बलिउडका निर्देशक ‘किम्फ’का प्रमुख वक्ता

हिमाल प्रेस २० मंसिर २०७९ १२:३७
8
SHARES
बलिउडका निर्देशक ‘किम्फ’का प्रमुख वक्ता

काठमाडौँ- ‘काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) सुरु हुन दुई दिनमात्र बाँकी छन्। मंसिर २० (डिसेम्बर ८) देखि सुरु हुने किम्फमा ‘राजनीति’, ‘गंगाजल’, ‘मृत्युदण्ड’जस्ता बलिउड फिल्मका निर्देशक प्रकाश झा  प्रमुख वक्ताका रूपमा रहनेछन्।

फिल्म निर्देशनसँगै निर्माता, पटककथा लेखक तथा अभिनेताको पहिचान बनाएका झा अभिनीत फिल्म ‘मट्टो की साइकल’ को किम्फमा विशेष प्रदर्शन हुनेछ। एम गनीको निर्देशनमा बनेको फिल्म गत सेप्टेम्बरमा रिलिज भएको थियो।

किम्फको २० औँ संस्करण मंसिर २६ (डिसेम्बर १२) सम्म  काठमाडौँ, प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा हुनेछ।

पाँचदिने महोत्सवमा यसपटक ३० देशका ६० भन्दा बढी फिल्म देखाइनेछन्। महोत्सवमा डकुमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसनलगायत फिल्म देखाइनेछन्।

सन् २००० देखि सुरु भएको किम्फको १८औँ र १९औँ संस्करण कोभिड(१९ महामारीका कारण भर्चुअल भएको थियो। यसपालि भने दर्शकले महोत्सवमा भौतिक रूपमा सहभागी हुन पाउनेछन्।

‘दिगो शिखर सम्मेलन’ नारा रहेको किम्फ २०२२ को उद्घाटन समारोहमा वेब डकुमेन्ट्री सिरिज ‘हेर्ने कथा’ अन्तर्गतको ‘बाघको बंगारा’ प्रदर्शन गरिनेछन्। त्यस्तै महोत्सवको समापन ‘फ्लाई फ्रम एभरेस्ट’ फिल्मबाट हुनेछ।

महोत्सवमा फिल्मसम्बन्धी गोष्ठी तथा छलफल कार्यक्रम हुनेछन्। किम्फ २०२२ को निर्णायक मण्डलमा जर्मन लेखक, निर्देशक(निर्माता माइकल पज, दिग्गज नेपाली एनिमेसन फिल्म निर्देशक-निर्माता किरणभक्त जोशी र कोरियाको उल्जु माउन्टेन फिल्म फेस्टिभलका कार्यक्रम निर्देशक जिन्ना ली रहेका छन्।

किम्फमा विशेषगरी पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्म प्रदर्शन गरिनेछन्।

किम्फमा पहिलो, दोस्रो र तेस्रो हुने फिल्मले क्रमशः दुई लाख, एक लाख र ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

नेपाली पनोरामाअन्तर्गत फिक्सन र डकुमेन्ट्री विधामा उत्कृष्ट हुने फिल्मले एक लाख र ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ।

इसिमोड सदस्य मुलुकबाट छानिएको उत्कृष्ट फिल्मले ‘बेस्ट इसिमोड माउन्टेन फिल्म अवार्ड’ सहित एक हजार अमेरिकी डलर पाउनेछ। ‘किम्फ अडियन्स अवार्ड’ पाउने फिल्मले ५० हजार रुपैयाँ पाउनेछ।

प्रकाशित: २० मंसिर २०७९ १२:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eleven =