विश्वकप २०२२ : थकित क्रोएसियालाई इतिहास निर्माता मोरोक्कोको चिन्ता

हिमाल प्रेस २ पुष २०७९ १६:२९
24
SHARES
विश्वकप २०२२ : थकित क्रोएसियालाई इतिहास निर्माता मोरोक्कोको चिन्ता

विश्वकप सेमिफाइनलमा हार भोगेपछि निराश र थकित बनेका क्रोएसिया र मोरोक्को शनिबार राति मैदान फर्कदैछन्। फाइनलको पूर्वसन्ध्यामा दोहास्थित खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुने यो खेल जित्नु खाली हात घर नफर्कनु हो। यसकारण कतारी भूमिमा फेरि एकपल्ट दुवै टिम अन्तिम क्षणसम्म लड्न तयार छन्।

क्रोएसिया रुस विश्वकपमा उपविजेता बनेको थियो। यसपालि भने उपाधि नजिक पुग्ने उसको अभिलाषामा अर्जेन्टिनाले पूर्णविराम लगाइदियो। उता मोरोक्कोले भने यो विश्वकपमा क्रोएसियाको भन्दा फरक अनुभव बटुलेको छ। सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टिम बनेको मोरोक्कोले नकआउट चरणका खेलमा स्पेन र पोर्चुगललाई हराएर सबैलाई छक्क पार्‍यो।

इतिहास कोरेर वाहवाही कमाएको यो मोरोक्कोन टिम क्रोएसियालाई हराएर तेस्रो बन्न नसके पनि उसलाई स्वागत गर्न राबाट अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने समर्थकको संख्यामा कमी हुने छैन। वालिद रेग्रागुईको टिमले मोरोक्कोमा मात्र होइन समस्त अफ्रिका र अरबी दुनियाँमा स्नेह कमाउन सफल भएको छ।

रुस विश्वकप अफ्रिकी टिमहरुका लागि बिर्सनलायकको रहेको थियो। किनभने मोरोक्कोसहित पाँच अफ्रिकी टिम समूह चरण कट्न सकेका थिएनन्। यसपल्ट भने दुई अफ्रिकी टिमले प्रिक्वार्टरफाइनलमा स्थान पक्का गरे। सेनेगल प्रिक्वार्टरफाइनलमा इंग्ल्यान्डसँग हार्दै घर फर्किए पनि माेरोक्कोले समग्र अफ्रिकी महादेसको शीर उँचो पारेको छ।

रोचक नै मान्नुपर्छ क्रोएसिया र मोरोक्को यो विश्वकपमा दोस्रो पटक भिड्न लागेका हुन्। यी दुई टिम समूह चरणमा एकै समूहमा थिए। समूह ‘एफ’ को त्यो खेलमा दुवै टिमबाट गोल हुन सकेको थिएन। यो समूहबाट बेल्जियम अनपेक्षित रुपमा बाहिरिँदा मोरोक्को शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगेको थियो। एक जित, एक बराबरी र एक हार दर्ता गरेको क्रोएसिया भने दोस्रो स्थानमा रह्यो।

सन् २०१८ मा पनि एकै समूहका दुई टिम आखिरमा तेस्रो स्थानका लागि आमनेसामने भएका थिए। त्यस खेलमा बेल्जियले इंग्ल्यान्डलाई २–० ले पराजित गरेको थियो।

मोरोक्काका प्रशिक्षक रेग्रागाुईले क्रोएसियासँगको खेलका लागि आफूहरु मानसिक रुपमा बलियो हुनुपर्ने बताएका छन्। ‘यो खेल कठिन हुनेछ। यद्यपि म यसअघिका खेलमा कम मौका पाएका खेलाडीलाई मौका दिनेछु। उद्देश्य भने यो खेल जितेर तेस्रो हुने नै हो। हामी मोरोक्कोको फुटबल स्तरीय छ भनेर प्रमाणित गर्न चाहन्छौँ,’ रेग्रागुईले भनेका छन्।

समूह चरणमा जम्मा एक खेल मात्र जितेको क्रोएसिया सेमिफाइनलमा पुग्ला भनेर सोचिएको थिएन। तर नकआउट चरणमा भने क्रोएसियाले सुधारिएको प्रदर्शन गर्‍यो। जर्मनी जत्तिको बलियो टिमलाई पन्छाएर अन्तिम १६ मा पुगेको जापानलाई क्रोएसियाले पेनाल्टीमा पाखा लगायो। क्वार्टरफाइनलमा ब्राजिललाई स्तब्ध पार्‍यो। यसपालि पनि ऊ पेनाल्टीमा भाग्यमानी साबित भयो। सेमिफाइनलमा भने अर्जेन्टिनाअघि क्रोएसियाको केही सीप चलेन।

‘विश्वकपअघि कसैले हामीलाई सोधेको भए हामी भन्ने थियौँ सेमिफाइनल पुग्नु ठूलो सफलता हुनेछ। तर खेल्दै जाँदा हामीले अझ ठूलो सपना देख्यौँ। तर आखिरमा हामी सेमिफाइनलमा अड्कियौँ। अब कम्तीमा तेस्रो स्थान प्राप्त गर्ने हाम्रो लक्ष्य हो,’ क्रोएसियाका मिडफिल्डर लोभ्रो माएरले भनेका छन्।

ज्लाट्को डालिच प्रशिक्षित टिमका कतिपय खेलाडीका लागि यो अन्तिम विश्वकप खेल हुनेछ। कप्तान लुका मोड्रिच, इभान पेरिसिक, आन्द्रे क्रामारिक, डेजान लोभ्रेन जस्ता खेलाडी राष्ट्रिय टिमबाट बिदा लिने तरखरमा छन्। डालिचले यी पाका खेलाडीसहित पूरै टिमलाई साहसिक खेल देखाउन आह्वान गरेका छन्।

‘यहाँ जे जति सकेका छौँ त्यसमा हामीलाई केही गुनासो छैन। सेमिफाइनल पुग्नु चानचुने सफलता होइन। तर घर फर्कनुअघि हामी यो खेलमा जसरी हुन्छ जित हासिल गर्न चाहन्छौँ,’ डालिचले भने।

डालिचले मोरोक्कोलाई चार वर्षअघिको क्रोएसियाली टिमसँग दाँजेका छन्। ‘हामीले चार वर्षअघि जे गर्‍यौँ मोरोक्कोले अहिले त्यही गरेको छ। मोरोक्को यहाँसम्म आइपुग्छ भनेर कसैले अनुमान गरेको थिएन। यो टिम सेमिफाइनलको हकदार थियो। मोरोक्कोन खेलाडी आत्मविश्वासी र निडर बनेका छन्। यसकाराण उनीहरुलाई सामना गर्नु समूह चरणमा भन्दा अहिले कठिन छ,’ डालिचले विपक्षी टिमबारे भने।

मोरोक्कोको सामना गर्दा डालिचले आफूले चाहे जस्तो टिम भने उतार्न पाउने छैनन्। किनभने जोस्को गार्डिओल, मार्सेलो ब्रोजोभिच र जोसिप युरानोभिच जस्ता खेलाडी पूर्णरुपमा फिट छैनन्। ‘एक महिनाभित्र सातौँ खेल खेल्न गइरहेका छौँ। खेलाडी थाकेका छन्। केही खेलाडीको फिटनेसमा समस्या छ। यसकारण यो खेल सजिलो हुने छैन,’ डालिचले चिन्ता व्यक्त गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 20 =