको यो टिमको हिस्सा बन्न पाउनु भाग्यको कुरा हो,’ थियोको भनाइ थियो। उनले खेल सकिनसाथ दाजु लुकासले टेलिफोन गरेर बधाई दिएको पनि सुनाए।

फ्रान्सले अब फाइनलमा अर्जेन्टिनाको सामना गर्दैछ। यो खेल थियोका लागि कठिन हुनेछ। किनभने लियोनल मेस्सी, जुलियान अल्भारेज, लाउटारो मार्टिनेज जस्ता खतरनाक फरवार्डसम्मिलित अर्जेन्टाइन अग्रपंक्तिलाई रोक्न थियोसहितका फेन्च रक्षापंक्ति सचेत हुनु पर्नेछ।

‘यो हाम्रा लागि असाध्यै ठूला खेल हो। जसरी भए पनि अर्जेन्टिनालाई हराउने हाम्रो लक्ष्य हुनेछ। हामीसँग केही दिनको समय बाँकी छ। यसबीचमा हामीलाई फाइनलका लागि तयार हुन पर्याप्त आराम गर्नुछ,’ थियोले भने, ‘अर्जेन्टिनासँग स्तरीय खेलाडी छन्। मेस्सीलाई मात्र रोकेर पुग्दैन। गोल गर्न माहिर थुप्रै खेलाडी त्यहाँ छन्।’

प्रकाशित: २९ मंसिर २०७९ १३:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =