किम्फको २० औँ संस्करण आजदेखि सुरु

हिमाल प्रेस २२ मंसिर २०७९ ११:२८
4
SHARES
किम्फको २० औँ संस्करण आजदेखि सुरु

काठमाडौँ- काठमाडौँ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को २० संस्करण आजदेखि सुरु भएको छ। मंसिर २२ (डिसेम्बर ८) देखि सुरु भएको किम्फ मंसिर २६ (डिसेम्बर १२)सम्म चल्नेछ।

महोत्सव काठमाडौँ, प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा हुनेछ। महोत्सवमा यसपटक ३० देशका ६० भन्दा बढी फिल्म देखाइनेछन्। वेब डकुमेन्ट्री सिरिज ‘हेर्ने कथा’ अन्तर्गतको ‘बाघको बंगारा’ प्रदर्शनसँगै महोत्सवको सुरुवात हुनेछ। किम्फमा ‘राजनीति’, ‘गंगाजल’, ‘मृत्युदण्ड’जस्ता बलिउड फिल्मका निर्देशक प्रकाश झा प्रमुख वक्ताका रूपमा रहनेछन्।

फिल्म निर्देशनसँगै निर्माता, पटककथा लेखक तथा अभिनेताको पहिचान बनाएका झा अभिनीत फिल्म ‘मट्टो की साइकल’ को किम्फमा विशेष प्रदर्शन हुनेछ। एम गनीको निर्देशनमा बनेको फिल्म गत सेप्टेम्बरमा रिलिज भएको थियो।

महोत्सवमा डकुमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसनलगायत फिल्म देखाइनेछन्। सन् २००० देखि सुरु भएको किम्फको १८ औँ र १९ औँ संस्करण कोभिड–१९ महामारीका कारण भर्चुअल भएको थियो।

यसपालि भने दर्शकले महोत्सवमा भौतिक रूपमा सहभागी हुन पाउनेछन्। महोत्सवमा फिल्मसम्बन्धी गोष्ठी तथा छलफल कार्यक्रम हुनेछन्। किम्फ २०२२ को निर्णायक मण्डलमा जर्मन लेखक, निर्देशक, निर्माता माइकल पज, दिग्गज नेपाली एनिमेसन फिल्म निर्देशक, निर्माता किरणभक्त जोशी र कोरियाको उल्जु माउन्टेन फिल्म फेस्टिभलका कार्यक्रम निर्देशक जिन्ना ली रहेका छन्।
किम्फमा विशेषगरी पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्म प्रदर्शन गरिनेछन्।

प्रकाशित: २२ मंसिर २०७९ ११:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =