‘पर-पर छु’ ले देखाउन खोजेको महिनावारी विभेद

हिमाल प्रेस २३ मंसिर २०७९ १२:३५
92
SHARES
‘पर-पर छु’ ले देखाउन खोजेको महिनावारी विभेद भिडियोको एक दृश्यमा कलाकार सेबिता अधिकारी।

काठमाडौँ- प्रकाश सपूतलाई गाडी चालकले सोध्छन्: यसपालि कार्यक्रम त आफ्नै गाउँमा पार्नुभएछ नि है सर?

प्रकाश भन्छन्: हजुर दाइ त्यस्तै मेसो मिल्यो यसपालि।

आश्चर्य मान्दै चालकले फेरि भन्छन्: लिडर त फेरि म्यामलाई बनाउनुभएछ त।

त्यसपछि केकी अधिकारी भन्छिन्ः लिडर उहाँले बनाउने होइन नि त दाइ अफिसले बनाउने हो। फेरि हामीलाई केटी मान्छेहरू लिडर नै बन्न सक्दैनन् जस्तो लाग्छ है दाइ ?

त्यसपछि अप्ठ्यारो मान्दै चालक भन्छन्: ए होइन होइन म्याम त्यस्तो त सधैँ सरलाई देखिरहेको त्यही भएर।

यो संवाद हो, बिहीबार सार्वजनिक भएको म्युजिक भिडियो ‘पर-पर छु’ को। भिडियोको सुरुआत नै समाजमा महिलालाई हेर्ने दृष्टिकोण अझै परिवर्तन भएको छैन भन्ने देखाउन खोजिएको छ।

गीतको खास कथा त तब सुरु हुन्छ जब प्रकाश केकीलाई लिएर आफ्नो घर पुग्छन्। त्यहाँ उनले आफ्नी बहिनीबारे सोध्दा पर सरेकी छ (महिनावारी) भन्ने जबाफ आमाले दिन्छिन् र छुट्टै कोठा (छाउगोठ)मा रहेको बताउँछिन्।

‘पर-पर छु’ मा महिनावारीका बेला एउटा किशोरीले भोग्नुपर्ने पीडा देखाउन खोजिएको छ। गीतमा आफ्नै घरमा हुँदा पनि पराई जस्तो व्यवहारले मन दुख्ने गरेको भन्ने किशोरीको वेदना समेटिएको छ।

किशोरीको भूमिकामा रहेकी सेबिता अधिकारीको अभिनय प्रशंसायोग्य छ। उनले भिडियोमा आफ्नो भूमिकालाई न्याय गरेकी छन्।

यसअघि ‘सम्झनाकी खोली’ भन्ने गीतमा गरेको अभिनयबाट चर्चामा रहेकी अधिकारीले यसमा पनि आफ्नो मेहनतलाई प्रष्ट्याउन सफल भएकी छन्।

अभिनयसँगै गीतका शब्दहरू पनि निकै मार्मिक छन् र सान्दर्भिक पनि लाग्छन्। जस्तैः

सास नफेर्नुस् आज मैले हावा छोएकी छु,
आफ्नै घरमा छु तर पर–पर छु
०००
प्रकृतिको नियम होला तन दुखेको थियो,
समाजको नियमले झन मन दुखेको थियो
प्रकृति र समाजको नियम मानिरहे केटाकेटी जस्तै थिए केटी मात्रै भए‘

०००

गीतका लेखक प्रकाश सपूतले यसलाई एउटा सचेतनामूलक प्रयास भनेका छन् । उनले एउटा किशोरीले महिनावारी हुँदा भोग्नुपर्ने पीडा र अभिव्यक्त गर्न नसकेका कुराहरूलाई उनले शब्दमा उतारेका छन्। त्यही शब्दलाई तुलसी बोहोराले स्वर दिएकी छन्। म्युजिक एरेन्ज सुदीप सागरले गरेका हुन्। भिडियोको कथा र निर्देशन प्रकाश सपूत आफैंले गरेका हुन्।

यो गीत राष्ट्रिय महिनावारी सञ्जालको सहकार्यमा केकी अधिकारी फिल्मस् र आरन प्रोडक्सनको प्रस्तुतिमा बनेको हो। यसलाई भाग १ का रूपमा राखिएको छ। भिडियोमा देखाइएअनुसार यसको भाग २ पनि आउने छ।

प्रकाशित: २३ मंसिर २०७९ १२:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 19 =