साढे ११ किलो सुन तस्करीमा फरार व्यक्ति ९८ लाखसहित पक्राउ

हिमाल प्रेस २८ वैशाख २०८१ १३:५८
16
SHARES
साढे ११ किलो सुन तस्करीमा फरार व्यक्ति ९८ लाखसहित पक्राउ

काठमाडौँ- काठमाडौंको मालिगाउँबाट ९८ लाख रुपैयाँसहित पक्राउ परेका व्यक्ति साढे ११ किलो सुन तस्करी र संगठित अपराधमा फरार व्यक्ति रहेको खुलेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रूपन्देही सियारी गाउँपालिका–७ का समिर सुनार र मिलन विकलाई पक्राउ गरेको हो। उनीहरूले प्रयोग गर्दै आएको बा १३ च ४८५८ नम्बरको गाडीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले पक्राउ परेकामध्ये मिलन २०८० असोज १० गते दोलखामा बरामद भएको साढे ११ किलो सुन प्रकरणमा मुछिएका अभियुक्त रहेको बताए। उनले भने, ‘जतिबेला दोलखामा सुन बरामद भएको थियो, उतिबेलै मिलन फरार सूचीमा थिए, प्रहरीले त्यतिबेला संगठित अपराध तथा सजाय ऐनमा समेत मुद्दा दर्ता गरेको थियो।’

अनुसन्धान कार्यालयका अनुसार मिलनविरुद्ध सम्पत्ति शुद्धिकरणमा समेत मुद्दा चलेर अनुसन्धान भइरहेको छ। प्रहरीले मिलनबाट डायरी र मोबाइल बरामद गरेको छ। मिलनले डायरीमा कोड भाषामा रकम लेनदेनको विषय उल्लेख गरेकाले थप अनुसन्धान हुने जानकारी एसएसपी भट्टराइले दिए।

पक्राउ परेका मिलन समिरले विगत दुई वर्षदेखि यो धन्दा चलाउँदै आएको प्रहरीले जनाएको छ। ‘बरामद रकम सुनमै लगानी गर्नको लागि स्टोर गरेर राखेको पाइयो,’ भट्टराईले भने, ‘विगतमा पनि सुनको कारोबार गरेका मिलन र समिरले नेपालमा हुण्डीमार्फत् रकमको व्यवस्था गर्ने र चीनबाट आएको सुन भारतीय व्यापारीलाई पठाउने गरेको देखिन्छ।’ अनुसन्धान कार्यालयले मिलनसँग सम्पर्कमा रहेका अन्य व्यक्तिमाथि पनि छानबिन हुने बताए।

प्रकाशित: २८ वैशाख २०८१ १३:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − six =